जोमसोम—ठिनी कालोपत्रमा ठेकेदारको बदमासी, कालोपत्र कमसल भएको भन्दै वडा कार्यालय फायर


जोमसोम—   मुस्ताङको घरपझोङ गाउँपालिकाका ५ वटै वडा जोड्ने रिङरोड सडक कालोपत्रमा ठेकेदारले बदमासी गरेका छन् । घरपझोङ रिङरोड सडक अन्तर्गत जोमसोम—ठिनी सडकको ३ किमी दुरीमा भएको कालोपत्र निर्माणकार्यमा सम्वन्धित ठेकेदारले बदमासी गरेको गुनासो बढेपछि घरपझोङ—५ को वडाकार्यालयले पूर्वाधार विकास कार्यालयलाई स्पष्टिकरण माग गरेको छ ।

गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले जोमसोम, ठिनी,ढुम्बाताल, सम्ले,छैरो र चिमाङ लगायत आधा दर्जन गाउँहरु जोड्ने ‘एक निर्वाचन क्षेत्र,एक सडक’ योजना अन्तर्गत घरपझोङ रिङरोड सडक २०७६ साल कार्तिक २१ गते वन्दना भगवती जेभीसंग २१ करोड ४३ लाख लागतमा ठेक्का सम्झौता भएको थियो । रिङरोड सडक अन्तर्गत  १० किमी सडक मध्ये नयाँ ट्याक खोल्ने र जोमसोमदेखि ढुम्बासम्म ५ दशमलव ५ किमी दुरीमा कालोपत्र गर्ने योजना परेको थियो । सडकको नाली निर्माणसहित ८ मिटर चौडा सडकमा जोमसोम—ठिनी —ढुम्बासम्म ५ किमी दुरीमा प्रिमिक्स कालोपत्र गरिने योजना थियो ।

 सम्झौता अवधि २०७७ साल माघ महिनासम्म तोकिएको घरपझोङ रिङरोड सडकको ५ पटक भन्दा बेसी म्याद थप भईसकेको छ । जीर्ण आयोजनाको सूचिमा परेको घरपझोङ रिङरोड सडकमा निर्माणमा निर्माण कम्पनीले चरमढिलासुस्ती देखाएका कारण हालसम्म पनि रिङरोड सडक सम्पन्न विलम्व भईरहेको छ । निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालयको पटक÷पटकको ताकेतापछि जसोतसो घरपझोङ रिङरोड सडक अन्तर्गत जोमसोम—ठिनी सडकको ३ किमी दुरीमा गत मंसिर महिनामा कालोपत्र गरिएको थियो । अहिले जोमसोम—ठिनी जाने सडकको कालोपत्रे कमसल र उप्किएको भन्दै त्यस क्षेत्रका स्थानीयले असन्तुष्टि जनाईरहेका छन् । स्थानीयले अख्तियारी प्राप्त निकायले प्राविधिक अनुमगन नगरेकाले कालोपत्र सडक कमसल भएको भन्दै स्थानीय सरोकारवालाहरुले चर्को आलोचना गरेका छन् ।

 घरपझोङ रिङरोड सडक अन्तर्गत गत मंसिरमा ३ किमी दुरी कालोपत्र गरेर चिसो बढेको भन्दै निर्माण कम्पनीले सडक स्तरोन्नतिकार्य स्थगित गरेको थियो । निर्माण कम्पनीले काम स्थगित गरेको ३ महिना बितिसक्दा समेत अहिले पनि रिङरोड सडक निर्माणको काम सूचारु हुन सकेको छैन । 

रिङरोड सडक अन्तर्गत जोमसोम—ठिनी सडकमा गरिएको कालोपत्रे सम्वन्धिमा जनगुनासो बढेसंगै घरपझोङ—५ ठिनीको वडा कार्यालयले गत २१ मंसिरमा पूर्वाधार विकास कार्यालय मुस्ताङसंग स्पष्टिकरण माग गरेको थियो । त्यहाँका वडाध्यक्ष प्रदिप थकालीद्वारा हस्ताक्षरित स्पष्टिकरण पत्रमा जोमसोम—ठिनी सडकको कालोपत्र गुणस्तरहिन र अत्यन्तै कमजोर भएको उल्लेख गरिएको छ । पत्रमा यस कालोपत्र सडकको गुणस्तरलाई लिएर स्थानीयबासीहरु ब्यापक असन्तुुष्टि रहेकाले सो सडकको कालोपत्र गुणस्तरका सम्वन्धमा यतार्थ जानकारी गराउन र सडकलाई कसरी गुणस्तर कायम गर्न सकिन्छ ? भन्ने सम्वन्धमा स्पष्ट जवाफ पेश गर्न समेत वडा कार्यायले ध्यानार्कषण गराएको पत्रमा उल्लेख गरिएको छ ।

यता,पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी ईन्जिनीयर घनश्याम रोक्कामगरले जोमसोम—ठिनी कालोपत्र सडकमा समस्या भएको देखिएमा पूनः समाधान गर्न सकिने बताउँनुभयो । ईन्जिनीयर रोक्कामगरले वडा कार्यालयको पत्र प्राप्त भएको र त्यसको जवाफ लेखेर पठाईएको जानकारी दिनुभयो । उक्त सडक २ सेमी मोटाईको प्रिमिक्स कालोपत्र भएको र त्यसमा कुनै त्रुटी भएको प्राविधिक अध्ययनमा देखिएमा करेक्सन गर्न सकिने बताउँनुभयो ।‘ ठेक्का सम्झौता र शर्तहरु निर्माण कम्पनीले कार्यान्वयन गरेको छछैन हामीले हेर्ने हो, शर्त पालना नभएको देखिएमा पून त्यहाँ कालोपत्र गराउन लगाईने छ ।’

 सूचना अधिकारी ईन्जिनीयर रोक्कामगरले रिङरोड सडकमा ठेकेदारले अनुकुल समयमा कालोपत्र नगरेको उल्लेख गरे । ‘सायद तापक्रम नपुगेकाले पनि समस्या आएको हुनसक्छ, अनुकुल समयमा काम गरिनु पथ्र्यो ,’उहाँले थप्नुभयो,‘ काम गर्छु भनेर आएपछि नगर भन्न मिलेन, यसैले ठिनी गाउँसम्म कालोपत्र गर्न दियौं ।’

 मुस्ताङको घरपझोङ रिङरोड सडकको  ६ वर्षमा भौतिक प्रगती ७६ प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रिङरोड सडकमा अझै सडक संरचना, नाली निर्माण, सडक फिनिसिङ लगायतका कार्यहरु बाँकी रहेको छ । घरपझोङ रिङरोड बनेपछि मुख्य सडकबाट ओझेलमा परेका ठिनी,ढुम्बा,सम्ले,छैरो र चिमाङ लगायत आधा दर्जन गाउँका कृषि उपजको बजारिकणमा निकैनै सहज पुग्ने देखिन्छ ।


प्रतिक्रिया