ठिनी गाउँ :‘होमस्टे’ चलाएर बैकल्पिक आयआर्जन

मुस्ताङ, 8, असार ।

सधैजसो कृषि ,पशुपालन र घरायसी काम धन्दामा व्यस्त हुँने मुस्ताङको ठिनी गाउँका थकाली महिला व्यवसायिक रुपमा संगठित हुँदै जान थालेका छन् । त्यहाँका थकाली महिलाहरुले सामुदायिक ‘होमस्ट’े चलाएर बैकल्पिक आयआर्जन गर्न थालेका छन् ।

 लुकेको हिरा नामको उपाधि पाएको मुस्ताङको ठिनी गाउँ मुस्ताङको सदरमुकाम जोमसोम नजिकै भएरमा पनि निकै ओझेलमा परेको थियो । त्यस गाउँमा महिलाहरुले होमस्टे चलाउन थालेपछि विस्तारै पर्यटकको उपस्थिती बढ्दै जान थालेको छ ।  थकाली सामुदायिक होमस्टे चलाएर त्यहाँका महिलाहरुले गतिलो आम्दानी गर्न थालेका छन् ।

 पर्यटनका हिसाबले निकैनै पछि परेको मुस्ताङको ठिनी गाउँमा स्थानीय जनमुक्ति युवाक्लवको सक्रियतामा त्यहाँका महिलाहरुलाई संगठित गर्दै २०७३ सालबाट ग्रामिण होमस्टे संञ्चालन गरिएको हो । सुरुआती चरणमा ठिनी गाउँमा स्थानीय जुमा थकाली,मीना थकाली, स्मीता थकाली, आईतकुमारी थकाली र बत्तीमाया थकाली गरी पाँच घरधुरीले सामुहिक रुपमा ग्रामिण घरबास( होमस्टे) सुरु गरेका थिए । उनीले सुरु गरेको होमस्टे दोस्रो वर्षमा सरकारी निकायमा विधिवत दर्ता गरेका थिए । 

सधैजसो कुटो,कोदालो र घरधन्दा व्यस्त भईरहेने ठिनी गाउँका थकाली महिलालाई अचेल भने पाहुना उम्काउन भ्याईन नभ्याई छ । सुरुवाती चरणमा पाँच घरधुरीबाट सुरु भएको ठिनी गाउँको थकाली सामुदायिक होमस्टेमा अहिले १२ घरधुरी जोडिएको थकाली सामुदायिक होमस्टेकी सचिव जुमा थकालीले बताउँनुभयो । ‘‘होमस्टे चलाएको ६ वर्ष पुग्यो, हामीले यहाँका महिलाहरुलाई व्यवसायिक रुपमा संगठित गर्दे लैजाने मनसाय राखेका छौ,’ अहिले सम्म १२ घरधुरी जोडिएका छन्, होमस्टेमा जोडिन चाहने महिलाहरुलाई ढोका खुल्ला राखेका छौं ।’’

मुस्ताङको ठिनी थकाली सामुदायिक होमस्टे जिल्लाकै अब्बल होमस्टेका रुपमा स्थापित भईसकेको छ ।मुस्ताङ सदरमुकाम जोमसोमदेखि पूर्वको अग्लो स्थानमा अवस्थित ठिनी थकाली होमस्टेको दुरी दुई किलोमिटर टाढा पर्छ । जोमसोमबाट १० मिनेटमै पुग्न सकिने ठिनी थकाली होमस्टेसम्मको सडक कालोपत्र भईसकेको छ । घरपझोङ रिङरोड सडक निर्माणधिन भएकै कारण मुस्ताङको ठिनी गाउँको थकाली सामुदायिक होमस्टेमा बाँस बस्न पर्यटकको लर्कोनै लाग्ने गरेको होमस्टे सचिव थकालीले बताउँनुभयो । सडक मोटर बाटो सहज भएको, होमस्टेका सेवा सुविधा र प्रचार÷प्रसार भईसकेकाले दैनिक ५० जनादेखि २ सय बढी पर्यटक होमस्टेमा आउने गरेको सचिव थकालीको भनाई छ ।


