कोरलानाका खटिएका सुरक्षाकर्मीबाट ३२ कार्टुन चीनियाँ मदिरा नियन्त्रणम

जोमसोम— (नेपाल—चीन) उत्तरी कोरलानाकाबाट ल्याईएको अवैध ३२ कार्टुन चाईनिज मदिरा सीमा क्षेत्रमा खटिएका संयुक्त सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनराज पन्तले कोरलानाकाबाट नेपाल भित्र्याईएका चाईनिज मदिरा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको पुष्टि गरे ।

सीमानाकाबाट ब्यापारिक प्रयोजनका लागि अवैंध रुपमा लटका लट चाईनिज मदिरा  ल्याउने गरेको सूचना पाएपछि त्यहाँ खटिएका प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रजिअ पन्तको भनाई छ । ‘सीमानाकामा क्वारेन्टाईन छैन,प्रयोगशाला छैन,’प्रजिअ पन्तले भने,‘ अन्तःशुल्क स्टिकरणको लेवल हुनुपर्छ, अन्तशुल्कबाट मदिराको अनुमती लिनुपर्ने हुन्छ ।’ प्रजिअ पन्तले कानुनी मापदण्ड विपरित ल्याइएको हुनाले चाईनिज मदिरा नियन्त्रणमा लिनु परेको जनाए ।

चीनबाट कोरलानाका हुँदै ल्याईएको मदिरा गुणस्तर मापन गर्न प्रयोगशालामा पठाईएको र खान योग्य भएमा अन्तशुल्क अनुमतीसहित अन्तशुल्क स्टीकरण लगाएर बेच्न पाईने प्रजिअ पन्तले जानकारी दिए ।  ल्याब परिक्षण ठिक भएमा लिलाम गरी अन्तशुल्क लिएर संम्वन्धित व्यत्तिलाई बेच्न दिईने र ल्याब फेल भएमा नष्ट गरिने प्रजिअ पन्तको भनाई छ ।

यता मुस्ताङ भन्सार कार्यालयले यस बिषयमा जानकारी प्राप्त भएको तर भन्सार कार्यालयमा पेश भईनसकेको बताएको छ । कार्यालयले नियन्त्रणका लिएको चाईनिज मदिराको खानतलासी तथा बरामद मुचुल्कासहित आवश्यक कारबाहीका लागि प्रतिवेदनसहित पेश भएपछि सोही अनुसार निर्णय हुँने जनाएको छ ।


प्रतिक्रिया