मुस्ताङमा २७ वटा पर्यटन योजना कार्यान्वयन हुँदै

यहाँ स्थित मुस्ताङका पाँच पालिकामा चालु आ.व. २०८२÷०८३ का पर्यटन विकाससंग सम्वन्धित २७ वटा योजना कार्यान्वयनमा ल्याईएको छ । गण्डकी प्रदेश अन्तर्गत एकिकृत सेवा कार्यालय मुस्ताङले यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्न चालु वर्ष दुई करोड ३० लाख बजेट विनियोजन गरेको हो ।

 धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण,मर्मत तथा स्तरोन्नतिका लागि २४ वटा योजना एकिकृत सेवा कार्यालयलाई बजेट सुनिश्चित गरिएको हो भने बाँकी तीन वटा योजना प्रदेश सरकारले एकिकृत सेवा कार्यालय मुस्ताङले कार्यान्वयन गर्ने बजेट सुनिश्चित गरेको एकिकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । उहाँका अनुसार एकिकृत सेवा कार्यालयलाई धार्मिक तथा पर्यटकीय स्थलहरुको मर्मत तथा स्तरोन्तिका लागि एक करोड ५० लाख र प्रदेश सरकारबाट अख्तियारी प्राप्त तीन वटा योजनाका लागि असी लाख बजेट विनियोजन भएको कार्यालय प्रमुख दर्जीले बताउँनुभयो ।

 चालु आ.व.का लागि मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच वटा, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एक, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा दुई वटा, घरपझोङ गाउँपालिकामा नौ वटा र थासाङ गाउँपालिकामा सात वटा योजना परेको एकिकृत सेवा कार्यालय मुस्ताङले जनाएको छ । 


यसैगरी प्रदेश सरकारबाट अख्तियारी प्राप्त भई कार्यान्यवनको चरणमा रहेको तीन योजना मध्ये थासाङ , घरपझोङ र लोमान्थाङ गाउँपालिकामा समान एक÷एक योजना परेको एकिकृत सेवा कार्यालय प्रमुख दर्जीले जानकारी दिनुभयो ।

एकिकृत सेवा कार्यालय मुस्ताङले धार्मिक तथा पर्यटन पूर्वाधार सम्वन्धि  पाँच योजनाका लागि २५ लाख बजेट परेका छ । जसमध्ये लोमान्थाङमा रहेका ऐतिहाँसिक तथा धार्मिक चार वटा गुम्बाहरुको मर्मत तथा स्तरोन्नति र एक पर्यटकीय स्थलको पूर्वाधार स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन भएको हो । यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिकामा  चराङ गुम्बा मर्मत तथा स्तरोन्नति गर्न पाँच लाख बजेट छुट्याईएको जनाईएको छ ।

 मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा दुई वटा योजनाका लागि १० लाख बजेट परेको छ । यहाँ वारागुङ मुक्तिक्षेत्र—४ तिरी स्थित गुम्बा मर्मत तथा स्तरोन्नति र वारागुङ मुक्तिक्ष्ोत्र—३ छुसाङ देखि लोघेकर दामोदरकुण्डको ताङ्ग्या जाने पर्यटकीय पदमार्ग स्तरोन्नति गर्न उक्त बजेट विनियोजन भएको हो ।

यसैगरी यहाँ स्थित घरपझोङ गाउँपालिकामा नौ वटा योजनाका लागि ५० लाख बजेट परेको छ । घरपझोङ स्थित एयरपोर्ट पुथाङ भीरमा पर्यटकीय पूर्वाधार,जोमसोम पर्यटक पार्क निर्माण, ईको म्युजियममा आवश्यक पर्यटकीय पूर्वाधार, छैरो छहरामा पर्यटन पूर्वाधार, ठिनी  पर्यटकीय पूर्वाधार,ढुम्बाताल संरक्षण तथा सौन्दर्यीकरण, निलगिरि भ्यू पार्क र रिसुम गुम्बा जाने पदमार्ग निर्माण लगायतमा उक्त बजेट परेको हो ।

 थासाङ गाउँपालिकामा ७ योजनाका लागि ५० लाख बजेट विनियोजन भएको छ । यहाँ गुरुसाङ्वो धार्मिक क्षेत्रमा जिर्ण अवस्थामा रहेको ध्यान गर्ने कोठा निर्माण, नाखेधारा झरना पर्यटन पूर्वाधार निर्माण र छाक्ताङदेखि खल्ह्यु गोरेटो पदमार्ग निर्माण गरिने एकिकृत सेवा कार्यालयले उल्लेख गरेको छ । यसैगरी थासाङमा थकाली सामुदायिक ऐतिहाँसिक कोतघरको तला थप्ने,नाङसुङ गुम्बा मर्मत सम्भार,कालोपानी स्याकुप्रा पर्यटन मार्ग निर्माण र कालोपानी धुलो डाँडा भ्यू टावर पर्यटन मार्ग विस्तार लगायतका योजना छन् ।

 यस्तै गण्डकी प्रदेश सरकार मार्फत यहाँ स्थित एकिकृत सेवा कार्यालयले कार्यान्वयन गर्ने थासाङ गाउँपालिकामा अवस्थित धौलागिरि आईसफल पर्यटकीय पदमार्ग तथा पर्यटकीय पूर्वाधार निर्माणमा चालिस लाख,घरपझोङ—४ जोमसोम स्थित कालिगण्डकी नदीमा रहेको ठुला चट्टानहरुमा मूर्तिकला र शालिग्राम लगायतका आकृति निर्माणमा बिस लाख र लोमान्थाङ—१ छोसेर स्थित झोङ केपमा पर्यटकीय पार्क निर्माणमा बिस लाख बजेट कार्यान्वयनको चरणमा रहेको एकिकृत सेवा कार्यालय मुस्ताङले जनाएको छ ।


प्रतिक्रिया