 मुस्ताङ जिल्लाकै नमूनाको रुपमा रहेको ठिनी थकाली सामुदायिक होमस्टेको पाहुना उम्काउने सभाहल,किचन कोठा र शौचालय लगायतका पूर्वाधार निर्माण भईसकेकाले होमस्टे सञ्चालनमा निकै सहज भईरहेको होमस्टे प्रतिनिधि बत्तीमाया थकालीले उल्लेख गर्नुभयो । ’होमस्टे भवनमा पाहुनालाई खाना र खाजा खुवाउने गरिन्छ, उनीहरुलाई मनोरञ्जन चाहिएमा आवश्यक साउण्ड सिस्टमका साथै विभिन्न थकाली सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेर देखाउने गछौ,’प्रतिनिधि थकालीले थप्नु भयो, पाहुन उम्काउँदा हामी महिला घरधुरीले दैनिक समुहगत आलोपालो गरी पाहुना उम्काउन कार्यविभाजन गरेका छौं, जसको पालो आउँछ, उनीहरुनै होमस्टे चलाउन खटिने गरी कार्यतालिका बनाएका छौं ।’’

यसैगरी ठिनी थकाली सामुदायिक होमस्टे चलाएका महिला घरधुरीहरुले होमस्टे आगन्तुक पाहुनालाई आलोपालो गरेर बाँस बसाल्ने व्यवस्था गरेको अर्का होमस्टे प्रतिनिधि स्मीता थकालीले जानकारी दिनुभयो । थकाली होमस्टेमा पर्यटक बढ्दै जान थालेकाले यहाँको १२ वटा होमस्टे घरहरुका कोठाहरुको समेत स्तर वृद्धि गरिएको उहाँको भनाई छ ।

 पछिल्लो समय मुस्ताङको घरपझोङ गाउँपालिकाले रैथाने बाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत तालिम रैथाने बाली विविधिकरणका लागि उपकरण तथा तालिमको व्यवस्था गरेकाले होमस्टेका महिलाहरुले उवा,फापर र जौ लगायतका बालीहरुको विभिन्न परिकार बनाएर बिक्री गर्न थालेका छन् । 

होमस्टेमा कुनै सभासमारोह र कार्यक्रम गर्नुपरेमा समेत त्यहाँका होमस्टे महिलाहरुले सेवा प्रदान गरेको ठिनीका स्थानीय निरज थकालीले जानकारी दिनुभयो । मुख्य राजमार्ग सडकमा सञ्चालन भएका होटलहरु भन्दा ठिनी थकाली सामुदायिक होमस्टेमा खान र बस्नका लागि सस्तोदरमा सेवा दिने गरेको स्थानीय युवा थकालीले बताउँनुभयो ।

 मुस्ताङको ठिनी गाउँमा सञ्चालित होमस्टेका महिलाहरुले पर्यटकलाई सम्मान स्वरुप राम्रो आतिथ्यता प्रकट गर्ने गरेको पाईएको छ । पर्यटकलाई स्वागत र बिदाई गर्दा उनीहरुले दर्शाउने स्नेहले पर्यटकलाई पुन मुस्ताङ आउँदा होमस्टेमा फर्किन बाध्य गराईदिन्छ ।

मुस्ताङको मुक्तिनाथ दर्शन र कोरलानाका पुगेर फर्किएका पर्यटक फर्किदा ठिनी थकाली सामुदायिक होमस्टेमा बाँस बस्न आउने गरेको होमस्टे प्रतिनिधि मीना थकालीले बताउँनुभयो । उहाँले सबै भन्दा पाहुना असोज कार्तिक र चैत बैशाखमा आउने गरेको जानकारी दिनुभयो । होमस्टेको आम्दानी र खर्च हिसाब किताब सामुहिक रुपमै राख्ने गरेको उहाँको भनाई छ ।

 ठिनी गाउँको थकाली सामुदायिक होमस्टे समुन्द्री सतहको २९ सय मिटरको उचाईमा अवस्थित छ । होमस्टे रहेको स्थानबाट धौलागिरि हिमाल,निलगिरी हिमाल ,खेतीयोग्य भू—भागर कालिगण्डकी करिडोर मनमोहक देखिन्छ । ठिनी गाउबाट जोमसोम बजार, स्याङ गाउँ,मार्फा गाउँ लगायतका दृष्य मनमोहक देखिन्छ ।

 ठिनी गाउँ हुँदै त्यहाँको हिउँ चितुवा गुफा, यारुझो भ्यूटावर, ढुम्बाताल, घरपझोङ किल्ला , कुछप तेरङ्गा गुम्बा र थकाली संग्रालय आदी पर्यटकले अवलोकन गर्ने गर्छन ।


प्रतिक्रिया