धार्मिक ,आध्यात्मिक तथा साहसिक पदयात्राले महत्वपूर्ण गन्तब्य दामोदरकुण्ड तीर्थस्थल मुस्ताङको लोघेकर स्थित दामोदरकुण्ड पदयात्रामा संञ्चारको असुविधा हुँदा धार्मिक तीर्थालुहरुलाई समस्या र चुनौति हुने गरेको छ । दामोदरकुण्ड पदयात्राको सुरुआती स्थान याराबाट केही माथिसम्म सञ्चारको पहुँच रहेपनि घिमे ठाँटीदेखि समुन्द्री सतहको ४९०० मिटरको उचाईमा अवस्थित दामोदरकुण्ड सम्मको पदमार्गमा संञ्चारको पहुँच नहुँदा दामोदरकुण्ड तीर्थ यात्रीहरु अप्ठ्यारोमा पर्ने गरेका छन् । ।
नेपाल यातायात व्यवसायी संघ गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीले सहकार्यमा पोखराका पर्यटन तथा यातायात व्यवसायीहरुले दामोदरकुण्डको धार्मिक पदयात्रा गरेपछि दामोदरकुण्ड क्षेत्रमा सञ्चारको असुविधा रहेको बताईएको हो । धार्मिक पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन गर्न पुगेको उक्त टोलीले जोमसोम आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा टोलीले दामोदरकुण्ड तीर्थयात्राको कठिन भूगोलमा निकै कष्ठकर र चुनौतिपूर्ण यात्रा रहेकाले उक्त स्थानमा यथाशिघ्र संञ्चारको पहुँच स्थापित गरिनुपर्ने आवश्यकता रहेको औल्याएको हो ।
पर्यटन प्रवद्र्धनका लागि दामोदरकुण्डबाट फर्किएको नेपाल यातायात व्यवसायी संघका अध्यक्ष रवि प्रसाद आचार्यले धार्मिक आस्थाको केन्द्र दामोदरकुुण्ड जाने पदमार्गमा संञ्चारको सुविधा उपलब्ध भएमा त्यहाँ पुग्ने तीर्थ यात्रीहरुलाई निकै ठुलो सहयोग पुग्ने बताउँनुभयो । समून्द्री सतहको पाँच हजार मिटर माथिको उच्चउचाईमा पदयात्रा गरी दामोदरकुण्ड गन्तब्य तय गरिनुपर्ने भएकाले त्यहाँ पुग्ने तीर्थयात्रीहरुलाई हाईअल्टिच्युडका कारण लेंक लाग्नसक्ने समस्या र यात्रा व्यवस्थापन गर्न समस्या रहेको अध्यक्ष आचार्यले उल्लेख गर्नुभयो । लेंक लागेर बिरामी हुँने अवस्था आउँदा र अन्य व्यवस्थापन गर्न सबै भन्दा सजिलो माध्यम सञ्चार सुविधा हुने भएकाले त्यसका लागि सरकारबाट आवश्यक पहल भएमा उपयुक्त हुने उहाँको भनाई छ ।
यसैगरी दामोदरकुण्ड पदमार्गको घिमे ठाँटीदेखि दामोदरकुण्डसम्म साईन बार्डहरु नराखिएको र पर्याप्त स्थानहरुमा आश्रय स्थलहरु नभएकाले दामोदरकुण्ड पदयात्रीहरुलाई पदयात्रा चुनौतिपूर्ण हुने गरेको पदयात्रा टोलीले जनाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलले दामोदरकुण्ड जाने पदमार्गको घिमे डाँडामा नेपाल टेलिकमको बिटिएस टेलिफोन टावर स्थापना गरेमा त्यहाँ पुग्ने तीर्थयात्राको यात्रामा निकै ठुलो राहत हुने बताउँनुभयो । दामोदरकुण्ड पदमार्गको घिमे डाँडा समुन्द्री सतहको पाँच हजार ३३० मिटरको उचाईमा रहेको र त्यहा टेलिफोन टावर जडान हुनसकेमा दामोदरकुण्डसम्मै संञ्चारको पहुँच स्थापित हुने उहाँले जानकारी दिनुभयो ।
एक्याप प्रमुख पौडेलका अनुसार दामोदरकुण्ड पदमार्गको आवश्यक स्थानहरुमा एक्याप कार्यालयले पदमार्ग साईन बोर्ड र फोहोर व्यवस्थापनका लागि साईन बोर्डहरु राखिने जानकारी दिनुभयो । दामोदरकुण्ड तीर्थयात्रीका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिका र एक्याप कार्यालयले घिमे ठाँटी र दामोदरकुण्डमा भक्तजन आश्रय स्थल धर्मशाला निर्माण गरेकाले बस्नका लागि कुनै समस्या नरहेको कार्यालय प्रमुख पौडेलले बताउँनुभयो ।
जोमसोम —कोरला सडकमार्ग हुँदै उपल्लो मुस्ताङको चराङ पुगेपछि राजमार्ग छोडेर पूर्वतर्फ उरालो झरी ध्ये खोला तरेर यात्रा गाउँ पुगेपछि दामोदकुण्डको वास्तविक पदयात्रा सुरु हुन्छ । यारा गाउँ कटेर उकालो उक्लिएपछि समुन्द्री सतहको घिमे ठाँटी पुगिन्छ । दामोदरकुण्ड जाने अधिकाँश तीर्थयात्री घिमे ठाँटीको धर्मशालामा बास बसेर भोलीपल्ट दामोदरकुण्ड प्रस्थान गर्छन ।
दामोदरकुण्ड पदमार्गको घिमे .ठाँटीदेखि घिमे डाँडा पुगेर भार्सा खोला झरेर भार्सा डाँडा उक्लिदै दामोदरकुण्ड पुग्न सकिन्छ ।
समून्द्री सतहको पाँच हजार ३३२ मिटर उचाईको घिमे डाँडाबाट उरालो झरेर समून्द्री सतहको चार हजार ९०० मिटर भार्सा खोल खोंचमा झर्नुपर्छ । त्यहाँबाट फेरी उकालो उक्लिदै समुन्द्री सतहको पाँच हजार ४६२ मिटरको भर्सा डाँडा पुगेपछि दामोदरकुण्ड पदयात्रीका यात्रा केही सहज हुन्छ । एक्याप लोमान्थाङ प्रमुख उमेश पौडेलका अनुसार धेरैजसो दामोदरकुण्ड पदयात्रीहरुलाई घिमे डाँडादेखि भार्सा डाँडासम्मको पदयात्रामा हाईअल्टिच्युडका कारण लेंक लाग्ने सम्भावना हुने बताउँनुभयो । उच्च उचाई र चुनौतिपूर्ण कठिन भूगोलका कारण दामोदरकुण्ड पदयात्रीहरुलाई उक्त स्थानमा स्वास्थ्यमा समस्या देखिने गरेको बताउँनुभयो ।
मुस्ताङको यारा गाउँ हुँदै दामोदरकुुण्डसम्मको पदयात्रा १६ दशमलव ५ किलोमिटर रहेको र उक्त पदमार्गमा लेंक लाग्ने बिरामीको उद्दारकार्यमा संञ्चारको पहुँच नहुँदा निकै कठिनाई हुने गरेको प्रमुख पौडेलको भनाई छ ।
अक्सर पवित्र धार्मिक तीर्थस्थल दामोदरकुण्ड पदयात्रा गर्ने समय वर्षको तीन महिनामा मात्रै हुने गरेको छ । उच्च उचाईको स्थानमा अवस्थित दामोदरकुण्डमा जान हिउँदयामको मौसममा अत्यधिक चिसोका कारण समस्या हुने भएकाले बर्सेनि जेठ महिनादेखि साउन महिनासम्म दामोदरकुण्डमा पदयात्रीहरु जाने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताउँनुभयो । उहाँका अनुसार यारा गाउँबाट दामोदरकुण्ड पुग्न घोडामा चढेर सात घण्टा बढी समय लाग्ने बताउँनुभयो । दामोदरकुण्ड पदयात्रीहरुका लागि गाउँपालिकाले विशेष प्राथमिकतामा राखेर काम गरिएको अध्यक्ष बिष्टको भनाई छ ।
नौ घण्टाको दामोदरकुण्ड यात्रा ६ घण्टामा छोटिदै
मुस्ताङको यारा हुँदै दामोदरकुण्ड जाने नौ घण्टाको पदयात्रा ६ घण्टामा छोटिने भएको छ । उक्त पदमार्गको भार्सा खोलमा झोलुङ्गे पुल निर्माणका लागि बजेट सुनिश्चित भएसंगै दामोदरकुण्ड पदयात्रा सहज हुने भएको हो । संघीय सरकारले दामोदरकुण्ड पदमार्गको घिमे डाँडादेखि भार्सा डाँडा जोड्ने गरी ४७० मिटर लामो झोलुङ पुल निर्माग गर्न अर्थ मन्त्रालय बहुर्षीय योजनाका रुपमा १८ करोड ५३ लाख बजेटको स्रोत सुनिश्चित गरेको हो ।
संघीय सस्पेन्स ब्रिज डिभिजन कार्यालयका ईन्जिनीयर गोपाल बहादुर थापाका अनुसार दामोदरकुण्डको भार्सा खोलामा झोलुङ पुल निर्माणका लागि चालु वर्ष तीन करोड र आगामी आर्थिक वर्षका लागि तीन करोड बजेट विनियोजन भएको छ । उक्त पदमार्गको भार्सा खोलामा पुल निर्माणका लागि डिपीआर लगायतका सम्पूर्णकार्य सकिएकाले झोलुङे पुल निर्माणको ठेक्का प्रक्रिया अघि बढाउने तयारीमा रहेको र्ईन्जिनीयर थापाले उल्लेख गर्नुभयो ।
दामोदरकुण्डको भार्सा खोलामा पुल निर्माणका लागि गतवर्ष पूर्व प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचन र लोघेकर दामोदरकृण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टसहित संस्पेन्स ब्रिज डिभिजन कार्यालयका प्राविधिक ईन्जनीयर लगायतको टोली हेलिकोप्टर चढेर भार्सा खोला पुगेको थियो । प्रतिकूल मौसम ,हिमपात र कठिन भूगोलका कारण झोलुङे पुल निर्माणका लागि अनुकुल याम आवश्यकता पर्ने भएकाले करिव तीन वर्षमा झोलुङे पुल सम्पन्न गर्ने लक्ष्य रहेको ईन्जिनीयर थापाले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली