थुनिएको नरसिंह खोला बग्न थाल्यो

पहिरोले थुनिएको यहाँको वारागुङ मुक्तिक्षेत्र—३ तेताङ स्थित नरसिंह खोलाको पानी ३६ घण्टापछि पुरानै लयमा बग्न थालेको छ । तेताङ स्थित प्राकृतिक नुन खानी भन्ने स्थानको विशाल खोंचमा दुईतर्फी पहिरो गएपछि शनिबार रातिदेखि छुसाङ गाउँ बिच हुँदै बग्ने नरसिंह खोलाको पानी पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो ।

छुसाङ गाउँ बिचबाट बग्ने नरसिंह खोलाको सतहमा एकाएक पानी बग्न छाडेपछि स्थानीयबासी सशंकित हुन पुगेका थिए । त्यहाँका वडाध्यक्ष बिनोद गुरुङले छुसाङ स्थित नरसिंह खोलामा पानीको सतह अवरुद्ध भएको सूचना आईतबार बिहान जानकारी गराईएको थियो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा नेपाली सेनाको टोलीले ड्रोन क्यामेरा मार्फत नरसिंह खोला अवरुद्ध भएको स्थानको खोजीकार्य अघि बढाएको थियो । सेनाको ड्रोन क्यामेराबाट खिचिएको फोटो र भिडियो रेकर्डबाट नरसिंह खोलाको पानी तेताङ स्थित प्राकृतिक नुन खानी भन्ने खोंचमा पहिरोले बाँध बनेर थुनिएका कारण पानी बग्न नसकेको पहिचान गरिएको थियो ।

सोमबार बिहानै  जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जोखिम न्यूनिकणका लागि नरसिंह खोलामा थुनिएको पानी पुरानै लयमा फर्काउने गरी सुरक्षाकर्मीलाई त्यसतर्फ पठाउँने निर्णय गरेको थियो । जोमसोम स्थित नेपाली सेनाबाट ११ जना सशस्त्र प्रहरी बलबाट ११ जना र नेपाल प्रहरीबाट दुई जना गरी २४ जना सुरक्षा टोली र स्थानीबासी लगायतको टोली तेताङ स्थित नुन खानी क्षेत्रमा पुगेको थियो ।

सेना, सशस्त्र र प्रहरीसहित स्थानीयबासीको टोलीले तेताङ स्थित नुन खानी खोंचबाट पसेर पहिरोले थुनिएको स्थानमा पुगेका वडाध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो । संयुक्त टोलीले त्यहाँ पहिरोले थुनिएर बाध परेको ढुंगा र माटोलाई आशिंक रुपमा पन्छ्याईएपछि नरसिंह खोलाको पानी पुरानै लयमा बग्न थालेको वडाध्यक्ष गुरुङले बताउँनुभयो ।

यता, मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार शनिबार राति पहिरोका कारण थुनिएको नरसिंह खोलाका पानी बग्न थालिसकेकाले सबै जोखिम हटेको बताउँनु भयो । जिल्ला सुरक्षा समिति अन्तर्गत तीन वटै सुरक्षा अंगहरुको उपस्थितीमा नुन खानीमा पुगेर पहिरो पन्छ्याईपछि नरसिंह खोलाको सतह पुरानै लयमा फर्किसकेको बताउँनुभयो ।


प्रतिक्रिया