ओखरको बोट र ‘लुडाक’ को कथा
जोमसोम ।।।
राष्ट्रिय गौरवको (जोमसोम—कोरला)मुख्यराजमार्ग सडक अन्तर्गत मुस्ताङको पान्डाखोलादेखि पूर्वतर्फ मोडियो भने तीन किलोमिटर दुरीमा ऐतिहाँसिक तथा धार्मिक महत्वको ‘लुडाक’ गाउँमा पुग्न सकिन्छ । मुख्य राजमार्ग सडकबाट योगाउँमा पुग्न सवारीसाधन चढेर जाँदा १० मिनेटमा पुग्न सकिन्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ वडामा पर्ने लुडाक गाउँको पछिल्लो विकशित नाम हो ‘लुप्रा’ गाउँ ।
झन्डै २ हजार पाँच सय वर्षअघि मुस्ताङको लुढाक उर्फ लुप्रा गाउँमा कुनै मानव वस्ती बसेको थिएन । त्यसबेला अग्लो डाँडाको फेंदमा यो ठाउँ भिरालो खुल्ला पठार जस्तै थियो । बस्ती बस्नु अघि त्यहाँ माथिल्लो भागमा अग्लो पडाड र बस्तीको तल ठाँडो खोला थियो । त्यही पहाडको फेंदमा वस्ती र तल ठाँडो खोलाबीचमा लुढाक मानव वस्ती बसेको धार्मिक किवदन्ती छ ।
तिब्बतबाट एक लामा धार्मिक योगसाधनाका लागि उपयुक्त बासस्थान खोज्दै खोज्दै त्यही नागको बासस्थान रहेको पहाड लुढाक भन्ने स्थानमा पुगे । त्यहीको गुफा ओढारमा बसेर ति तिब्बती लामाले ध्यानसाधना गरे । उनी त्यहाँ ध्यान साधनामा रहँदा भुतप्रेत र नागहरुले निकै दुःख दिने गथ्र्ये । निकै ठुलो तान्त्रिक क्षमता भएका ति तिब्बतीय लामाले लुडाकमा छाउँने गरेका भुतप्रेत र नागहरुलाई तान्त्रिक शक्तिबाट ‘फु’ गरेर धपाए ।
लु—भनेको नाग र ढाक भनेको भीर भन्ने गरिन्छ । नाग रहेको पहाडलाई तिब्बती भाषामा लुढाक भन्ने गरिएको हो । लामा त्यही लुढाकमा ध्यान गर्दै गर्दा उनले उपल्लो मुस्ताङबाट एक स्त्रीसंग बिवाह गर्न पुगे । त्यसपछि ति तिब्बती तान्त्रिक क्षमता भएका लामाले एक पुत्र जन्माए । ति तिब्बती लामाको छोराको नाम थियो टसी ग्याल्जेन । त्यसबेलासम्म लुडाकमा कुनै मानव वस्ती बसिसकेको थिएन ।
बोन लामा टसी ग्याल्जेन पनि निकै ठुलो तान्त्रिक शक्ति प्राप्त गरेका लामा थिए । लामा ग्याल्जेनले त्यहाँको लुढाकको भिरालो स्थानमा मानव वस्ती बसाल्न योग्य छकी छैन भन्ने जाँच्न अचम्मको परीक्षण गरे । लामा ग्याल्जेनले लुढाकमा सियोले जमिन कोपेर ओखरको बोट रोपेर डोको छोपे । यहाँ मावन वस्ती बस्न योग्य भए ओखरको बोट उम्रने र वस्ती वस्न योग्य छैन भने ओखरको बोट नउम्रने भनेर वस्ती बसाल्न धार्मिक परीक्षण गरे । नभन्दै लामा ग्याल्जेनले सियो कोपेर रोपेको ओखरको विरुवा ७ दिनपछि खोलेर हेर्दा उम्रिएको पाईयो । त्यसपछि तिनै लामाले लुढाकमा वस्ती बसालेको बोन लामा घेसे सोनामले सुनाउँनुभयो ।
ओखरको बोटले वस्ती बसेको लुढाक गाउँमा अझै पनि त्यसबेला रोपण गरेको ओखरको विरुवा जिवितै अवलोकन गर्न सकिन्छ । यो ओखरको बिरुवा झन्डै दुई हजार पाँच सय बर्ष अघि तान्त्रिक क्षमता भएका लामा ग्याल्जेनले वस्ती बसाल्न रोपण गरेको ओखरको बोट हो । अहिले ओखरको बोटलाई संरक्षणक लागि घेराबार गरी राखिएको छ ।
लुढाक वरिपरी भुुतप्रेत र नागहरुको बासस्थान थियो । तिब्बतीले भुतप्रेत र नागहरुलाई तान्त्रिक शक्तिबाट नियन्त्रणमा लिएपछि त्यहाँ भुतप्रेत र नागहरुको आतंक नियन्त्रण भएको भन्ने भनाई छ । मुस्ताङको लुढाक गाउँका स्थानीयले अहिले पनि बर्सेनि नाग भिरमा पुगेर धार्मिक पुजाआजा गर्छन । भीरमा पत्थरको रुपमा विराजमान भएका नागहरुले लुडाक गाउँको रक्षा गर्ने धार्मिक जनविश्वास रहेको लामा घेसे सोनामको भनाई छ । तिब्बती लामाले भुतप्रेत धपाएकाले त्यहाँको लुढाक गाउँको उत्तरतर्फको पहाडमा तीन वटा गुफा अर्थात ओढारहरु छन् । त्यही ओढारमा मेडिटेसन अर्थात ध्यानयोगका लागि उपयुक्त स्थानको रुपमा लिने गरिन्छ ।
त्यसो त तिब्बती लामाका छोरा लामा ग्याल्जेन निकै ठुलो शक्तिशाली र तान्त्रिक क्षमता भएकाले त्यसबेला मुस्ताङको घरपझोङ—५ ठिनीका राजाले सम्वन्ध स्थापित गर्न थाले । त्यसबेला लुढाक गाउँ र त्यसक्षेत्रमा पर्ने बनजंगल सबै मुस्ताङको ठिनीका राजाको नियन्त्रणमा थियो । लामा ग्याल्जेन निकै शक्तिशाली भएकाले ठिनीका राजाले आफुलाई समस्या पर्दा सहयोग गर्नुपर्ने र लुढाकमा फल्ने काठको भुम्बुली दिनुपर्ने सर्त राखेर लुढाकको बस्ती रहेका जग्गा र लेंक जगल शक्तिशाली लामा ग्याल्जेनलाई चढाए । त्यहाँ ओखरको बिरुवा उम्रिएको र ठिनीका राजाले जलजमिन चढाएकाले त्यहाँ मावन वस्ती बसेको भन्ने धार्मिक जनविश्वास रहेको लामा घेसे सोनामको भनाई छ ।
मुस्ताङको लुढाक उर्फ लुप्रा वस्ती झन्डै दुई हजार पाँच सय वर्ष पुरानो मानिएको छ । त्यसबेला लुढाक गाउँको खेतीयोग्य जमिन निकै ठुलो क्षेत्रफलमा फैलिएको थियो । तर बर्सेनि लुप्रापान्डाको खोलाको कटानले गर्दा त्यहाँको ठुलो खेतीयोग्य जमिन बगरमा परिणत भएको स्थानीयबासीको भनाई छ । लुप्रा गाउँमा हाल १२ घरधुरीको बसोबास रहेको स्थानीय छिरिङ गुरुङले जानकारी दिनुभयो । गाउँमा करिव १५० जनाको जनसंख्या रहेपनि धेरै युवाहरु विदेश पलायन भइसकेकाले अहिले गाउँमा करिव ६०÷६५ जना मात्रै जनसख्या रहेको स्थानीय गुरुङको भनाई छ । लुढाक उर्फ लुप्रा गाउँलाई बोन गाउँको रुपमा लिने गरिन्छ । त्यहाँका अधिकाँशले बोन धर्म मान्ने गरेको स्थानीय गुरुङको भनाई छ । गाउँमा रहेका स्थानीयको जिविकोपार्जको स्रोत भनेकै कृषि ,पशुपालन र केहीले होटल चलाएर बसेका छन् । लुढाक गाउँ अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत मुक्तिनाथबाट लुढाक गाउँ हुँदै निस्किने पर्यटकीय पदमार्ग रहेकाले कतिपय विदेशी पर्यटक लुप्रा हुँदै ठिनी गाउँमा निस्कन्छन् ।
लुढाक गाउँमा स्याउ ,आलु,फापर,उवा, जौ र हरियो सागसब्जी राम्रो उत्पादन हुन्छ । गाउँमा चार होटल पर्यटक लक्षित होटल सञ्चालनमा रहेको छ । गाउँमा बोन धार्मिक गुम्बा छ । त्यहाँ कठिन परिस्थितीका बालबालिकाहरु बोन शिक्षासहित सरकारी विद्यालयमा पढाईने शैक्षिक पठन÷पाठन हुने गर्छ । गुम्बाका बालबालिकाहरु सरकारी त्यहाँको सरकारी स्कुलमा पढ्ने र त्यसपछि बोन गुम्बाको होस्टेलमा बसेर पढ्ने गर्छन ।
