जोमसोम
यहाँको घरपझोङ गाउँपालिका—२ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र कार्यालय पछाडी पशु खोरमा हिउँ चितुवाको आक्रमणबाट १७ वटा भेडा क्षति भएको छ । शुक्रबार बिहान स्थानीय पशुपालक किसान सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेर उक्त संख्यामा भेडा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ ।
स्थानीय पशुपालक परियारको परम्परागत खोर भित्र मध्यराति कच्ची ढोकाको बार तोडेर हिउँ चितुवा पसी भेडा क्षति बनाएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । हिउँ चितुवाले आक्रमण गरी भेडा क्षति हुँदा परियारलाई करिव पाँच लाख बराबरको नोक्सान पुगेको एक्याप प्रमुख गुप्तले बताउँनुभयो ।
एक्याप कार्यालय अनुसार मार्फा स्थित स्थानीय पशुपालक किसान परियारको यसअघि गत मंसिर २६ गते पनि हिउँ चितुवाले पशुधन माथि आक्रमण गर्दा १९ वटा च्यांग्रा क्षति भएको थियो । त्यससमय परियारलाई पशुधन क्षति हुँदा करिव ६ लाख बराबरको नोक्सान भएको थियो ।
हिउँ चितुवा पीडित किसान परियारले पालेका करि २०० बढी भेडाच्यांग्रा उक्त घटनापछि च्यांग्राको बथानबाट छुट्याएर भेडाको बथानलाई अर्को गोठमा सारेका थिए । सारिएको गोठमा पनि कमजोर पूर्वाधारका कारण हिउँ चितुवा खोरमा पसेर परियारको पशुधनमा क्षति पु¥याएको कार्यालय प्रमुख गुप्तले बताउँनुभयो ।
हिउँ चितुवाले पशुधनमा क्षति पु¥याएपछि एक्याप जोमसोमका कर्मचारीहरु घटनास्थलको निरीक्षण तथा आवश्यक अनुसन्धान र घटनास्थलको विवरण संकलन गर्न हिउँ चितुवा पीडित परियारको खोरमा पुगेका थिए । एक्यापका प्रारम्भिक अनुसन्धानमा परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवाले नभई चितुवाले आक्रमण गरी पशुधनमा क्षति पु¥याएको हुनसक्ने बताईएको छ । मार्फा स्थित पशुपालक किसान परियारको ३५ दिनको फेरोमा दुईपटक गरी हिउँ चितुवाले ३६ वटा भेडाच्यांग्रा क्षति पु¥याएको हो । योसंगै परियारलाई करिव एघार लाख बढीको नोक्सान भएको एक्याप जोमसोमले उल्लेख गरेको छ ।
एक्याप जोमसोमले पीडित पशुपालकलाई वन्यजन्तु क्षति राहत निर्देशिका बमोजिम क्षति राहत रकम उपलब्ध गराउने आवश्यक प्रक्रिया अघि बढाउने जनाईएको छ । मुस्ताङमा हिउँ चितुवा लगायतका वन्यजन्तु र अनाधिकृत भुस्याहा कुकुरको जोखिमले पशुपालक व्यवसायी गरी बसेका किसानलाई निकै सास्ती दिइरहेको छ । पछिल्लो समय हिउँ चितुवा आहारा प्रजाती पछ्याउँदै स्थानीय पशुपालकको च्यांग्रा गोठ र खोरमा पशुधनको क्षति हुने घटनाहरु बढ्दै जान थालेको छ ।
पशुधनको सुरक्षित बासस्थानका लागि भरपर्दो पूर्वाधार नहुने भएकोले पशुपालकहरुले सुरक्षित खोर सुधारतर्फ ध्यानदिनुपर्ने आवश्यक रहेको एक्यापले जनाएको छ । पछिल्लो समय हिउँ चितुवा र मानवबीचको द्धन्दले स्थानीय पशुपालक व्यवसाय संकटमा पर्दै जान थालेको छ । हिउँ चितुवा र मानवबीचको सहअस्तित्व निर्माण गर्ने दिगो र सुरक्षित संरचना निर्माण हुन आवश्यक रहेको छ ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका उच्चलेंकमा घाँसको अभाव हुँदा आहारा प्रजाती बस्ती नजिक झर्ने र सोही आहार प्रजाती पछ्याउँदै वस्तीसम्म आउँदा पशुपालकको पशुधनमा हिउँ चितुवा लगायतका वन्यजन्तुले क्षति पु¥याउने गरेको पाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली