छात्राबासका लागि बिद्यालयमै हुन्छ खेतीपाती

जोमसोम—मुस्ताङ जिल्लामा एक मात्र कृषि प्रावधिकधारतर्फ शैक्षिक पठन÷पाठन संञ्चालन गर्ने विद्यालय हो थासाङ गाउँपालिका—२  मा अवस्थित जनआदर्श अमरसिंह माध्यमिक विद्यालय । जहाँ विद्यार्थी र शिक्षक मिलेर छात्राबासका लागि तरकारी र फलफूल उत्पादन गर्छन् ।

बिद्यार्थीका लागि सैद्धान्तिक शिक्षाका साथसाथै नियमित रुपमा कृषि कर्मको व्यवहारिक अभ्यास गर्ने क्रममा जनआदर्श अमरसिंह माध्यमिक बिद्यालयले बर्सेनि लाखौ रुपैयाको तरकारी र फलफूल उत्पादन गर्छ ।

२०१७ सालमा स्थापना भएको थासाङको जनआदर्श माध्यमिक विद्यालय २०३९ सालमा माध्यमिक तहसम्मको कक्षा संञ्चालन गर्ने अनुमती पायो । यो विद्यालयलाई मावि स्वीकृत गरिसंगै विद्यालयले दोस्रो वर्षदेखि विद्यालयमा कृषि प्राविधिकधारतर्फको पढाई संञ्चालन गर्न थाल्यो ।माध्यमिक तहको कृषि प्रावधिक कक्षा संञ्चालन गरेको जनआदर्श माध्यमिक विद्यालयले २०७० द्ेखि कक्षा १२ सम्मको कृषि विषयको प्राविधिक कक्षा संञ्चालन गर्न थाल्यो । विद्यालयमा कक्षा १२सम्मको कृषि विषयको पठन÷पाठनका अलावा  विद्यार्थीहरुलाई आवासिय सेवा सुविधा प्रवाह हुन थालेपछि जनआदर्श विद्यालयमा पढ्न जिल्ला भित्र र जिल्ला बाहिरका उल्लेख्य विद्यार्थी यहाँ आएर कृषि प्राविधिक धारको शिक्षा लिन मुस्ताङ आउन थाले । यो विद्यालयबाट पढेर उच्च शिक्षा प्राप्त गरेका धेरैजसो विद्यार्थीहरु अहिले कृषि विज्ञ,प्राविधिक र व्यवसायिक कृषि कर्ममा लागिपरेका छन् । जनआदर्श माध्यमिक विद्यालयमा कठिन परिस्थितीका बालबालिकाहरु कृषि शिक्षा प्राप्त गर्न मुस्ताङ आउने गरेको पाईएको छ । यो विद्यालयमा झन्डै डेढ दर्जन बढी जिल्लाका विद्यार्थीहरु कृषि प्राविधिक शिक्षा अध्ययनका लागि मुस्ताङ आउने गर्छन् ।


मुस्ताङको जनआदर्श माध्यमिक अमरसिंह माध्यमिक विद्यालयमा कृषि विषयमा अध्ययन गर्दैआईरहेका बिद्यार्थीहरु कक्षागत रुपमा नियमित सैद्धान्तिक पढाईसंगै सामुहिक खेतीपातीको कामकाजमा जुट्ने गर्छन् ।बिद्यालयको कृषि प्राविधिक शिक्षक÷शिक्षिकाहरुको निर्देशनमा उनीहरुले विभिन्न फलफूल तथा तरकारी र अन्य खाद्यवाली लगाउने, हाते मिनि पावर ट्रेलरबाट खेत जोत्ने र विद्यालयको स्वामित्वमा रहेको खेतबारी गोडमेल गर्ने अभ्यास गर्ने गरेका हुन्छ । विभिन्न बालीहरु नमूना परीक्षणका लागि विद्यालय हाता भित्रै कृषि ल्याव परीक्षणको सिकाई समेत उपलब्ध गराउने गरिएको छ । विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई फिल्डमै लगेर कृषि तालिम दिने गरिएको छ । यसले विद्यार्थीको सिकाई उपलब्धिका साथै कृषि कर्म गर्न र विद्यार्थीलाई नियमित  कामकाजका लागि क्रियाशील राख्न कृषि प्राविधिक शिक्षा निकै फलदायी सावित भएको छ ।

विद्यालयमा कापी कलम र किताब लिएर कृषि शिक्षा पढ्न आएका जनआदर्शका विद्यार्थीहरुमा व्यवहारिक शिक्षाको अभ्यासका लागि हात हातमा कुटो,कोदालो,डोको नाम्लो र कृषि यान्त्रिक उपकरणले खेत खनजोत,गोडमेल र मल ओसार्ने काम गरिरहेका हुन्छन् । नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रलाई बलियो बनाउन कृषि शिक्षा पढेर कृषि उद्यमी बन्ने धोको रहेको सो बिद्यालयका विद्यार्थी सचिन बिकले बताए । उनले विद्यालय दिने कृषि शिक्षाको ज्ञानसीप लिएर गाउँठाउँमा गएर कृषि कर्म गरेर जिविकोपार्जन गर्ने विद्यार्थी बिकले उल्लेख गरे । यहा पढेर सैद्धान्तिक शिक्षाका साथै कुन बाली कसरी रोप्ने भण्डारण गर्ने,रोगसंक्रमण कसरी रोक्ने लगायतको शिक्षा प्राप्त गरेको बताए । उनले बिद्यालयमा साथीहरुसंगै समुहमा काम गर्दा सजिलो र रमाईलो हुने अनुभुती सुनाए ।


मुस्ताङको जनआदर्श माध्यमिक विद्यालयमा पढेर आफुले कृषि शिक्षाका साथसाथै कृषि कर्मको सबै अभ्यास सिक्न पाउँदा निकै खुसी लागेको अर्की छात्राले बताईन् । उनले विद्यालयमा खाने,बस्ने र निःशुल्क शिक्षा प्राप्त गरी  कृषि विषयको सैद्धान्तिक र व्यवहारिक ज्ञानसीप प्राप्त गर्ने अवसर पाएको बताईन् । विद्यालयमा एक पटक पढ्ने एक पटक फिल्ड अभ्यास गर्ने सिकाईले उत्साहित बनाएको बताईन । विद्यालयमा विभिन्न फलफूल तथा तरकारीहरुको प्रशोधन गर्ने र खेतीपातीको सिकाईले पढाई सकेर आफु कृषि उद्यमी बन्ने रहर जाँगेको उनको भनाई छ ।

कृषि र पशुपालन व्यवयायले प्रचूर संम्भावना रहेको हिमाली जिल्ला मुस्ताङमा कृषि प्राविधिकहरुको दक्ष जनशक्ति नहुँदा यहाँका किसानले भरपर्दो रुपमा कृषि व्यवसाय संञ्चालन गर्न समेत समस्या पर्ने गरेको छ । जिल्लाकै एकमात्र कृषि धारतर्फको जनआदर्श माध्यमिक बिद्यालयले बर्सेनि कृषि जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पू¥याउँदै आईरहेको छ । विद्यालयका कक्षा ८ देखी कक्षा १२ सम्म कृषि धारतर्फ पढाउने ८ जना शिक्षिक÷शिक्षिका कार्यरत छन् ।

 जनआर्दश माध्यमिक विद्यालयमा २०७० सालदेखि कक्षा १२ सम्मको कृषि प्राविधिक शिक्षा कार्यान्वयनमा आएको विद्यालयका कृषि प्राविधिकधारतर्फका कोअर्डिनेटर शिक्षक प्रकाश भारतीले जानकारी दिए । यसअघि कक्षा १० पछि कृषिधारतर्फका बिद्यार्थीलाई कक्षा ११ मा ३ महिना र कक्षा १२ मा ६ महिनामा कृषि अभ्यासका लागि फिल्ड प्रशिक्षण दिने गरेकोमा गतवर्षदेखि कक्षा ११ मा ३ सय घण्टा र कक्षा १२ मा ६ सय घण्टा नियमित फिल्ड सिकाई अभ्यास हुने गरेको विद्यालयका कोअर्डिनेटर भारतीको भनाई छ । उनले यहाँ पढाई सकेर नयाँ कुरा सिक्न चाहने विद्यार्थीलाई अन्य कृषि फार्ममा विद्यालयले सिफारिस गर्ने गरेको शिक्षक भारतीले जनाए । यहाँ पढ्ने बिद्यार्थीहरुलाई कृषिको सैद्धान्तिक शिक्षाका साथसाथै व्यवहारिक ज्ञानसीप दिलाउन फिल्ड अभ्यास गराउने र विभिन्न बालीहरुको विउँ उत्पादनका लागि ल्याब परीक्षणका गतिविधि सिकाउने गरेको उनले उल्लेख गरे । 

कृषि कोअर्डिनेटर भारतीले पछिल्लो समय विदेश पलायन हुने युवापंक्ती बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गरे । उनले विदेश पलालयनलाई न्यूनिकरण गरी  स्वदेशकै कृषि कर्मको प्रर्वद्धन गर्न बिद्यालयले प्रवाह गर्ने कृषि शिक्षा महत्वपूर्ण र प्रभावकारी भएको दावी गरे । सरकारले कृषि शिक्षा पढेर शैक्षिक ज्ञान आर्जन गरेका जनशक्तिलाई स्वेदशमै रोक्न आर्यआर्जन गर्नसक्ने अनुदान सहुलियतका कार्यक्रम ल्याउन आवश्यक रहेको कृषि कोअर्डिनेटर भारतीको भनाई छ ।

कृषि धारतर्फको जनआदर्श माध्यमिक बिद्यालयले ६२ जना भन्दा बढी बिद्यार्थीहरुलाई आवासीय सुविधा दिदै आईरहेको छ । जहाँ बिद्यार्थी,पढ्छन् ,खेल्छन र नियमित कृषि कर्म सिकिरहेका हुन्छन् । कृषि धारतर्फको यस बिद्यालयको स्वामित्वमा ६४ रोपनी जग्गा छ । जहाँ विद्यार्थीले नियमित खेतापाती गर्ने कर्म सिकेका हुन्छन् ।

जनआदर्श बिद्यालयले आफ्नै स्वामित्वमा रहेको खेतीयोग्य जमिनमा टनेल बनाएर हरियो ताजा तरकारी उत्पादन गर्ने गरेको छ भने यसका अलावा बिद्यालयले बिद्यार्थीकै श्रमदानबाट  आलु।सीमी,बोडी,बन्दा,काउली, लसुन ,प्याज लगायत स्याउ लगायतका अन्य फलफूलहरु उत्पादन गर्ने गरेको छ । आवासीय सेवा सहितको यस बिद्यालयले आफुलाई  खपत हुने तरकारी  र फलफूलहरु आफैले उत्पादन गर्ने भएकाले बिद्यालयको छात्रावास खर्चमा आर्थिक व्ययभार समेत निकै कम हुने गरेको छ ।

जनआदर्श बिद्यालयले आफ्नै जग्गामा बिद्यार्थीहरुले कृषि तालिम अभ्यास गराउने गरेकाले बिद्यार्थीलाई कृषिको सैद्धान्तिक तथा व्यवहारिक शिक्षा लिन सहज भएको हो  । विद्यालयले छात्रावासका लागि चामल बाहेक अरु केही सामाग्री किन्न नपर्ने बिद्यालयले जनाएको छ ।


प्रतिक्रिया