मुक्तिनाथधाममा गण्डकीको सभ्यता बचाउन रामनवमीदेखि बडादसैंसम्म निरन्तर महायज्ञ


जोमसोम—  हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तिर्थस्थल मुक्तिनाथधाममा रामनवमीदेखि बडादसैंसम्म निरन्तर मुक्तिनाथ महायज्ञ हुने भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाईमा चैत २४ गते रामनवमी तिथिदेखि बडादसैसम्म महायज्ञ सञ्चालन गर्ने तयारी गरिएको हो ।

मुक्तिनाथधामको प्रचार÷प्रसार तथा यस क्षेत्रमा पाईने बिष्णु भगवानको अवतार शिला शालिग्रामको सरक्षणका साथै विश्वशान्तिको कामना गर्दै राष्ट्रको समुन्नतीका लागि मुक्तिनाथ महायज्ञ चलाउने तयारी भएको हो । 

यसै उद्देश्यका साथ स्वामी कमलनयनाचार्यको नेतृत्वमा  श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीबाट प्रस्थान गरेको श्रीगजेन्द्रमोक्षनारायण—मुक्तिनाथ रथयात्रा टोली पाँचांदिन मुक्तिनाथ पुगेको छ । रथयात्रामा स्वामी कमलनयनाचार्यसहित दर्जनौ स्वामी पुजारी तथा २ सय बढी भक्तजनहरुको सहभागिता रहेको थियो । 

मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यले गण्डकीको सभ्यतालाई जोगाउन रथयात्रा तथा महायज्ञ चलाउने तयारी गरिएको बताउँनुभयो । उहाँले यसप्रकारको रथयात्रा बर्सेनि रहने र यसले हजारौ पर्यटन मुक्तिनाथ आउने दावी गर्नुभयो । मुक्तिनाथ क्षेत्र तपस्वीहरुले तपस्या गरेको स्थान भएको र यसक्षेत्रमा पाईने शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने दायित्व सबैको भएको स्वामी कमलनयनाचार्यले बताउँनुभयो ।

‘हामी जिन्दावाद र मुर्दाबादको नारामा अल्झिने छोडेर सबैले आफ्ना आफ्ना सकारात्मक कर्महरु गरेर अघि बढ्नुपर्ने बेला आएको छ’,स्वामी कमलनयनाचार्यले भने, यो रथयात्रा र महायज्ञले विश्वशान्तिको कामना र समुन्नत  नेपालको परिकल्पना गरिनेछ ।’

मुक्तिनाथका साथै शिङ्गो नेपालका लागि धार्मिक सद्भाव र पर्यटन विकासका लागि महायज्ञ ६ महिनासम्म मुक्तिक्षेत्रमा निरन्तर चल्ने स्वामी कमलनयनाचार्यले जानकारी दिनुभयो । 

 श्रीगजेन्द्रमोक्षनारायण—मुक्तिनाथ रथयात्रापछि चैत २४ गतेदेखि बडादसैसम्म महायज्ञ हुनेछ । महायज्ञमा भगवान श्रीरामको आराधना गर्दै विश्वशान्ति र राष्ट्र समुन्नतीका लागि महासंकल्प हुनेछ । वेद,पुराण, रामायण,गीता लगायतका शास्त्रहरुको पाठ परायण गरेर ६ महिनासम्म महायज्ञ सञ्चालन हुने कागबेनीधामका पुजारी प्रताप आचार्यले जानकारी दिनुभयो । महायज्ञ अवधिभर विभिन्न पाठपरायण,हवन,रामायण पाठ,बेद पाठ र उपनिसद पाठ परायण लगायत अखण्ड हरिनारायण कीर्तन हुने पुजारी आयार्यको भनाई छ ।


प्रतिक्रिया