समून्द्री सतहको चार हजार ९१९ मिटर अग्लो उचाईमा अवस्थित तिलिचो ताल पदमार्गको नमखुखर्कमा पर्यटक आश्रय स्थल निर्माण गरिएको छ । मुस्ताङको जोमसोमबाट ठिनी ,नमखुखर्क, मेसोकोन्दो पास हुँदै तिलिचो ताल जान सकिने पर्यटकीय पदमार्गको नमखुखर्कमा राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले पर्यटक आश्रय स्थल निर्माण गरेको हो ।
मनाङ जिल्लाको निस्याङ गाउँपालिकामा अवस्थित विश्वकै उच्चस्थानमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकहरुलाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा लिने गरिन्छ । मनाङबाट भन्दा मुस्ताङको जोमसोमबाट ठिनी हुँदै तिलिचो जाने पर्यटकीय पदमार्ग निकै छोटो दुरीको सहज पर्यटकीय पदमार्ग हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एक्याप जोमसोमले चालु आवको वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाह्र लाख ३५ हजार ५५० रुपैया लागतमा मुस्ताङको घरपझोङ—५ स्थित नमखुखर्क लेंकमा ५० जना पर्यटक अट्नसक्ने क्षमताको आश्रय स्थल निर्माण गरिएको प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जानकारी दिनुभयो । पर्यटक आश्रय स्थल निर्माणका लागि एक्यापबाट दश लाख रुपैया र संरक्षण क्षेत्र व्यवस्थापन समितिको दुई लाख ३५ हजार रुपैया लागत साझेदारीमा नमखुखर्कमा पर्यटक आश्रय स्थल निर्माण भएको उहाँले बताउँनुभयो ।
उक्त स्थानमा केहीवर्षअघि एक्याप जोमसोमले निर्माण गरेको पर्यटक आश्रयस्थल जीर्ण बन्दै गईरहेकाले नयाँ पर्यटक आश्रय स्थल निर्माण गरिएको प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले उल्लेख गर्नुभयो । आश्रय स्थल निर्माण भएसंगै मुस्ताङको जोमसोमबाट ठिनी हुँदै तिलिचो तालको पदयात्रा गर्ने पर्यटकलाई निकै सहज हुने उहाँले बताउँनुभयो ।
एक्याप र संरक्षण व्यवस्थापन समिति जोमसोम मार्फत नमखुखर्कमा निर्माण गरिएको पर्यटक आश्रय स्थललाई आगामीदिनमा थप व्यवस्थित गर्दै लगिने भएको छ । आश्रय स्थलमा पर्यटकले खाने बस्ने प्रवन्धका किचन र डाईनिङ हल लगायतको व्यवस्थापन गरी कफी सप खोल्न मिल्ने सरचना तयार गरी समुदायलाईनै लिजमा लगाउन सकिने लक्ष्य राखिएको छ ।
यसैगरी एक्याप जोमसोम र संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी)ले उक्त तिलिचो पर्यटक पदमार्गको अप्ठ्यारो र खोल्साखोल्सीहरुमा पदमार्गको मर्मत तथा स्तरोन्नति समेत गरेको प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले बताउँनुभयो । तिलिचो पदमार्गको नमखुखर्कदेखि माथि करिव ३०० मिटर जीर्ण पदमार्गमा ग्याविक वाल प्रयोग गरी पदमार्ग एप्रोज निर्माण गरिएको छ भने पदमार्गको खोल्सामा एक काठेपुल निर्माण गरिएको छ ।
निकै कठिन र जोखिमपूर्ण भुगोेलको अप्ठयारो पदमार्गको मर्मत तथा स्तरोन्नतिका लागि एक्याप कार्यालयबाट चालु वर्ष चार लाख ८० हजार र ५७ हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति जोमसोमको पाँच लाख ३७ हजार रुपैया खर्चिएर तिलिचो पदमार्गको मर्मतसुधार गरिएको एक्याप जोमसोमले उल्लेख गरेको छ ।
मुस्ताङबाट सबैभन्दा छिटो र सहज यात्रा गर्न सकिने तिलिचो पदमार्गको जानकारी नहुँदा उक्त पदमार्गमा पर्यटकको पदयात्रा कम हुने गरेको छ । बर्सेनि हिमपहिरो र सुख्खा पहिरोका कारण तिलिचो पदमार्ग बिग्रने र भत्किने भएपनि एक्याप जोमसोम र सरक्षण व्यवस्थापन समितिले मर्मत सुधारका कार्यहरु गर्दैआईरहेका छन् । यस्तै, एक्याप जोमसोमले गतवर्ष मुस्ताङको ठिनी हुँदै नमखुखर्क र मेसोकोन्दो पास लगायतको क्षेत्रमा पर्यटक सूचनामूलक साईनबोर्ड राखिसकेको छ । जसमा पदमार्ग उचाई,पदमार्ग चिन्ह, लेंक लाग्ने जोखिम र फोहोरमैला व्यवस्थापन लगायतका बिषयमा पर्यटक सूचना बोर्ड राखेको प्राकृतिक स्रोत संरक्षण सहायक ओलीले जानकारी दिनुभयो ।
सदरमुकाम जोमसोमबाट ठिनी हुँदै सवारी साधन मार्फत पैतालिस मिनेटमा नमखुखर्क स्थित भ्रप्सोमा पुग्न सकिन्छ । त्यहाँबाट नमखुखर्कको पर्यटक आश्रय स्थलमा ३० मिनेटमै पैदल दुरी तय गर्न सकिन्छ । नमखुखर्कबाट करिव पाँच घण्टाको उकालो पैदलयात्रा गर्दै समून्द्री सतहको पाँच हजार २४५ मिटरको मेसोकोन्दा पास छिचोलेर एक घण्टाको समयमा तिलिचो ताल गन्तब्यमा पुग्न सकिन्छ । एक्याप कार्यालयका प्राकृतिक स्रोत संरक्षण सहायक ओलीका अनुसार मुस्ताङबाट एकैदिन तिलिचो ताल पुगेर जोमसोम फर्किने सकिने भएपनि नमखुखर्कबाट तिलिचो ताल एकैदिन आउजाउ गर्न पर्यटकलाई सहज हुने बताउँनुभयो ।
मुस्ताङबाट तिलिचो पदयात्रा गर्ने पर्यटकहरुले निलगिरि र धौलागिरि हिमाल लगायतको दृष्यावलोकन गर्न सकिन्छ । यसैगरी तिलिचो पदमार्गमा वन्यजन्तुको गतिविधि र याकचौरीको वासस्थान क्षेत्र लगायतको अवलोकन गर्न सकिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता