हिमपातले कृषक र पशुपालकलाई राहत

मुस्ताङमा जारी सिजनको छैटौं पटकको हिमपातले यहाँका कृषक र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यसवर्ष अनुकुल समयमा पटक÷पटक हिउँ परेकाले यहाँका कृषक र पशुपालन व्यवसायीहरुले राहतको महशुस गरेका हुन् ।

 शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्र लगायतका विभिन्न स्थानमा भारी हिमपात भएको हो । हिउँदयामको समाप्ति हुन लागेका बेला यहाँ सम्भवत अन्तिम पटक भारी हिमपात भएको हो । मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकामा भने उच्चलेंकमा हिमपात भयो भने, बस्ती क्षेत्रमा वर्षा भएको हो ।

 शुक्रबार राति परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्रसहित घरपझोङ र थासाङ क्षेत्रका उच्चलेंकका चरनक्षेत्र पुरै हिउँले ढाकिएका छन् । मुक्तिक्षेत्र र माथिल्लो मुस्ताङमा बस्ती क्षेत्रमा हिमपात भएकाले खेतीयोग्य भूभागहरु सबै हिउँले ढाँकिएका छन् ।

यहाँ स्थित घरपझोङ गाउँपालिका—५ ठिनी गाउँ माथिको ठुलो चरनक्षेत्र रहेको उच्चलेंक सेताम्मे हिउँले ढाकिएको छ ।  यहाँ स्थित तिलोचो पदमार्ग तथा सडकमा भारी हिमपात भएको हो । घरपझोङ—५ ठिनीका पशुपालक किसान च्याङबहादुर थकालीले शुक्रबार राति परेको हिउँले ठिनी गाउँ माथिको भ्रप्सा,यारुझो भ्युटावर, नमखुलेंक र तिलिचो पदमार्गको मेसोकोन्दो पास पुरै सेताम्मे भएको जानकारी दिनुभयो ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण अनुकुल समयमा हिउँ नपर्दा उच्चलेंकको चरनक्षेत्रमा घाँसको अभाव हुने गरेकोमा यसवर्षको हिउँले स्थानीय पशुपालक किसानलाई ठुलो राहत प्रदान गरेको पशुपालक किसान च्याङबहादुर थकाली बताउँनुहुन्छ । हावाहुरी बिनाको हिउँ परेकाले चरनक्षेत्रमा पुरै हिउँले ढाँकिंदा पर्याप्त मात्रामा पशुचौपायाका लागि घाँस पलाउने उहाँको भनाई छ ।

 मुस्ताङमा विगत तीन वर्षदेखि निरन्तर अनुकुल समयमा हिउँ नपर्दा चरनक्षेत्रमा घाँसको अभाव हुने गर्दा पशुपालन व्यवसायनै संकटमा पर्न थालेको उहाँको भनाई छ । जलवायु परिवर्तनका कारण उच्चलेंकमा जमिनको तापमान वृद्धि हुँदा हिमनदी र पानीका मुहानहरु सुक्दै जान थालेकाले उच्चलेंकमा अनाधिकृत घाँस पलाउने गर्दा पशुचौपायालाई ठुलो असर पु¥याउने गरेको किसान थकालीले उल्लेख गर्नुभयो ।

यसैगरी अनुकुल समयमा हिमपात भएकाले चरनक्षेत्रमा पर्याप्त घाँस हुने भएकाले हिउँ चितुवाको आहारा प्रजाती बस्ती नझर्ने भएकाले वन्यजन्तुको जोखिम समेत कम हुने किसान थकालीको भनाई छ ।

 यस्तै , यसवर्षको अनुकुल हिमपातले यहाँका कृषि पेशा अपनाउँदै आईरहेका किसानलाई समेत ठुलो राहत पु¥याएको छ । किसान थकालीले हिउँदयामको अनुकुल समयमा परेको हिउँ लामो समयसम्म स्थिर रहने भएकाले खेतीयोग्य जमिनको भित्री तहसम्म रिचार्ज भई सिञ्चित हुने भएकाले हिउँदयामको हिउँ कृषकका लागि बरदान भएको किसान थकालीले सुनाउँनुभयो । खेतबारीमा उत्पादन हुने रैथाने उवा,जौ,गहु र हरियो तरकारी रोपण गरिएको छ, स्याउको पनि फूल फूल्ने बेला हुँदैछ , किसान थकालीले भन्नुभयो, यसपटक लगातार छ पटकसम्म परेको हिउँले पुरै जमिनलाई चाहिने आवश्यक तत्व प्राप्त भईसकेको छ , स्याउको फूल फूल्ने बेला हिउँ नपरोस ।’

 हिउँदयामको अनुकुल समयमा परेको हिउँले अन्नबाली र फलफूल खेतीमा लाग्ने विभिन्न रोगकिराहरुको संक्रमणलाई न्यूनिकरण गर्ने भएकाले किसानका लागि हिउँ आवश्यक भएको किसान थकालीको भनाई छ । हिउँदयाममा परेको हिउँ अन्नबाली र फलफूल उत्पादनका लागि अर्गानिक विषादी भएकाले हिउँ परेकोमा मुस्ताङका किसान उत्साहित भएको उहाँले जनाउँनुभयो ।

 मुस्ताङमा पर्यटकीय याममा जारी सिजनको छैटौ पटक हिमपात भएकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकसमेत उत्साहित भएको पाईएको छ । किसान थकालीले पर्यटक याममा मुस्ताङमा हिमपात भएकाले हिउँ हेर्न र हिउँ खेल्ने उद्देश्यसहित मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि हुने दावी गर्नुभयो । 



प्रतिक्रिया