जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फा (राज) खोलामा बिहिबार दिउँसो बेमौसमे बाढी आएको छ । बर्सेनि साउन भदौमा मात्र आउने बाढी यसवर्ष चैतमै आएको हो ।
मुस्ताङको मार्फा खोलालाई स्थानीयले राज खोला पनि भन्ने गर्छन् । बेनी—जोमसोम सडकमार्गसंगै जोडिएको मार्फा स्थित राज खोलामा लेदोसहितको बाढी आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । मार्फा स्थित राज खोलामा बाढी आएपछि बेनी—जोमसोम सडक ३ घण्टा अवरुद्ध बनेको थियो । लेदो पदार्थ र गेग्रानसहितको बाढी आएपछि मुस्ताङ आउजाउ गर्ने लामो तथा छोटो दुरीका सवारी साधन सो स्थानको सडकमार्गमै रोकिएका थिए ।
बाढी आएको सूचना पाएपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसहित ३ वटै सुरक्षा निकायको टोली सडकमार्ग सहज बनाउन मार्फा पुगेका थिए । प्रमुख जिल्ला अधिकारी पन्तले प्रशासन,प्रहरी र स्थानीयको सहयोगमा डोजर परिचालन गरेर ३ घण्टापछि सडकमार्ग खुलाईएको जानकारी दिए । उनले बाढी आएपनि खोलाले धार परिवर्तन नगरेकाले सडक सूचारु गर्न सजिलो भएको जनाए ।
मुस्ताङको मार्फा स्थित राज खोलामा ५ दिन अघि पनि यसरी लेदो र गेग्रानसहितको बाढी आएको थियो । त्यस समय खोलाको वाहव उच्च हुँदा बेनी—जोमसोम सडकमार्ग अवरुद्ध हुन पुगेको थियो ।
पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव हिमाली जिल्लामा देखिन थालेकाले बेमौसममै बाढी आउँन थालेको स्थानीय जानकार बताउँछन् । हिउँदयाम सकिएर गर्मीयाम सुरु हुन थालेको अवस्थामा खोलामा अकल्पनीय रुपमा बाढी आउँदा स्थानीयबासी अचम्मित बनेका छन् ।
मार्फा खोलामा कालिगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडक आयोजनाले २०७५ सालदेखि १२० मिटर लामो पक्की पुल बनाउँन थालेको भएपनि त्यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले पक्की पुल बन्न सकेको छैन । पुल नबन्दा बेनी—जोमसोम सवारी साधनलाई बर्खायाममा निकै सास्ती हुने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता