एघार महिनामा झन्डै ७ लाख पर्यटक मुस्ताङ भित्रिए

जोमसोम—  उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला )सडक यातायात सहज भएसंगै हिमाली जिल्ला मुस्ताङको पर्यटन अपेक्षाकृत रुपमा वृद्धि हुँदै जान थालेको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा दुई तिहाई सडक कालोपत्र विस्तार भएसंगै मुस्ताङमा पर्यटन आगमनदर वृद्धि हुदै जान थालेको हो ।

मुस्ताङ जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकोणले नेपालकै प्रमुख गन्तब्यको रुपमा विकास हुँदै जान थालेको छ ।

 मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड तिर्थ स्थल यहाँको मुख्य धार्मिक स्थलको रुपमा चर्चित छ । यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङ दरबार,कोरलानाका,ढुम्बाताल,घर गुम्बा,मार्फा ,जोमसोम बजार यहाँको पर्यटक लोभ्याउने पर्यटकीय गन्तब्य हुन् । पृथक भूगोल,प्राकृतिक सौन्दर्यता, जैविक विविधता ,प्राचिन गुम्बा तथा मठमन्दिरका साथै यहाँका धार्मिक,सामाजिक,सांस्कृतिक सम्पदाले मुस्ताङ जिल्ला घुम्ने पर्ने मुख्य आर्कषक पर्यटकीय गन्तब्यको रुपमा विकास हुन थालेको छ ।

 मुस्ताङ जिल्लाको यिनै धार्मिक,सामाजिक, सांस्कृतिक संस्कृतिका साथै यहाँको पृथक प्रकार भूगोल अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ जिल्लाको भ्रमण गर्न लालायित हुने गरेको पाईएको छ । विगत ५ वर्षको पर्यटकीय तथ्यांक तुलना गर्दा मुस्ताङमा दोब्बरले पर्यटक संख्या बढेको देखिन्छ ।

 यसैक्रममा चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि जेठसम्मको एघार महिना अवधिमा स्वदेशी तथा विदेशी पर्यटकगरी कुल ६ लाख ७८ हजार ५३६ जना पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । आ.व. २०८०÷०८१ को बाह्र महिना अवधिमा कुल ४ लाख ५४ हजार ३२६ जना स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । गतवर्षको तुलनामा चालु आवको एघार महिना अवधिमै २ लाख २४ हजार २१० जना अर्थात ३३ प्रतिशतले स्वदेशी तथा विदेशी पर्यटकको संख्या वृद्धि भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म  स्वदेशी ५ लाख ३९ हजार ८७२ जना र विदेशी १ लाख ३८ हजार ६६४ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेको प्रहरी नायव उपरीक्षक लामाले बताउँनुभयो । गत वर्षको बाह्र महिना अवधिमा स्वदेशी ३ लाख ५४ हजार ९२७ जना र विदेशी ९९ हजार ३९९ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेको प्रहरी नायव उपरीक्षक लामाको भनाई छ । उहाँका अनुसार गत वर्ष भन्दा चालु आव.को एघार महिना अवधिमा स्वदेशी पर्यटक ३४ दशमलव २५ प्रतिशत र विदेशी पर्यटक संख्या २८ दशमलव ३१ प्रतिशतले वृद्धि भएको हो ।

 चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्ममा स्वदेशी पर्यटकतर्फ सबैभन्दा धेरै  कार्तिक महिनामा ९९ हजार १७६ जना र  चैत महिनामा  ८९ हजार ३४४ जनाले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख छ । यसैगरी विदेशी पर्यटकतर्फ सबैभन्दा धेरै जेठ महिनामा २८ हजार ३७२ जना र बैशाख महिनामा २६ हजार २९ जना विदेशीले मुस्ताङको भ्रमण गरेको प्रहरी नायव उपरीक्षक लामाको भनाई छ ।

 मुस्ताङमा अधिकाँश पर्यटकहरु मुक्तिनाथ मन्दिरको दर्शनका साथै कागबेनीधाममा दिवंगत पितृको नाममा श्राद्ध,पिण्दान र तर्पण दिने आउने गर्छन । मुस्ताङमा मुक्तिनाथ दर्शन गर्न आउने स्वदेशी पर्यटक मध्ये एक चौथाईले उपल्लो मुस्ताङ र कोरलानाकाको भ्रमण गरी र्फिकने गरेको पाईएको छ ।

 यस्तै, मुस्ताङ जिल्लाको भ्रमण गर्न आउने विदेशी पर्यटकको सख्या मध्ये ८० प्रतिशत भारतीय पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको भनाई छ । मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले उल्लेख्य संख्यामा भारतीय पर्यटकहरु मुस्ताङ आउने गर्छन । त्यसो त मुस्ताङम कुल विदेशी पर्यटकको सख्या मध्ये २० प्रतिशत अन्य मुलुक छन् । जसमा ७२ देशका पर्यटकहरु रहेको जनाईएको छ ।


प्रतिक्रिया