निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

मुक्तिनाथधाम स्थित दर्शनार्र्र्थी विश्राम स्थल प्राङ्गणमा सञ्चालन गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित भएका छन् । नेपाली सेनाको जोमसोम स्थित ईन्द्रबक्स गणको आयोजनामा बिहिबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

समून्द्री सतहको ३८०० मिटरको उचाईमा अवस्थित मुक्तिनाथ क्षेत्रमा पुगेका कतिपय दर्शनार्थीहरुलाई हाईअल्टिच्युडको समस्या देखिने गर्छ । मुक्तिनाथ दर्शनार्थीहरुलाई लक्षित गरी नेपाली सेनाको ईन्द्रबक्स गणले मुक्तिनाथमा एक दिने शिविर सञ्चालन गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । सेनाको निःशुल्क शिविरमा स्वास्थ्यमा समस्या भएका दीर्घ रोगका बिरामी, ज्येष्ठ नागरिक लगायतको स्वास्थ्य परीक्षण भएको व्यवस्थापक भुसालले उल्लेख गर्नुभयो । उच्च उचाईको स्थानमा आउने पर्यटक तथा दर्शनार्थीहरुलाई अक्सिजनको लेवल कम हुने भएकाले हाईअल्टिच्युडको समस्या देखिने गरेको व्यवस्थापक भुसालको भनाई छ ।

नेपाली सेनाका निःशुल्क स्वास्थ्य शिविरमा स्वदेशी भक्तजन १२२ जना, भारतीय दर्शनार्थी ४० जनाले स्वास्थ्य लाभ लिएको ईन्द्रबक्स गणले जनाएको छ । यसैगरी शिविरमा पोल्याण्डका पर्यटक ५ जना र साउथ कोरियन पर्यटक एक जना गरी ६ जना विदेशीले पनि शिविरमा स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा स्वास्थ्य परीक्षण गरिएका मध्ये एक जना दर्शनार्थीलाई प्रोटेबल अक्सिन प्रयोग गरी हाईअल्टिच्युड सिग्नेसको परीक्षण गरी उपचार गरिएको ईन्द्रबक्स गणले बताएको छ ।

 मुक्तिनाथमा सञ्चालन गरिएको स्वास्थ्य शिविरका लागि ईन्द्रबक्स गणबाट एक जना चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मी खटिएका थिए । शिविरमा परीक्षण गर्न आएकाहरुको हाईअल्टिच्युड सिग्नेस,श्वास प्रश्वासको समस्या,ब्लडप्रेसर लगायत सामान्य प्रकारको स्वास्थ्य परीक्षण गरिएको थियो ।


प्रतिक्रिया