दक्षिण भारत कर्नाटक राज्यको शृंगेरी सारदा पीठका पीठाधीश्वर जगदगुरु शंकराचार्य महास्वामी विधुशेखर भारतीय महाराजद्वारा बुधबार मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित कालिगण्डकी नदी तटमा निर्माणधीन २२ फिट अग्लो विशाल शालिग्रामको प्राण प्रतिष्ठान गरिएको छ । यहाँको घरपझोङ गाउँपालिकाको आयोजना तथा जोमसोम गाउँ समाजको समन्वययमा यहाँ निर्माण गरिएको विशाल शालीग्राम मूर्तिको विशेष पुजाअर्चना गरी प्राण प्रतिष्ठान गरिएको हो ।
यहाँको घरपझोङ गाउँपालिका र एकिकृत सामाजिक विकास कार्यालयको सयुक्त आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा मुस्ताङको जोमसोममा बैशाख ७ गतेदेखि २१ गतेसम्म मूर्तिकला कार्यशाला चलाएका थिए । प्रज्ञा प्रतिष्ठानमा आवद्ध तीन दर्जन मूर्तिकारहरुले कालिगण्डकी नदीका विशाल ढुंगाहरुमा विभिन्न स्वरुपमा मूर्ति निर्माण गरेका थिए ।
सोही निर्माण गरिएका मूर्ति मध्ये कालिगण्डकी नदी तटमा निर्माण गरिएको विश्वकै ठुलो आकारको शालिग्राम शीला मूर्तिको भारतीय जगद्गुरुद्वारा प्राण प्रतिष्ठान गरिएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । हिन्दु धर्मप्रति भारतीय पर्यटकको धार्मिक आस्था जगाउन यहाँ निर्मित शालीग्राम शीलाको धार्मिक पुजा र आरती गरी निर्मित शीलाको प्राण प्रतिष्ठान गरिएको अध्यक्ष लालचनले बताउँनुभयो ।
भगवान विष्णुको प्रतिक शालीग्राम शीलाको महत्व राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा झल्काउन तथा यहाँको धार्मिक पर्यटनलाई अभिवृद्धि गर्ने उद्देश्यले अघिल्लो तीन हप्ता अघि यहाँ विशाल शालीग्राम शील निर्माण गरिएको थियो । राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग हुँदै विशेष सुरक्षा निगरानीसहित बुधबार मुक्तिनाथ दर्शन गर्न पुगेका भारतीय जगद्गुरु शंकराचार्य महास्वामी विधुशेखर भारतीसहितको टोली त्यहाँबाट फर्किए लगत्तै जोमसोममा निर्मित शालीग्राम शीलाको प्राण प्रतिष्ठान गर्नुभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । मुक्तिनाथ मन्दिर दर्शन गरी कागबेनीधामको अवलोकन गरी फर्किनु भएका जगदगुरु स्वामी महाराजले शालीग्राम शीलाको प्राण प्रतिष्ठानकार्यमा आधा घण्टाको समय खर्चिनु भएको हो ।
चट्टानमा कुदिएको शालीग्राम शीलाको प्राण प्रतिष्ठान गर्दै भारतीय जगद्गुरुले हिन्दु धर्म अनुसार पुजाअर्चना गरी शीला माथि फुलमाला अर्पण गर्नुभएको थियो ।शीला प्राण प्रतिष्ठानकार्यका लागि विशेष मन्त्र उच्चारण गरी आरतीसहित नरिवल फोरेर शालीग्राम शीलाको विधिवत प्राण प्रतिष्ठान गरिएको हो ।
शालीग्राम शीला प्राण प्रतिष्ठान कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकालीसहित पालिकाका जनप्रतिनिधि र कर्मचारी ,प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित जिल्ला स्थित चार वटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि,जोमसोम गाउँ समाज, महिला समुह र स्थानीय नागरिकहरुको उल्लेख्य सहभागी रहेको थियो ।
यसअघि मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किएका जगदगुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजको स्वागत तथा नागरिक अभिनन्दन गरिएको थियो । घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी,प्रजिअ शर्मा, सुरक्षा निकाय, जोमसोम गाउँसमाज, जोमसोम महिला समुह लगायत उल्लेख्य सर्वसाधारण नागरिकहरुले जगदगुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजलाई फुलमाला सहित अभिनन्दन गरेका थिए ।
भारतीय जगदगुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजसहितको टोलीले आजै मुक्तिनाथ मन्दिरको दर्शन गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । मन्दिरमा करिव एक घण्टा दर्शन तथा पुजाअर्चना कार्यमा बिताएका जगदगुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजले १०८ धारा र मन्दिर परिसरको कुण्डमा स्नान गर्नुभएको व्यवस्थापक भुसालले जानकारी दिनुभयो ।
नेपाल सरकार गृहमन्त्रालयको विशेष सुरक्षा प्रवन्धसहित मुस्ताङ आउनु भएका भारतीय जगदगुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । जगदगुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजको सुरक्षा जिल्ला प्रहरी कार्यालय मुस्ताङले म्याग्दी र मुस्ताङको सीमान काभ्रेभीरसम्म स्कटिङ गरेको थियो । प्रहरीका अनुसार काभ्रेभीरबाट म्याग्दी प्रशासनको स्कटिङमा म्याग्दीको गलेश्वरधाममा बास बस्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
भारतीय जगदगुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराज भारतका चर्चित धर्मगुरु हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका समेत आध्यामिक धर्म गुरु रहेका जगदगुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजको आगमनले मुस्ताङको धार्मिक पर्यटन प्रवद्र्धनमा निकै ठुलो टेवा पुग्ने विश्वाश गरिएको छ । मुस्ताङमा विदेशी पर्यटकको आमगन मध्ये ८० प्रतिशत पर्यटक भारतीय रहने गरेको छ । मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन बर्सेनि पृद्धि हुने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता