मुस्ताङमा २५ वटा मतदान स्थलको अनुगमन

आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी माथिल्लो मुस्ताङसहित तीन पालिकामा मतदान स्थलको अनुगमन गरिएको छ । जिल्ला सुरक्षा समिति मुस्ताङले माईनस डिग्री तापक्रममा समेत यहाँको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रमा पुगेर विभिन्न मतदान स्थलहरुको अनुगमन सम्पन्न गरेको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित जिल्ला स्थित चार वटै सुरक्षा प्रमुख, जिल्ला निर्वाचन कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिहरुले मुस्ताङका तीन पालिकामा पुगेर मतदान स्थलहरुको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।

प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र,निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन तथा मतदाताहरुलाई सहज रुपले मतदान गर्न पाउँने व्यवस्था र मतदान स्थलहरुको सुरक्षा प्रवन्ध मिलाउन यहाँका तीन पालिकामा मतदान स्थलहरुको अनुगमन तथा निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो । प्रजिअ शर्माका अनुसार माथिल्लो मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका गरी कुल २८ वटा मतदान स्थल मध्ये २५ वटा मतदान स्थलहरुको अनुगमन गरिएको छ । भौगोलिक विकटता र प्रतिकूल मौसम लगायतका कारण लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत ताङ्ग्या र ढी मतदान स्थलको  अनुगमन नभएको जनाईएको छ । यसैगरी वारागुङ मुक्तिक्षेत्र—५ स्थित मुस्ताङ  र डोल्पाको सिमावर्ती गाउँ साङ्ता गाउँको मतदान स्थल जाने सडकमा सेताम्मे हिउँ जमेकाले तत्काल मतदान स्थल अनुगमन गर्न नसकिएको प्रजिअ शर्माको भनाई छ ।

 हिमाली जिल्लाको प्रतिकूल मौसम र अत्यधिक चिसो मौसमको परवाह नगरी घोषित निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रजिअ  शर्मासहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रय अनुसन्धान र जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले मतदान स्थलहरुको अनुगमन गर्नुभएको हो । माथिल्लो मुस्ताङको लोघेकरका दुई मतदान स्थल र वारागुङ मुक्तिक्षेत्रको साङ्ता मतदान केन्द्रको पछि अनुमगन गरिने प्रजिअ शर्माको भनाई छ ।

यसैगरी मुस्ताङको थासाङ गाउँपालिका स्थित ८ वटा मतदान केन्द्र र घरपझोङ गाउँपालिका अन्तर्गतका ६ वटा मतदान केन्द्रहरुको केहीदिनमा मतदान स्थलहरुको पालैपालो अनुगमन गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

घोषित प्रतिनिधि सभा निर्वाचनका लागि मुस्ताङका पाँच पालिकामा ३९ वटा मतदान केन्द्र स्थल रहेका छन् । जसअन्तर्गत माथिल्लो मुस्ताङको लोमान्थाङ—२ सम्जुङ मतदान केन्द्रलाई सोही वडाको दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा ठाउँ सारी (मर्ज) गरिएको छ । लोघेकर दामोदरकुण्ड—४ मा यसअघिको मतदान केन्द्र रहेकोमा थप अर्को एक मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रबहादुर ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिनिधि निर्वाचनका लागि मुस्ताङमा ११ हजार ३२८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँको घरपझोङमा दुई हजार ४९२,थासाङमा दुई हजार ९०७,वारागुङ मुक्तिक्षेत्रमा दुई हजार ३९, लोघेकर दामोदरकुण्डमा एक हजार ५४२ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया