मुस्ताङको स्याङमा घरैपिच्छे उन्नत गाई पालन


जोमसोम—  मुस्ताङको घरपझोङ गाउँपालिका—३ स्याङ गाउँमा उन्नत जर्सी गाईपालन  फस्टाउँदै जान थालेको छ । उन्नत गाईको दुधबाट मनग्ये आम्दानीका साथै किसानको फलफूल तथा तरकारी बगैचामा गोबर मल प्रयोग गर्न यहाँ उन्नत जर्सी गाई पालन व्यवसाय अपनाईएको हो ।

डेढ दशक अघि मुस्ताङको जोमसोम लगायतका आसपासका पर्यटकीय गाउँहरुका होटल तथा रेष्टुरेन्टहरुले सहरिया प्याकेजिङ गरिएको पाउँडरको दुध प्रयोग गर्ने गथ्र्ये । जब मुस्ताङको स्याङ गाउँबाट उन्नत जर्सी गाईपालन सुरु भयो त्यसपछि भने यहाँ प्रयोग गरिने प्याकेजिङ गरी पाउडरको दुध विस्थापित हुँदै जान थाल्यो । अहिले मुस्ताङमा बजारिया पाउँडरको दुध ९० प्रतिशत विस्थापित भईसकेको छ ।

मुस्ताङमा पाउँडरको दुध बिस्थापित हुँनुको मुख्य योगदान स्याङ गाउँको उन्नत जर्सी गाईपालननै हो । स्याङ गाउँमा सुरुआती चरणमा स्थानीय फलेन्द्रप्रसाद थकालीले उन्नत जर्सी गाईपालन सुरु गर्नुभएको थियो ।उहाँ घरपझोङ—३ का वडाध्यक्ष समेत हुनुहुन्छ । हिमाली क्षेत्रमा परीक्षणको रुपमा पालन गर्नुभएको वहाँले उन्नत गाई पालन प्रभावकारी देखिन थालेपछि स्याउ गाउँका अन्य किसानले पछ्याउन थालेको वडाध्यक्ष थकालीको भनाई छ ।

स्याङ गाउँका वडाध्यक्षले तत्कालिन समयमा उन्नत जर्सी गाई पालन जिल्लामा भित्र्याए लगत्ते त्यसबेला साविक पशुसेवा कार्यालय र साविक जिल्ला विकास कार्यालयले दुध उत्पादनलाई बढाउने तथा प्रर्वद्धन गर्ने उद्देश्यले उन्नत जर्सी गाईपालन खरिदका लागि अनुदानका कार्यक्रम ल्याएको वडाध्यक्ष थकालीले स्मरण गर्नुभयो । परम्परागत हिमाली लुलु गाईले भन्दा उन्नत जर्सी गाईले मनग्ये दुध उत्पादन गर्ने भएकै कारण मुस्ताङका किसान उन्नत जर्सी गाई पालनतर्फ आर्कर्षित हुन थालेको वडाध्यक्ष थकाली बताउँनुहुन्छ । त्यससमय साविक पशु सेवा कार्यालय र साविक जिविस कार्यालयले अनुदान सहुलियतमा उन्नत गाई वितरण गरेको वडाध्यक्ष थकालीले सुनाउँनुभयो ।

त्यसो त एक दशक अघि हिमाली उपआयोजनाले मुस्ताङमा उन्नत जर्सी गाईपालन कार्यक्रम ल्यायो । त्यससमय हिमाली उपआयोजनाले जिल्लाका किसानलाई ८० प्रतिशत अनुदानमा उन्नत जर्सी गाई पालन गर्न प्रोत्साहित गरायो । त्यसपछि भने मुस्ताङको स्याङ गाउँमा उन्नत पालन व्यवसाय झाङ्गिदै गयो । 

स्याङ गाउँमा उन्नत गाईपालनसंगै मुस्ताङ डेरी उद्योग समेत स्थापना भयो । सहकारी मार्फत अनुदान पाएका किसानहरुले उन्नत गाईको दुध उत्पादन डेरी उद्योगमा लगेर बिक्री गर्न पाउँने सुविधा मिल्यो । कतिपय किसानले डेरीमा बिक्री नगरी मोटरसाईकलमा ढुवानी गरी बजारमा पु¥याउन थाले । त्यसपछि अहिले मुस्ताङका स्याङ गाउँमा घरपिच्र्छे उन्नत गाईपाल्ने होटबाजी चल्यो । स्याङमा अहिले पनि ४० घरधुरीले एकसय भन्दा बढी उन्नत जसी गाईपालन गरेको पाईएको छ ।

वडाध्यक्ष फलेन्द्रप्रसाद थकाली मुस्ताङमा उन्नत जर्सी गाई पालन गर्ने पहिलो व्यक्ति हुन् । उहाँबाट सुरु भएको स्याङ गाउँको उन्नत गाई पालन व्यवसाय फराकिलो बन्दै जान थालेको छ । वडाध्यक्ष थकालीले स्याङ गाउँ कृषिमा आधारित गाउँ भएकाले दुध बिक्री गर्ने र उन्नत गाईको मलमुत्र खेतबारीमा प्रयोग गर्न निकै सजिलो भएको बताउँनुभयो । स्याङ गाउँमा अहिले दैनिक चारसय भन्दा बढी दुध उत्पादन हुने गरेको वडाध्यक्ष थकालीले उल्लेख गर्नुभयो ।

घरपझोङ—३ स्याङका स्थानीय निमा फन्चोक गुरुङले पनि अहिले ४ वटा उन्नत जसी गाई पालन गरेका छन् । दस वर्षअघि ११ वटा गाई र एक गोरुबाट सुरु गरेका गुरुङले अहिले दुधको बजारमा प्रतिस्पर्धा भएको र पशु आहारा र घाँसको मुल्य वृद्धि भएकाले उन्नत गाईको संख्या घटाएको गाईपालक गुरुङ बताउँनुहुन्छ । दुधको मुल्य वृद्धि हुन नसकेको तर दाना र घाँसको मुल्य आकाशिएकाले कृषि प्रयोजनका लागि मात्रै गाईपालन गर्ने गरेको गुरुङको भनाई छ । ‘पहिले दुध बिक्री गर्दा मनग्ये आम्दानी हुन्थ्यो, अहिले त त्यस्तो छैन’, गाईपालक गुरुङले थपे,‘ फलफूल बगैचा र तरकारी बारीमा मल चाहिने भएकाले गाईपालनलाई निरन्तरता दिदैआईरहेको छु । दुध बिक्री गरेको पैसा गाई व्यवस्थापनमा खर्च हुन्छ, नाफा भनेकै मल हो ।’ सुरुआती चरणमा ११ गाईबाट ३ सय बढी दुध उत्पादन गर्ने गरेकोमा अहिले दैनिक ४० लिटर मात्रै दुध बिक्री गर्ने गरेको गुरुङले जनाउँनुभयो ।

 बर्खायाममा दुधको माग अत्यधिक हुने गरेको भएपनि किसानहरुमा समन्वय नहुँदा दुधको मुल्य वृद्धि हुन नसकेको अर्का गाईपालक जिवन थकालीले बताउँनुभयो । मुस्ताङको स्याङ गाउँबाट सुरु भएको उन्नत गाईपालन अहिले फैलिदै जिल्लाको ठिनी,मार्फा,टुकुचे र कागबेनीसम्म पुगेको गाईपालक थकालीले उल्लेख गर्नुभयो ।

तर पर्यटकीय यामबाहेक हिउँदको ३ महिना उन्नत गाईको दुध बिक्री गर्न समस्या हुने गरेको किसानहरु बताउँछन् । हिउँदयाममा पर्यटकको उपस्थिती कम हुने र जिल्लाका नागरिक बेसी झर्ने भएकाले दुधको खपत कम हुने गरेको स्थानीय गाईपालकहरुको भनाई छ । 


प्रतिक्रिया