एजेन्ट आएपछि मुस्ताङ भन्सार एक्टिभ हुन्छः भन्सार

जोमसोम ।

गत भदौं ३१ गतेदेखि पूर्ण रुपमा संञ्चालनमा आएको (नेपाल—चीन¬) उत्तरी कोरलानाका स्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालय दसैं पर्वका सकिए लगत्तै बिहिबारदेखि संञ्चालनमा आएको छ । गत असोज १३ गते यहाँको भन्सार कार्यालयमा कार्यरत कर्मचारी दसैं पर्व मनाउँन घरतर्फ प्रस्थान गरेपछि  भन्सारको कार्यसम्पादन स्थगित भएको हुन पुगेको थियो ।

तर, दसैं पर्वसंगै बन्द रहेको भन्सार कार्यालयमा  निकासी तथा पैठारीकर्ता मालवस्तु धनीका अख्तियार प्राप्त प्रतिनिधि(एजेन्ट) कार्यस्थलमा उपस्थित हुन ढिलाई हुँदा मुस्ताङ भन्सार कार्यालयले गर्ने मालवस्तु जाँचपास लगायतका कामहरु सुरु नभएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।

 निकासी तथा पैठारीको लागि भन्सारमा ल्याईएको मालवस्तु छुटाउन र भन्सार कार्यालयसंग सम्वन्धित कार्य गर्न  विभाग वा कार्यालयबाट ईजाजतपत्र प्राप्त व्यक्ति खटाईनु पर्ने भन्सार अधिकृत खड्काको भनाई छ । भन्सारमा ल्याईएका मालवस्तु छुटाउनका लागि निकासी तथा पैठारीकर्ताल तोकेको ईजाजत पत्र भएको अख्तियार प्राप्त एजेन्ट वा प्रतिनिधि चाहिने भएकाले भन्सार जाँचपाँसको काम अघि बढ्न नसकेको उहाँको भनाई छ ।‘एजेन्ट नभईकन घोषणा र जाँचपासको काम हुँदैन,पठारी र निकासीकर्ता कञ्चनपूर र सिन्धुपाल्चोकतिर हुनुहुन्छ,’ भन्सार प्रमुख खड्काले भन्नुभयो,‘ उहाँहरुले घोषणा गरी खटाएका एजेन्ट र प्रतिनिधिहरु बाटोतिर आउँदैहुनुहुन्छ, अब दुई÷तीन भित्र एजेन्टहरु यहाँ आईसकेपछि मालवस्तुको घोषणा तथा जाँचपासको काम सुरु गर्नेछौं ।’

यता, यहाँको मुस्ताङ भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरु पनि दसैं पर्व मानेर धमाधम कार्यस्थलतर्फ जाँदै गरेको भन्सार प्रमुख खड्काको भनाई छ । यहाँको भन्सारका लागि अर्का भन्सार अधिकृत डिल्लिराम  सुवेदी पनि कार्यस्थलतर्फ जाँदै गरेको भन्सार प्रमुख खड्काले बताउँनुभयो । तत्काल कार्यालय सहयोगीले भन्सार खोलेर बसेको उहाँको भनाई छ । यता,दसै पर्वमा सार्वजनिक बिदा हुँदा चिनबाट आयात गरिएका मालवस्तु तथा विद्युतीय कारहरु कोरलानाका हुँदै न्हेचुङ भन्सारमा जाँचपासका लागि रोकिएका छन् । नाकाबाट मालवस्तु आयात गरी ढुवानीका मालबाहक र विद्युतीय कारहरु जम्मा भएको सूचना प्राप्त भएको भन्सार प्रमुख खड्काले उल्लेख गर्नुभयो । उहाँले भन्सार कार्यालयका कर्मचारीको उपस्थितीसंगै सम्वन्धित निकासी तथा पैठारीकर्ताले तोकेको अख्तियार प्राप्त व्यक्ति उपस्थित नभएसम्म भन्सार काम अघि बढाउन नमिल्ने जनाउँनुभयो ।

भदौं ३१ देखि पूर्ण रुपमा संञ्चालनमा आएको कोरलानाकाबाट दसैं पर्व अघिसम्म दुई अर्ब २ करोड ९६ लाख रुपैया राजश्व संकलन भएको थियो । त्यस अवधिसम्म कोरलानाकाबाट भित्रिएका एक हजार १०९ वटा विद्युतीय कार मध्ये ९६५ वटा विद्युतीय कारको भन्सार जाँचपास भई गन्तब्यतर्फ पुगिसकेको छ ।   यसैगरी कोरलानाकाबाट आयात गरिएका चिनिया मालवस्तु ढुवानी गरिएका ३७५ वटा मालबाहकको भन्सार जाँचपास भएको छ ।

यसअघि यहाँको मुस्ताङ भन्सार कार्यालय उपल्लो मुस्ताङका नागरिकहरुका लागि मात्रै खुल्ला हुँदा झिनो राजश्व संकलन हुने गरेको थियो । गत साउन र भदौंमा रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण अवरुद्ध भएपछि भन्सार विभागले कोरलानाकालाई प्रयोगमा ल्याएको थियो । यहाँको भन्सार कार्यालयबाट जाँचपास भई ५ वटा मालबाहक चिनतर्फ निकासी भएको छ।


प्रतिक्रिया