जोमसोम—नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले शुक्रबार उपल्लो मुस्ताङ पुगेर एक गुम्बा स्कुलको आवासीय भवन शिलन्यास गरेका छन् । लोमान्थाङ गाउँपालिका—१ छोसेर स्थित लोवो नाम्ड्रोलिङ गुम्बा स्कुलको नयाँ बन्ने आवासीय भवनको भारतीय राजदुत श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।
भारतीय राजदुत नविन श्रीवास्तवसहित उनका फस्ट सेक्रेटरी अविनाश कुमार सिंह पोखरा—जोमसोम हवाई मार्ग हुँदै जोमसोमबाट गुम्बा स्कुलको आवासीय भवन शिलन्यास गर्न सडकमार्ग हुँदै उपल्लो मुस्ताङ पुगेका थिए । उपल्लो मुस्ताङ पुगेको भारतीय दुतावासको टोलीलाई स्थानीय जनप्रतिनिधि,कर्मचारी ,गुम्बा स्कुलका लामा र स्थानीयबासीले भव्य स्वागत गरेका थिए ।
उपल्लो मुस्ताङ पुगेका राजदुत श्रीवास्तवले आवासीय भवन शिलन्यास गर्नु अघि लामाहरुले बौद्ध धर्म परम्परा अनुसार पुजापाठ गरिएको थियो । पुजा सकिएलगत्तै राजदुत श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले भवनको शिलन्यास गरेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए ।
गुम्बाको आवासीय भवन शिलन्यासपछि आयोजित कार्यक्रममा भारतीय राजदुत नविन श्रीवास्तवले नेपाल भारत सहयोग विकास कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशमा ५९ वटा योजनामा भारतीय दुतावासको लागत साझेदारीका योजनाहरु रहेको जानकारी दिए । जसमध्ये मुस्ताङ जिल्लामा मात्रै १७ वटा योजनामा भारतीय लागत साझेदारीमा पूर्वाधार निर्माण भएको राजदुत श्रीवास्तवले खुलाए ।‘ यहाँको विकास र समृद्धिका लागि भारत सरकार सदैव तत्पर छ ,राजदुत श्रीवास्तवले भने,‘ २० करोड सम्मका योजना नेपाल सरकारले सिधै कार्यान्वयन गर्ने कार्यविधि बनाईदिएको छ ।’
सो अवसरमा राजदुत श्रीवास्तवले नेपाल सरकारको अधिन र शर्तमा रहेर कार्यक्रम र योजना ल्याएमा भारत सिधै सहयोग गर्न तत्पर रहेको बताए । यसअघि दुतावास र गाउँपालिकाको लागत साझेदारी गर्दा गाउँपालिकाले २० प्रशिशत साझेदारी गर्नुपर्ने प्रावधान भएकोमा अब त्यो ५ प्रतिशत मात्रै साझेदारी गरे पुग्ने राजदुत श्रीवास्तवले खुलाए ।
गुम्बा स्कुल भवनका शिलन्यास समारोहमा गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट, दिव्यदीप स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व गाउँपालिका अध्यक्ष सुवर्ण कुमार बिष्ट र गूम्बा स्कुलका मुख्य लामाहरुले भारतीय सहयोगको खुलेर प्रशंसा गरे । भारतीय आर्थिक अनुदान सहयोगले नेपाल र भारतीबीच सम्वन्ध प्रगाढ बनाउन ठुलो योगदान पुग्ने जनाए ।
भारतीय राजदुतावासले उपल्लो मुस्ताङको छोसेरमा गुम्बा स्कुल र आवासीय भवन निर्माणका लागि ६ करोड ९७ लाख आर्थिक अनुदान दिने गरी गत कार्तिकमा काठमान्डौंमा द्धिपक्षीय सम्झौता भएको थियो । छोसेरका् दिव्यदीप माध्यमिक विद्यालयको आवासीय भवन र गुम्बा स्कुलको आवासीय भवन बनाउन दुतावासले ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लागत साझेदारी गर्ने गरी सम्झौता पत्र हस्ताक्षर भएको थियो । सरकारी स्कुल र गुम्बा स्कुल भवन बनाउन गाउँपालिकाले २० प्रतिशतको साझेदारी अन्तर्गत १ करोड ७४ लाख ४० हजार लगानी गर्नेछ ।
दिव्यदीप स्कुलको आवासीय भवन बनाउन ४ करोड ३२ लाख र गुम्बा स्कुलको आवासीय भवन बनाउन ४ करोड ४० लाख अनुमान गरिएको छ । शिलन्यास कार्यक्रममा भारतीय लागत साझेदारी अन्तर्र्गत उपलब्ध हुने आर्थिक अनुदानको चेक भारतीय राजदुत श्रीवास्तवका फस्ट सेक्रेटरी अनिनाश कुमार ंिसंहले गाउँपालिका अध्यक्षलाई टसीनर्बु गुरुङलाई हस्तान्तरण गरेको उपाध्यक्ष छिमी बिष्टले जानकारी दिईन् ।
भारतीय राजदुत नविन श्रीवास्तवले मुस्ताङको थासाङ गाउँपालिका—१ मा अवस्थित भारतीय सहयोगबाट बनेको योगेन्द्र माध्यमिक विद्यालयको भवन अवलोकन गर्ने कार्यक्रम तय भएको छ । मुस्ताङमा भारतीय राजदुतावासले पूर्वाधार विकाससंगै शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर लगानी गर्दैआईरहेको छ । पछिल्लो पटक लोघेकरमा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको छ । यस्तै लोमान्थाङ गाउँपालिका,लोघेकर दामोदरकुण्ड गाउँपालिका र घरपझोङ गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको थियो । दिव्यदीप स्कुल र नालान्दा बुद्धिस स्कुलले पनि स्कुल बस पाएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता