सांस्कृतिक विविधता युक्त मार्फा पर्यटकीय ब्रान्ड बन्दै
जोमसोम— मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान । पुराना प्राचिन घरहरु । गाउँ भित्र साँघुरो गल्ली र त्यसभित्रको दर्जनौं शाखा गल्लीगल्ली । त्यही जैविक तथा सांस्कृतिक विशेषताले भरिएको छ मुस्ताङको मार्फा गाउँ ।
यही गाउँको पृष्ठभूमीलाई समेट्दै त्यही गाउँ जन्मिएकी एक महिला सर्जक स्वर्गाीय बसन्ती लालचनले तीन दशक अघि एउटा गीत रचना गरेकी थिईन ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा ’ गायिका ज्योति गुरुङको स्वर रहेको त्यही गीत हो, जसले मुस्ताङको मार्फालाई चिनायो । मुस्ताङको मार्फा नघुमेकाहरुलाई पर्नि यही गीतले परिचित गराइदिने गरेको छ ।
क्या राम्रो स्याउबारी मार्फा गावैमा गीतले भने जस्तै अहिले मार्फा गाउको स्याउ बगानहरुमा स्याउ देख्न पाईदैन । पुस र माघ महिनामा स्याउ बगैचा व्यवस्थापन गरिएका यहाँका स्याउ बगानहरुमा स्याउको फूल फुल्ने तयारीमा छ । बर्सेनि असोज कार्तिकमा स्याउ बगानहरु पोस्ट हार्भेस्ट गरिसकेपछि यहाँ स्याउ बगान उजाडमय हुन्छन् । बर्सेनि भदौदेखि असोज र कार्तिक महिनामा मुस्ताङ आउने पर्यटकले मुस्ताङको मार्फा स्याउ बगानमा लटरम्म स्याउ फलेको देख्न सक्छन् ।
हिउँदयाम सकिंदै गर्दा र बशन्तऋतुको आगमनसंगै मुस्ताङको मार्फा गाउमा आन्तरिक पर्यटकको उपस्थिती थेगिनसक्नु छ । राष्ट्रिय गौरवको (बेनी—जोमसोम) सडक नजिकै पर्ने मार्फा गाउँमा त्यहाँको पुरानो मौलिक कलासस्कृति र त्यहाँका प्राचिन घरहरुको बनोट र त्यही घर भित्रभित्र रहेको सांघुरो गोरेटो गल्ली बाटो त्यहाँ पुग्ने पर्यटकका लागि मुख्य आर्कर्षक केन्द्र बिन्दु बनेको छ । मुख्य सडकमार्गदेखि पश्चिम करिव २ सय मिटरको भिरालो सतहमा अवस्थित मुस्ताङको मार्फा गाउँमा प्रत्येक दिन दिउँसोदेखि साँझसम्मै पर्यटकको निकै ठुलो बाक्लो भीडभाड रहन्छ । सडकमार्ग स्तरोन्नति र विस्तारले मुस्ताङको मार्फा गाउको पर्यटकीय गतिविधिलाई झनै चलाएमान बनाईदिएको छ । मुक्तिनाथ दर्शन र कोरलानाका पुगेर फर्किएका पर्यटक एक पटक मार्फा गाउँको अवलोकन गर्न छुटाउँदैनन् ।
सूर्य बिनायक नगरपालिका भक्तपुरबाट मुक्तिनाथ दर्शन गर्न परिवारका सदस्यहरुसहित मुस्ताङ आएका बलराम गौतमले मुस्ताङको मार्फा गाउँको सांस्कृतिक सम्पदा देखेर मोहित भए ।पहिलो पटक मुस्ताङ आएका गौतमले मार्फा गाउँको परम्परागत सदिंयौ वर्ष पुराना ढुंगा र माटोले बनेका घरहरु ,प्रत्येक घरका छतमाथि पाँजिएका दाउराको चाङ र अनि गाउँ भित्रको सांघुरो गोरेटो गल्ली चाहार्दा निकै आनन्दित तुल्याएको अनुभुती सुनाए । ‘मार्फा गाउको मुख्य विशेषता भनेका यहाँको प्राचिन घर र सांघुरो गल्ली रहेछ,’उहाँले भन्नुभयो,‘ साँघुरो गल्ली भित्र होटलहरु र समथिङ पसलहरुनै रहेछन, सडकमार्गमै पर्ने भएकाले यहाँ घुम्न निकै सजिलो पनि रहेछ ।’
मुस्ताङको मार्फा गाउँमा करिव एक सय भन्दा बढी घरधुरी छन् । जहाँका स्थानीयले कृषि र पर्यटन व्यवसाय अपनाएको पाईन्छ । स्याउ लगायतका अन्नबाली उत्पादन गरेर मनग्ये आम्दानी गर्ने मार्फाली समुदायले पर्यटन व्यवसायलाई पनि मुख्य आम्दानीको रुपमा व्यवसाय चलाउँदै आईरहेका छन् । बर्सेनि पर्यटक आगमन बढेसंगै पछिल्लो समय बेनी—जोमसोम मुख्य सडकमा स्याउ बगैचा मासेर कंक्रिट होटलहरु निर्माण गर्ने समेत होटबाजी चलेको छ । मार्फा गाउको पुरानो भौतिक संरचना मासिन नहुने घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन बताउँनुहुन्छ । सडकमार्गमा कंक्रिट घरहरु बनेपनि मार्फाको प्राचिन वस्तीको भौतिक तथा सास्ंकृतिक संरचना मासिएमा मार्फा गाउँको अस्तित्व संकटमा पर्ने गाउँपालिका अध्यक्ष लालचनको भनाई छ ।
मुस्ताङको पर्यटकीय गाउँ मार्फाको मुख्य सडकमार्गबाट अलग्गिएर गाउँतर्फ मोडिएर करिव ५ सय मिटर बढी साँघुरो गल्लीमा पैदलयात्रा गरेपछि उत्तरतर्फको मुख्य राजमार्ग सडकमा निस्किन सकिन्छ । त्यहाको भिरालो सतहमा एकआपसमा लस्करै जोडिएका प्राचिन घरहरुको भित्र दर्जनौ शाखा गल्लीहरु छन् । मार्फा र यहाँको साँघुरो गल्लीभित्र दर्जनौ स्वदेशी तथा विदेश चलचित्र र म्युजिक भिडियो सार्वजनिक भईसकेको छ । यहाँका छायाँकन भईसकेका चलचित्र ,म्युजिक भिडियो र सामाजिक सञ्जालमा पोस्ट भएका दृष्यहरुले मार्फा गाउँको पर्यटनलाई थप उचाईमा पु¥याएको छ ।
पोखराबाट पहिलो पटक मुस्ताङ आउनुभएका सुरज कुवरले मार्फा गाउँको सांस्कृतिक सौन्दर्यता अद्भुत भएको बताउँनुभयो । ‘हामीले बजारमा यसप्रकार सांस्कृतिक विविधता देख्न पाएका थिएनौं, जुन यहाँ प्रत्यक्ष साक्षात्कार गर्न पाईयो ,’ कुवरले थप्नुभयो,‘ साँच्चै मुस्ताङको मार्फा गाउँ पुरानो सांस्कृतिक विविधतायुक्त पुरानो नेपाल देख्न पाईयो ।’ उनले मार्फा गाउँ सम्वन्धिको ‘क्या राम्रो स्याउ बारी’ भन्ने गीत सानै छदा सुनेपनि बमौसममा आएकाले स्याउ फलेको दृष्य देख्न नपाईएको जनाउँनुभयो ।
मार्फा गाउँ भित्र एक दर्जन बढी साँघुरा शाखा गल्लीहरु छन् । मार्फा गाउँलाई थप पर्यटन प्रर्वद्धन गर्नका लागि पछिल्लो समय त्यहाँका गल्लीहरुलाई विभिन्न प्रकारले नामाकरण गरिएको छ । त्यहाँका शाखा गल्लीहरुमा कतिपयलाई चलचित्रको नामसंग जोडिएको छ । मार्फा गाउँ भित्र जेरी गल्ली, कबड्डी गल्ली,टिकटक गल्ली र झाक्री गल्ली लगायतका विभिन्न नामले गल्लीहरुको परिचय खुल्ने गरी स्याउ आकृतिको साईनबोर्डहरु टाँसिएको छ ।
मार्फा गाउँ भित्र चाहार्ने पर्यटकका लागि स्थानीय थकाली,गुरुङ र तिब्बतीय संस्कृति झल्किने मौलिक पोशाकहरु लगाएर फोटो भिडियो खिच्न पाईने व्यवस्था मिलाइएको छ । मार्फा गाउँमा साँझपख स्थानीय मौलिक पोशाक लगाएर फोटो खिच्न पर्यटकहरु लालायित हुने गर्छन । साँघुरो गल्लीमा पर्यटकको गुल्जार हुँदा एकआपसमा ठोक्किन पुग्छन् ।
मुस्ताङको मार्फा गाउ भित्र एक बौद्ध धार्मिक गुम्बा छ । गाउँ भित्रै जापानिज भिक्षु ईकाई कावागुची बसेको ५ सय वर्ष पुरानो घर छ । गाउँ नजिकैको एक थुम्कोमा घरपझोङ गाउँपालिकाले एप्पल पार्क समेत निर्माण गरिसकेको छ । साँझपखको समयमा सडक बत्तीको उज्यालोले मार्फा गाउँको सौन्दर्यतालाई थप उजागर गरिदिन्छ । मार्फा गाउँ माथिको अग्लो पहाडसंगै जोडिएको गुफामा पुगेर त्यहाँको परिदृष्य अवलोकन गर्न सकिन्छ ।
मार्फा गाउँमा आधा दर्जन स्याउबाट बनाईने ब्रान्डी उत्पादन गर्ने प्रशोधित डिस्टिलरी छन् । मार्फामा नेपाल सरकारको स्वामित्वमा रहेको शीतोष्ण बागवानी विकास केन्द्र नामक कृषि फार्म छ । जसले मुस्ताङका किसानलाई कृषि खेती सिकाउने र बिरुवा उत्पादन गरेर सेवा पु¥याई रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली