मुस्ताङका स्याउ बोटमा फूल फूलेर सेताम्मे

मुस्ताङ,३, बैशाख

हिमाली जिल्ला मुस्ताङका स्याउ बगैचाका बोटहरुमा फूल फूलेर सेताम्मे बन्न थालेका छ । हिउँदयाम सकिएर तापक्रम वृद्धि हुँदै जान थालेपछि यहाँका पाँच स्थानीय तहमा कृषकको  बगैचा भित्रको स्याउ बोटहरु फूल फूलेर सेताम्मे हुँदै जान थालेको हो ।

यहाँका स्याउ बगैचाका बोटहरुमा स्याउको फूल फूल्न थालेपछि थप प्राकृतिक सौन्दर्यता थपिएका छन् । स्याउ बोटहरुमा फूलेका स्याउका फूलहरुले स्थानीय किसानलाई समेत निकै उत्साहित तुल्याएको छ । स्याउको राजधानीका रुपमा परिचित हिमाली जिल्ला मुस्ताङमा बैशाख मििहना लागेसंगै स्याउ बोटहरुमा छपक्कै फूल फूल्न थालेको हो ।

यहाँ स्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक सेरबहादुर रावतले गर्मी बढेसंगै मुस्ताङका स्याउ बोटहरुमा फूल फूलेर सेताम्मे हुन थालेको बताउँनुभयो । स्याउलाई एकदमै चिलिङ (चिस्यान)को आवश्यकता पर्ने प्राविधिक सहायक रावतको भनाई छ । स्याउलाई शीतोष्ण प्रदशीय फूलफूलको राजा भन्ने गरिएको उहाँको भनाई छ । स्याउको फूल र फल लाग्न १००० घण्टा अर्थात ४५ दिनको समय ७ डिग्री सेल्सियस भन्दा कम तापक्रमको आवश्यकता पर्ने पर्दछ । त्यसपछि स्याउको फूल पूmल्ने र फल लाग्ने समयमा तापक्रम न्यूनतम १० डिग्री देखि २० डिग्री सेल्सियससम्म तापक्रम आवश्यकता पर्ने प्राविधिक सहायक राउतले उल्लेख गर्नुभयो । मुख्यगरी असोज र कार्तिक महिनामा स्याउको पोस्ट हार्भेस्ट गरिएपछि स्याउ बोटको काँटछाँट लगायत स्याउको बगैचा व्यवस्था गरेपछि बर्सेनि चैत्र र बैशाख महिनामा स्याउको फूल फूल्ने प्राविधिक सहायक राउतले सुनाउँनुभयो ।

 स्याउको गुणस्तर तथा उत्पादन वृद्धिका लागि स्याउ बोटमा फूल फूल्ने बेला पोलिनेशन (परागसेचन) आवश्यकता पर्दछ । स्याउका कतिपय प्रजातीहरु स्वतः प्राकृतिक रुपमा परागसेचन हुने र कतिपय स्याउका जातहरुलाई पर परागसेचनको आवश्यकता पर्दछ । पर परागतसेचनका लागि हावाहुरी र मौरीको भूमिका महत्वपूर्ण हुन्छ । एक हेक्टर स्याउको क्षेत्रफलमा करिव ६ देखि ८ वटा सम्म मौरी घारको व्यवस्थापन गर्न सकिएमा स्याउको उपयुक्त परागसेचन भई उत्पादन र गुणस्तर बढाउने प्राविधिक सहायक राउतले उल्लेख गर्नुभयो ।

 मुस्ताङमा चालु वर्ष ६÷७ पटकसम्म वर्षा र हिमपात भएको भएपनि स्याउ बोटमा फूल फूल्ने बेलामा प्रतिकूल मौसम, वर्षा र हिमपातले असर पु¥याउने गर्छ । स्याउको फूल फूल्ने समयलाई शीतोष्ण फूलफूलका लागि निकै संम्वेदनशील समयको रुपमा लिने गरिएको छ । जिल्लाको लोमान्थाङदेखि तल्लो मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रका स्याउ बगैचाका बोटहरुमा फूल फूलेर सेताम्मे भईसकेको छ । स्याउको एक स्फरमा ७ वटा सम्म फूल फूल्ने गर्छ । अनाधिकृत स्याउका हाँगाहरुमा फूल फूलेमा प्राविधिकको रुपम आवश्यक फूलहरु रहने गरी फूललाई स्थापित गर्नुपर्ने कृषि तथा पशु शाखा मुस्ताङले उल्लेख गरेको छ ।

घरपझोङ—४ जोमसोमका किसान भूपेन्द्र शेरचनले स्याउको फूल फूल्ने बेलामा मौसमले पूर्ण रुपमा साथ दिनुपर्ने बताउँनुभयो । स्याउ बोटमा परागसेचन हुने समयमा वर्षा र तुषारोले स्याउको गुणस्तरमा असर पु¥याउने किसान शेरचनको भनाई छ । स्याउ बोटमा अझै पूर्ण रुपमा फूल फूल्न एक साता समय लाग्ने उहाँको भनाई छ ।

 मुस्ताङका किसानलाई स्याउ खेतीमा अनुदान लगायत किसानलाई स्याउ खेतीको बारेमा जानकारी गराएर यहाँका कृषिसंग सम्वन्धित सरकारी निकायहरुले प्रशिक्षित तुल्याउने गरेको उहाँले जानकारी दिनुभयो । मुस्ताङ जिल्ला स्याउ खेतीका लागि निकै प्रचूर सम्भावना रहेकाले सरकारले स्याउ खेतीका लागि खेर गईरहेका सरकारी बाँझो जग्गाहरुलाई लिजको दायरामा ल्याउने नीति बनाउन आवश्यकत रहेको किसान शेरचन बताउँनुहुन्छ । रोजगार उपलब्ध नहुँदा धेरैजसो युवाहरु विदेश पलायन हुने गरेको बताउँदै किसान शेरचनले सरकारले सरकारी जग्गालाई नाप नक्सा गरी उपयोगमा ल्याउन सकेमा किसानको आयश्रोतमा वृद्धि हुने र यसबाट सरकारले पनि राजश्व संकलन गर्नमा टेवा पुग्ने उहाँले बताउँनुभयो ।

मुस्ताङका पाँच स्थानीय तहमा गरी स्याउको कुल ८९९.१६ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । यहाँ स्थानीय परम्परागत स्याउ ८३७.१६ हेक्टरमा र ईटालीबाट आयात गरिएको उच्चघनत्व प्रविधिको हाईब्रिड स्याउ ६२ हेक्टर क्षेत्रफलमा गरिएको कृषि तथा पशु सेवा शाखा मुस्ताङको तथ्यांकमा उल्लेख छ । जसमध्ये स्याउको उत्पादनशील क्षेत्र स्थानीय जातका स्याउ ५७२ हेक्टर र हाईब्रिड स्याउ ५५ हेक्टर रहेको छ ।


प्रतिक्रिया