उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम) ७४ किमी सडक अन्तर्गत यहाँको कोवाङ —जोमसोम १७ किलोमिटर सडकखण्ड निर्माण कम्पनीबाट चरम ढिलासुस्ती हुँदा ८ वर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन ।मुस्ताङको घाँसादेखि माथिल्लो स्थानमा कालोपत्र सडक निर्माण भईसक्दा समेत कोवाङ—जोमसोम सडकको तीन स्थानमा सडक अलपत्र अवस्था रहेको छ ।
कालिगण्डकी करिडोर बेनी—जोमसोम सडकको चार सडकखण्ड आ.व. २०७३÷०७४ सालदेखि ठेक्का सम्झौता भई सडक निर्माणको काम थालनी गरिएको थियो । पप्पु —गौरी पार्वती कोशी एण्ड न्यौपानी जेभीले एघार मिटर चौडा सडक निर्माणसहित कालोपत्र गर्न ७० करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । तर, सुरुवाती चरणमा कोवाङ—जोमसोम सडक निर्माणको काम थालेको जेभीको कोशी एण्ड न्योपानेले सडक निर्माणलाई तिब्रता दिन नसकी ढिलासुस्ती गरेको थियो ।
लगातार लामो समयसम्म पनि कोशी एण्ड न्योपानैले सडक निर्माणको काम अलपत्र पारेपछि कालिगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडक आयोजनाले निर्माण कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएको थियो । आयोजनाको पटक पटकको ताकेता र कारवाहीको प्रक्रिया अघि बढाईपछि जेभीको मुख्य कम्पनी गौरी पार्वतीले कोवाङ—जोमसोम सडक निर्माणकार्यलाई सम्हाल्दै आईरहेको थियो ।तर गौरी पार्वती सडक निर्माणको काममा फर्किएपनि आशिंक सडक निर्माणको काम गरेर पछिल्लो समय सडक निर्माणको कामलाई अघि बढाउन नसकेको हो ।
आयोजनाका अनुसार कोवाङ—जोमसोम सडक निर्माण कम्पनीलाई कुल ठेक्का सम्झौता लागतको (०.०५) प्रतिशत हुने गरी जरिवाना रकम कायम गरिएको छ । सुरुवाती ठेक्का सम्झौता भएको कोवाङ—जोमसोम सडकको हालसम्म सातौं चरणको म्याद थपको प्रक्रिया अघि बढेको आयोजनाका सूचना अधिकारी ईन्जिनीयर बाबुसाहेब बैठाले जानकारी दिनुभयो । ईन्जिनीयर बैठाका अनुसार हाल कोवाङ—जोमसोम सडकको भौतिक प्रगती ९० प्रतिशत र बित्तिय प्रगती ८० प्रतिशत रहेको जानकारी दिनुभयो ।
कोवाङ—जोमसोम सडकखण्ड अन्तर्गत थासाङ गाउँपालिकाको टुकुचेमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसीसी सडक विस्तार गर्न बाँकी रहेको गौरी पार्वती निर्माण कम्पनीका प्रतिनिधि सुमन अधिकारीले उल्लेख गर्नुभयो । यहाँको स्थानमा कालोपत्र र आरसीसी सडकको ड्रेन तथा सडक स्टक्चर निर्माणको काम सकिएको बताउँनुभयो ।
यसैगरी उक्त सडकखण्डको मार्फा राजखोलाको पक्की पुलदेखि माथिल्लो सडकमा करिव १२०० सय मिटर कालोपत्र विस्तार गर्न बाँकी छ । जोमसोमका पुथाङ एयरपोर्ट माथिदेखि नेपाली सेनाको ब्यारेक रहेको स्थानको ५०० मिटर बढी सडकमा सडक स्टक्चर तथा कालोपत्र विस्तार गर्न बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि अधिकारीले उल्लेख गर्नुभयो ।
कम्पनीका प्रतिनिधि अधिकारीले कोवाङ—जोमसोम सडकको सम्पूर्ण काम मंसिर मशान्तसम्म सम्पन्न हुने दावी गरेका छन् । ‘ हामीले जिम्मा लिएपछि सडकको कामलाई तीब्रता दिएका हौ,सोही अनुसार काम पनि भईरहेको छ ,’ प्रतिनिधि अधिकारीले भने,‘ अहिले कामदारहरु धान काट्ने कामले घर फर्किएर रोकिएको हो, अब एक हप्ता भित्रै रोकिएको काम चालु हुन्छ ।’’
राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक अन्तर्गतको चौथो खण्ड कोवाङ—जोमसोम सडक कालोपत्र नहुँदा पर्यटक तथा सवारी साधनका साथै पैदलयात्रीलाई समेत निकै सास्ती पुगेको छ । कोवाङ—जोमसोम सडक पुरा भएमा मुस्ताङ र म्याग्दीको सिमाना घाँसादेखि कागबेनी—मुक्तिनाथ सडक कालोपत्र सडकले जोडिने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली