जोमसोम—हिमाली जिल्लामै पहिलो पटक मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना हुने भएको छ । सरकारले ३१ औं वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि मुस्ताङमा यो प्रविधि जडान गर्न लागिएको हो ।
विश्वमा बढ्दै गईरहेको कार्वन उत्र्सजनका कारण वातावरणीय जोखिम बढ्दै गईरहेको छ ।जलवायुु परिवर्तनले त्यसको प्रभाव हिमालसम्म परेको छ । जलवायु संकटकै कारण वातावरणीय क्षेत्रमा पर्दै गरहेको नकारात्मक प्रभावलाई नियन्त्रणमा राख्न वातावरण विभागले मुस्ताङमा वायु मापन गर्ने प्रविधि स्थापना गर्ने तयारी गरेको छ ।
वातावरणीय स्वच्छता कायम राख्ने,प्रदुषणलाई निश्चित सीमा भित्र सन्तुलनमा राख्ने ,दिगो विकासका अंगहरुसंग जोड्ने र मानव स्वास्थ्यलाई प्रतिकुल हुन नदिने लगायतका उद्देश्यसहित नेपाल सरकार वातावरण विभागले मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने तयारी गरेको हो ।यसका लागि २ साता अघि वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी र विभागका प्राविधिक उपसचिव दिपक ज्ञवाली लगायतको टोलीले मुस्ताङ आएको हो । टोलीले वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि स्थान छनौटका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङसंग समन्वय गरेको थियो ।
मुस्ताङ प्रशासनसंग समन्वयमा विभागको टोली जिल्ला प्रशासन कार्यालय पछाडीको शालिग्राम उद्यान पार्कमा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने फाईनल गरेको विभागका महानिर्देशक ज्ञानराज सुवेदीले जानकारी दिए । झन्डै १ करोड बढी लागतको वायु गुणस्तर मापन प्रविधि जडान गर्ने तयारी भईरहेको महानिर्देशक सुवेदीले उल्लेख गरे ।
सरकारले यसअघि ३० वटा जिल्लाहरुमा वायु गुणस्तर मापन केन्द्र संञ्चालनमा छन् । ३१ औं केन्द्रका रुपमा चालु आर्थिक वर्षभित्रै वायु गुणस्तर मापन केन्द्र स्थापना सम्पन्न हुने महानिर्देशक सुवेदीको भनाई छ ।
वायुको गुणस्तर,वातावरणी स्वच्छता र वातावरण प्रदुषणलाई न्यूनिकरण गर्न अपनाउन पर्ने रणनीति तय गर्न वायु मापन गुणस्तर केन्द्र प्रविधिले सहयोग पुग्ने विभागका प्राविधिक उपसचिव दिपक ज्ञवालीले उल्लेख गरे । प्राविधिक उपसचिव ज्ञवालीले वायु गुणस्तर मापन केन्द्र प्रविधिले २४ सै घण्टा वायुको अवस्थाबारेमा अपडेट गर्ने बताए ।
बिजुली र ईन्टरनेटको सहयताबाट वायु गुणस्तर मापन प्रविधिले त्यस क्षेत्रको वस्तुगत वातावरणीय अवस्थाको जानकारी गराउँछ । यो प्रविधिका माध्यमबाट गृह मन्त्रालय अन्तर्गत रहेको सेक्टर सर्वो सिस्टममा त्यस क्षेत्रको वातावरणीय डाटा ईन्ट्री हुन्छ । विभागले यही डाटा हेरेर विभागको वेवसाईडमा अपेडट गर्ने प्राविधिक उपसचिव ज्ञवालीको भनाई छ ।
मुस्ताङको जोमसोममा स्थापना गर्ने वायु गुणस्तर मापन प्रविधिले त्यस आसपासको क्षेत्रमा वायुको अवस्था बारे जानकारी दिने गर्छ ।