ओझेलमा लुढाक गाउँ
पर्यटकीय दृष्ट्रिकोणले अथाह सम्भावना हुँदा हुँदै पनि मुस्ताङको ‘लुढाक’ गाउँ ओझेलमा परेको छ । कहिलेकाँही आकल झुकल विदेशी पर्यटकको उपस्थिती हुने गरेपनि आन्तरिक पर्यटक भने लुढाक गाउँमा पुग्न सकेका छैनन । प्रचार÷प्रसारमा कमि हुँदा राष्ट्रिय राजमार्ग नजिकै हुँदा पनि मुस्ताङ आउने अधिकाँश पर्यटक लुढाक गाउँको बारेमा बेखबर हुँदा लुप्रा गाउँ ओझेलमा परेको हो ।
लुढाक उर्फ लुप्रा गाउँ नजिकै तीन वटा गुफा अवस्थित रहेका ध्यानयोगका लागि यो स्थान उपयुक्त भएको स्थानीय छिरिङ गुरुङले जानकारी दिनुभयो । ‘विदेशी पर्यटकहरु यहाँ आएर ध्यानयोग गर्न रुचाउने गर्छन, विदेशीहरु गुफामा बसेर ध्यान गर्न आउने क्रम चलिरहेके छ,ट्रेकिङ पदमार्ग पनि यही गाउँ हो’, गुरुङले थप्नुभयो,‘ यहाँ स्थानीयले होमस्टे पनि चलाएका छन् ,केहीले होटल पनि खोलेका छन् ।’ स्थानीय गुरुङले लुढाक गाउँ साईक्लिङ ट्रेलका लागि पनि महत्वपूर्ण पदमार्ग रहेको बताउँनुभयो ।
मुस्ताङको लुढाक गाउँबाट निलगिरी र धौलागिरि हिमाल, उपल्लो मुस्ताङ र मुस्ताङ—डोल्पा सिमाना साङ्ता गाउँको समेत सजिलै दृष्यावलोकन गर्न सकिने गुरुङले उल्लेख गर्नुभयो ।
धार्मिक तथा ऐतिहाँसिक रुपमा निकै ठुलो महत्व बोकेको मुस्ताङको लुढाक गाउँलाई पर्यटकीय हबको रुपमा विकास गर्न सरकारले ध्यानदिनुपर्ने स्थानीय लामा छोल्डेन गुरुङले बताउँनुभयो । यसका लागि हालको कच्ची सडक विस्तार र पर्यटकीय पूर्वाधारहरुको स्तरोन्नति आवश्यक रहेको लामा गुरुङको भनाई छ । मुख्य राजमार्गबाट क्षणभरमै पुग्न सकिने लुढाक गाउँमा पुग्दा पर्यटकले निकै आनन्दको महसुश गर्न पाउँछन् । लुढाकको उत्तर÷दक्षिण दिशामा रहेका अग्ला अग्ला पहाडको खोंचमा बस्ती रहेकाले लुढाक गाउँ पुग्ने पुग्ने जोकोही पर्यटक मोहित नहुने कुरै भएन ।
सदिंयौ वर्ष पुराना ऐतिहाँसिक ढुगा र माटोले निर्मित लुढाक गाउँका परम्परागत घरहरु निकै आर्कषित देखिने गर्छ । गाउँ भित्रको पर्यटकीय पदमार्ग गल्लीको पदयात्रा पर्यटकका लागि निकै अविष्मणरणीय बन्छ । भिरालो सतहमा एक आपसमा गुजमुच्च परपम्परागत घरहरुको छत मार्थि लस्करै पाँजिएर राखिएको दाउँरा र त्यहाँका घर माथि गाँडिएको बुद्धिस्ट झन्डा (लुङ्ता)ले लुढाक गाउँको सुन्दरतालाई झनै घनिभुत तुल्याएको छ । गाउँ माथिको अग्लो स्थानमा स्तुपा निर्माण भएको छ । बोन धर्म सम्वन्धि विभिन्न खोजअनुसन्धान र मेडिटेसन .ध्यान योग साधनाका लागि पनि लुढाक गाउँ आफैमा महत्वपूर्ण स्थानको रुपमा लिने गरिएको छ ।
मुस्ताङको लुढाक गाउँलाई बर्सेनि नजिकैको ठाँडो लुप्रा खोलाले निकै सास्ती दिने गरेको छ । बसेनि ठाँडो खोलाको कटानले लुढाक गाउँको खेतीयोग्य जमिन पातलिदै जान थालेको स्थानीय बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली