हिउँदको चिसोमा मुक्तिनाथको सरसफाई

जोमसोम— मुस्ताङमा कार्यरत सुरक्षाकर्मीले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको सरसफाई गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङ र सशस्त्र प्रहरी बल ३३ नं. गुल्म जोमसोमको संयुक्त आयोजनामा शुक्रबार हिउँदको चिसोयाममा मुक्तिनाथको पूर्ण सरसफाई गरेका हुन् । 

मुक्तिनाथ क्षेत्रमा भक्तजनहरुले अनाधिकृत तवरले मिल्काईएका फोहोरमैलालाई मुस्ताङमा कार्यरत सुरक्षाकर्मीहरुले सरसफाई गरी ुस्वच्छ सफा तुल्याएका छन् ।  नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ३३ नं. गुल्मका ३४ जना सुरक्षाकर्मी लगायतको टोली मुक्तिनाथ मन्दिरको पूर्ण सरसफाई गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर बोगटीले जानकारी दिए । उनका अनुसार सुरक्षाकर्मीले मुक्तिनाथको पहिलो प्रवेशद्धारदेखि मुक्तिनाथ मुख्य प्रवेशद्धार हुँदै मुक्तिनाथ मन्दिर भित्र र बाहिरको परिसरमा सरसफाई गरिएको हो । सरसफाईकार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु उपकरण साथै लिएर त्यहाँ पुगेका थिए ।

 सुरक्षाकर्मीले मुक्तिनाथ मन्दिर ,क्लोथ चेन्जिङ रुम, शौचालय ,१०८ धाराको परिसर, स्नान कुण्ड र मन्दिरको भित्री र बाहिरी परिसरमा झाडु लगाएर सरसफाई गरेको डिएसपी बोगटीले बताए ।

कुनै बेला मुक्तिनाथ मन्दिरमा भक्तजनले फालेको फोहोर व्यवस्थापन हुन नसकी छरपष्ट हुँदा धार्मिक क्षेत्र मुक्तिनाथ दुर्गन्धित र प्रदुषण बढेको थियो । मुक्तिनाथ पुग्ने कतिपय धार्मिक तिर्थालुले मुक्तिनाथको व्यवस्थापकीय पक्षप्रति कटाक्ष गर्दै प्रश्न गर्ने गथ्र्ये ।

 त्यसो त मुक्तिनाथ मन्दिरमा सुरक्षाकर्मी टोलीले बेलाबेलामा मुक्तिनाथ क्षेत्रको सरसफाई गर्ने गरिएको छ । मुक्तिनाथ विकास समितिले २ जना सरसफाईकर्मी कर्मचारी तलब दिएर व्यवस्थापन गरेको भएपनि भक्तजनको चापले गर्दा दिनहुजसो मुक्तिनाथमा बग्रेल्ती फोहोर जम्मा हुने गरेको छ । मुक्तिनाथमा भक्तजनहरुले पनि जथाभावी फोहोर मिल्काउने परिपाटीले गर्दा मुक्तिनाथमा फोहोर व्यवस्थापन चुनौती हुने गरेको छ ।

हिउँदयाममा पर्यटकको चाप कम हुने भएपनि बर्खायामको मौसममा मुक्तिनाथ मन्दिरको दर्शन गर्न हजारौ श्रद्धालु भक्तजनहरु मुक्तिनाथ पुग्ने गर्छन । राष्ट्रिय गौरवको  बेनी—जोमसोम—कोरला सडक सहज भएसंगै मुक्तिनाथमा धार्मिक तिर्थालुहरुको घुईचो बर्सेनी बढ्दै गईरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । उनका अनुसार मुक्तिनाथमा बर्सेनि ५ लाख भन्दा बढी भारतीय तथा स्वदेश भक्तजनहरु मुक्तिनाथको दर्शन गर्न आउने गरेका छन् ।

 सडक यातायात सहज भएसंगै मुक्तिनाथमा धार्मिक तिर्थालुहरु बढेकाले मुस्ताङको पर्यटन व्यवसायले गति लिन थालेको छ । मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आउने कतिपय पर्यटक कोरलानाकासम्म पुग्ने गरेको पाईएको छ ।


प्रतिक्रिया