उपल्लो मुस्ताङमा हिउँ चितुवा अनुगमन

जोमसोम— मानव हिउँ चितुवाबिचको स्वअस्तित्व रक्षाका लागि उपल्लो मुस्ताङको तीन स्थानमा क्यामेरा ट्यापिङ गरी हिउँ चितुवाको अनुगमन सुरु गरिएको छ । उपल्लो मुस्ताङमा मानव र हिउँ चितुवाबिचको द्धन्द बढ्दै जान थालेपछि त्यसको व्यवस्थापनका लागि एक्याप लोमान्थाङले हिउँ चितुवाको स्थिती पत्ता लगाउन क्यामेरा ट्यापिङ विधिबाट अनुगमनकार्य अघि बढाएको हो ।

 उपल्लो मुस्ताङका तीन स्थानमा हिउँ चितुवाको वर्तमान स्थिती र अवस्था पत्ता लगाउने र कुन÷कुन स्थानमा कतिको संख्यामा हिउँचितुवा छन् भने एकिन गर्न एक्याप लोमान्थाङ कार्यालयले क्यामेरा ट्यापिङबाट अनुगमन थालेको  अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।

 उपल्लो मुस्ताङमा हिउँ चितुवाले बर्सेनि दुःख दिईरहेको गुनासो आईरहेको उल्लेख गर्दै एक्याप कार्यालय प्रमुख पौडेलले हिउँ चितुवाको सरक्षण गर्दै स्थानीयको पशुधनको क्षति हुने क्रमलाई न्यूनिकरण गर्न आवश्यक व्यवस्थापन गर्ने गरी क्यामेरा ट्यापिङ गरी अनुगमन गरेको बताउँनुभयो ।

 एक्याप लोमान्थाङले हिउँ चितुवा अनुगमनका लागि गतहप्ता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ समर आसपासका क्षेत्रमा १२ वटा अत्याधुनिक क्योमरा ट्यापिङ गरेको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । यसैगरी लोमान्थाङको थुर्लुङफाट माथिको डाँडा आसपासका क्षेत्रमा २ वटा र लोमान्थाङ बजार माथिको क्षेत्रमा एक वटा क्यामेरा जडान गरेको कार्यालय प्रमुख पौडेलको भनाई छ । एक्याप लोमान्थाङ अन्तर्गतका क्षेत्रमा कुल १५ वटा क्यामेरा हिमचितुवा अनुुगमनका लागि जडान भएको उहाँले उल्लेख गर्नुभयो ।

समुदायका मानिसले हिउँ चितुवाका साथसाथै चितुवा (कमन लियोपार्ट) पनि छन् भनेका छन्, हिउँ चितुवा समर क्षेत्रमा २—३ वटा छ भन्ने कुरा आएको छ,’ एक्याप लोमान्थाङ प्रमुख पौडेलले भने,‘ त्यहाँ समस्या के—कति कारणले हिउँ चितुवाको क्षति बढेको हो, यो अनुगमनपछिको अध्ययनले देखाउँने छ, यो सबैको अध्ययन हेरेर हाम्रो तहबाट हिउँचितुवा व्यवस्थापनका लागि नयां गृहकार्य अध्ययन गरी अघि बढाउने छौं ।’

एक्याप लोमान्थाङ प्रमुख पौडेलले संरक्षित हिउँ चितुवा र अन्य वन्यजन्तुको सरक्षण गर्ने दायित्व एक्यापको भएकाले यसका लागि मानव र स्थानीयको पशुधनको रक्षाका लागि  एक्यापले क्यामेरा ट्यापिङ गरी हिउँचितुवा व्यवस्थापनको अध्ययन सुरु गरेको उल्लेख गर्नुभयो । पारस्थितिक प्रणालीमा महत्वपूर्ण योगदान पु¥याउने हिमालकी रानी हिउँ चितुवा यहाँको धार्मिक,सांस्कृतिक र जैविक सम्पती भएको र स्थानीयले सदिंयौ देखि अपनाउँदै आईरहेको पशुपालन व्यवसायलाई एकैसाथ अघि बढाउन दिगो रुपमा हिउँचितुवा व्यवस्थापनका नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बेला आएको छ ।

एक्याप लोमान्थाङले हिउँ चितुवाको सरक्षण गर्दै स्थानीय पशुपालकहरु खोरको सख्या वृद्धि गर्न र खोरलाई आधुनिक ढंगले व्यवसिथ्त गरी मानव हिउँ चितुवाको सहअस्तित्व जोगानउन हिउँ चितुवा अनुगमन कार्य थालिएको हो । यसको अनुमगनका लागि एक्याप लोमान्थाङ प्रमुख पौडेलको अगुवाईमा एक्याप लोमान्थाङका कर्मचारीहरु खटिएका छन् । एक महिनासम्म क्यामेरा ट्यापिङ गरेपछि त्यसको डिटेल डाटा अध्ययन गरेपछि हिउँ चितुवा व्यवस्थापनका लागि नयां कार्ययोजना निर्माण हुने जनाईएको छ ।

 यसअघि मुस्ताङको घरपझोङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्रका विभिन्न स्थानमा एक्याप जोमसोम कार्यालयले क्यामेरा ट्यापिङ गरी हिउँ चितुवा अनुगमन गरेको थियो । एक्याप जोमसोमले घरपझोङको यारुझो भ्युटावर क्षेत्र र नमुखलेंक, वारागुङ मुक्तिक्षेत्रको साङ्ता,तिरी र कागबेनी क्षेत्रका साथै उपल्लो मुस्ताङमा कुल ३१ वटा क्यामेरा ट्यापिङ गरी हिउँ चितुवाको अनुगमन तथा सर्वेक्षण गरेको थियो ।

मुस्ताङमा हिउँ ँचितुवाको सर्वेक्षणका लागि डेटा संकलन गर्न क्यामेरा ट्यापिङ गरिएको सम्पूर्ण तस्विर र भिडियोमा कैंद हुने र उक्त डेटालाई  हिउँ चितुवा विज्ञहरुको प्राविधिक सहयोग मूल्यांकन गरी यसको प्रतिवेदन तयार गरिने छ । जलवायु परिवर्तनका कारण पारिस्थितिक प्रणालीमा ठुलो प्रभाव पार्ने दुर्लभ हिउँ चितुवाको विद्यमान अवस्था र हिउँ चितुवाको आहारा प्रजाती लगायतका बिषयमा डेटा अनुसन्धानपछि ठोस अवस्था थाहा लाग्ने एक्याप लोमान्थाङले उल्लेख गरेको छ ।

पछिल्लो समय हिमालकी रानी दुर्लभ हिउँ चितुवा विभिन्न कारणले सडक तथा वस्तीमा झर्न थालेका छन् । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा घाँसको आहाराको अभाव हुँदा हिउँ चितुवाको आहारा नाउर वस्ती र पाखोमा झर्न थालेका छन् । हिउँ चितुवाको आहार नाउरलाई पछ्याउदै वा गन्तब्य पहिल्याउन नसकेर हिउँ चितुवा वस्ती नजिक झरेको हुनसक्ने कतिपय हिउँ चितुवा विज्ञहरु बताउँछन् ।



प्रतिक्रिया