मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ,३०, साउन ।

 नेपाल—चीन उत्तरी कोरलानाकादेखि लोमान्थाङ हुँदै शंकास्पद रुपमा अवैंध मालवस्तु ओसार÷पोसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले शनिबार आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोमसहित जोमसोम-कोरला सडकको विभिन्न स्थानबाट कोरलानाकाबाट संकास्पद रुपमा मालवस्तु ओसार÷पोसार गरेको भन्ने गोप्य सूचनाका आधारमा उक्त कन्टेनरहरु नियन्त्रणमा लिएको जनाएको हो ।

कोरलानाकादेखि शंकास्पद तवरले अवैंध मालवस्तु ओसार- पोसार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरुलाई अलग/अलग स्थानमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । कोरलादेखि मालवस्तु लोड गरी भन्सार कार्यालयतर्फ झर्दै गरेका मालबाहक कन्टेनरहरुको कागजपत्र तथा सोधपुछ गर्ने क्रममा उक्त कन्टेनरहरुहरु भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाई ल्याईएको प्रहरीको विवरणमा उल्लेख गरिएको छ ।

 प्रहरी निरीक्षक बस्यालका अनुसार मनसुनका कारण विपद जोखिम न्यूनिकरणको लागि कोरला सडकमा रातिको समयमा सवारी साधन चलाउन निषेध गरिएको अवस्थामा नियम विपरित शंकास्पद तवरले नियम विपरित हुने गरी लुकाई छिपाई चलाउँदै आउँदै गरेको पाईएकोले उक्त कन्टेनरहरु नियन्त्रणमा लिनु परेको जनाईएको छ ।

 कोरलानाकादेखि भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर मालवस्तु लिएर जोमसोम तर्फ आउँदै गरेको बा.प्र. ०१—००५ ख २२४५, बा.प्र. ०१—००६ ख ६२७३, ना ३ ख ७१६०, ना ६ ख ४७४१, को १ ख ५६९६, बा.प्र. ०१—००६ ख २२४८,ना ६ ख २०२२ र बा.प्र. ०१—००६ ख ६६११ नम्बरको मालबाहक कन्टेनर जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको जनाएको छ ।

 प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार नियन्त्रणमा लिएका मालवस्तु बाहक कन्टेनरहरु अवैंध मालवस्तुहरु हुनसक्ने बलियो शंका देखिएकाले उक्त कन्टेनरहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीकाको लागि मुस्ताङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा टोलीले राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईसकेको जनाईएको छ ।

 नेपाल—चीन उत्तरी कोरलानाका गतवर्षको भदौं ३१ गते पूर्ण रुपमा संञ्चालनमा आएयता पटकपटक अवैंध रुपमा ओसार-पोसार गर्ने मालबाहक कन्टेनरहरुलाई नियन्त्रणमा लिएर कारवाही चलाई सकिएको छ । सीमानाका कोरलानाकाबाट पटक पटक हुने अवैध सामान बरामदले राजश्व छली गर्ने गिरोहहरु सक्रिय हुन थालेको आकंलन गरिएको छ ।

 आव २०८२/०८३ को पुस ९ गते कोरलानाकाबाट भित्रिएका दुई करोड २४ लाख मुल्य बराबरको अवैंध विद्युतीय चुरोट भेप बरामद गरिएको थियो । यस्तै, आ.व २०८२/०८३ को जेठ २ गते पनि कोरलानाकाबाट संकास्पद रुपमा लुकाईछिपाई भन्सार छलि गरी ल्याएका २० हजार थान बिद्युतीय चुरोट भेप सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया