हिमाली जिल्ला मुस्ताङमा तीन हजार ५७० जनाले राष्ट्रिय परिचयपत्र कार्ड पाएका छन् । गत आ.व.देखि कुल पाँच हजार ८१५ जनाको राष्ट्रिय परिचयपत्र कार्ड तयारी भई जिल्ला प्रशासन कार्यालय मुस्ताङको राष्ट्रिय परिचयपत्र शाखामा उपलब्ध भएकोमा दुई हजार २४५ जनाले राष्ट्रिय परिचयपत्र कार्ड बुझ्न बाँकी रहेको जनाईएको छ ।
मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरण दर्ता प्रक्रिया सुरु भएदेखि हालसम्म कुल आठ हजार ७०५ जनाले राष्ट्रिय परिचयपत्रका लागि नामाकंन दर्ता विवरण पेश गरिसकेको विवरण दर्ता अपेरटर बुद्धिरत्न थकालीले जानकारी दिनुभयो । जसमध्ये दुई हजार ८९० जनाको राष्ट्रिय परिचयपत्र कार्ड आउन बाँकी रहेको राष्ट्रिय परिचयपत्र शाखाका वितरण अपरेटर बुद्धिरत्न थकालीले जानकारी दिनुभयो । ।अपरेटर थकालीका अनुसार मुस्ताङमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता आ.व. २०७७ को साउनदेखि सुरु गरिएको हो ।
अपरेटर थकालीका अनुसार विवरण दर्ता भएका मध्येको पाँच हजार ८१५ जनाको राष्ट्रिय परिचयपत्रको कार्ड छपाई भई जिल्ला प्रशासन कार्यालय मुस्ताङको राष्ट्रिय परिचयपत्र शाखालाई प्राप्त भएको छ ।
सरकारले आगामी आ.व.को साउनदेखि सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गराएपछि मुस्ताङमा पनि राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीले चाँसो दिन थालेको दर्ता अपरेटर थकालीको भनाई छ । दर्ता अपरेटर थकालीले साउनदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय भएकाले हाल दैनिक एक दर्जन सेवाग्राहीहरुले राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङमा धाउने गरेको अपरेटर थकालीले उल्लेख गर्नुभयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तर्गत मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरण शाखामा सीमित कर्मचारी उपलब्ध हुँदा शिविर सञ्चालनमा समस्या परेको छ । भौगोलिक रुपले विकट मुस्ताङमा तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्म नागरिकहरुले राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा धाउनुपर्ने बाध्यताले गर्दा सेवाग्राहीहरुले आर्थिक भार र समयको क्षति व्यवहोर्नु परेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताउँनुभयो । ‘ राष्ट्रिय परिचयपत्रका प्रत्येक स्थानीय तहको घरदैलोमै शिविर सञ्चालन हुन सकेमा राम्रो हुन्थ्यो,’ यसरी प्रशासन कार्यालयमा गएर सेवा लिंदा एक जनाको ५ हजार भन्दा बढी खर्च हुन्छ,’ अध्यक्ष बिष्टले भन्नुभयो,‘ ज्येष्ठ नागरिक,अशक्त,अपांगता,एकल महिला र विधवा लगायतका सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई सरकार स्थानीय स्तरमै सेवा प्रवाह गरिनु पर्छ ।’
सरकारले आगामी आ.व.को साउनदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले मुस्ताङका पाँचै वटा स्थानीयले सार्वजनिक सूचना प्रकाशित गरी राष्ट्रिय परिचयपत्रका लागि आवेदन पेश गर्न समेत सूचित गरिसकेका छन् । प्रतिकुल मौसम,हिमपात र भौगोलिक कठिनाईका कारण मुस्ताङका नागरिक जाडो छल्न बेसीमा झरेकाले मंसिर,पुस र माघ महिनामा राष्ट्रिय परिचयपत्रको दर्ता नामाकंन गर्नेको सख्या ज्यादै कम भएको पाईएको छ ।
राष्ट्रिय परिचयपत्रको महत्व बुझ्न नसकेकै कारण मुस्ताङमा राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ भन्नेतर्फ सेवाग्राहीहरुले चाँसो नदिदा राष्ट्रिय परिचपयपत्रका दर्ता प्रक्रियामा जोडिन समस्या परेको छ । तर ,पछिल्लो समय सामााजिक सुरक्ष भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य लागु गरिएसंगै मुस्ताङ पनि राष्ट्रिय परिचयपत्रका लागि दर्ता गर्न आउनेको संख्या क्रमशः वृद्धि हुन थालेको हो ।
मुस्ताङमा जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरण शाखाबाट मात्रै अभिलेख संकलन गर्ने गरिएको छ । यसप्रकारको सेवा जिल्लाका पाँचै वटा स्थानीय तहमा स्थापना हुन आवश्यक रहेको औल्याईएको छ ।
सरकारले सरकारी सेवासुविधालाई छिटो÷छरितो र प्रभावकारी तुल्याउने उद्देश्यले ७७ वटै जिल्लाहरुमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने अभियान थालेको थियो । हरेक नागरिकको जैविक तथा व्यक्तिगत विवरण सुरक्षित भण्डारण गर्दै सरकारी तथा गैरसरकारी सेवाप्रदायक संघसंस्थाको कामकाजलाई चुस्त दुरुस्त राख्न राष्ट्रिय परिचयपत्र विवरणको अभियान थालिएको थियो ।