चिसोबाट जोगिन मुस्ताङ प्रहरी ईकाईलाई प्राथमिक उपचार बक्स सहयोग

जोमसोम—जिल्ला प्रहरी कार्यालय मुस्ताङ अन्तर्गत जिल्लाका ४ वटा प्रहरी ईकाईलाई १६ प्रकारका औषधि वितरण गरिएको छ । हिउँदयामको अत्यधिक चिसोका कारण मुस्ताङमा कार्यरत सुरक्षाकर्मी तथा मुस्ताङ भ्रमण गर्ने पर्यटकको स्वास्थ्यमा समस्या पर्ने भएकाले  ब्लु क्रस अस्पताल त्रिपुरेश्वर काठमान्डौंले १६ प्रकारका औषधिसहितको स्वास्थ्य सामाग्री जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई पठाएको थियो ।


मुस्ताङ प्रहरीलाई पठाईएको औषधिसहितको ४ थान प्राथमिक उपचारसहितको औषधि बक्स जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे मार्फत वितरण गरिएको हो । चिसोका कारण हुँने रुघाखोकी लगायतका समस्याबाट सहज रुपमै उपचार प्राप्त गर्न सकियोस भन्ने उद्देश्यले  जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई त्रिपुरेश्वर अस्पतालले सामान्य प्राथमिक उपचारका लागि औषधि उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।

मुस्ताङ प्रहरीलाई प्राथमिक उपचारका लागि प्राप्त औषधिसहितको बक्स प्रहरी चौकी घाँसा,कागबेनी ,कोवाङ र ईलाका प्रहरी कार्यालय मुक्तिनाथलाई एक÷एक थान वितरण गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । पर्यटक आवागमन हुँने र चिसोयाममा समेत निरन्तर खटिरहनु पर्ने भएकाले प्राथमिकताका आधारमा ४ प्रहरी ईकाईलाई औषधि वितरण गरिएको हो ।

 हिउँदयामसंगै मुस्ताङमा अत्यधिक चिसो बढेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा माईनस २० डिग्री र तल्लो मुस्ताङ क्षेत्रमा माईनस १० डिग्री तापक्रममा झरेको छ ।जिल्लाका अधिकाँश नागरिक र कर्मचारी जाडो छल्न बेसी झरेसकेका छन् । यद्यपी मुस्ताङका सुरक्षाकर्मीले भने अत्यधिक चिसोका बावजुद सुरक्षाकर्मीमा खटिरहेका छन् । चिसोले सुरक्षाकर्मी र जिल्ला भित्रिने पर्यटकहरुलाई हाईअल्टिच्युड तथा रुघाखोकी र निमुनिया हुँने बढी सम्भावना रहन्छ । यसैका कारण प्रहरी ईकाईलाई प्राप्त १६ प्रकार औषधिले निकै ठुलो सहयोग पुगेको प्रहरी नायब उपरीक्षक पाण्डेले उल्लेख गरे ।


प्रतिक्रिया