जोमसोम ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको निरन्तरको पहलमा त्यहाँको घमी खोलामा सडक डाईभर्सन निर्माण गरिएको छ । डाईभर्सनपछि कोरलाबाट फर्किने हेभी मालबाहक ट्रक तथा ट्रलीलाई ढुवानी कार्यमा सहज भएको छ ।
कोरलानाकाबाट चिनियाँ मालवस्तु ढुवानी गरी जोमसोमतर्फ झर्ने ठुला हेभी मालबाहक ट्रक तथा ट्रलीलाई लक्षित गरी सोमबार घमी खोलामा आयोजना र ब्यापारी मिलेर डाईभर्सन निर्माण गरिएको हो ।
यसअघि त्यहाँको घमी खोलामा अवस्थित कामचलाउ अस्थायी कच्ची पुलबाट सामान्य भार क्षमता भएका बाहेक हेभी क्षमता भएका मालबाहक पुलबाट लैजादा दुर्घटनाको जोखिम थियो । यसैकारण चीनबाट आयात गरी ल्याईने ढुवानीका ठुला हेभी मालबाहक ट्रक तथा ट्रलीहरु कोरला स्थित न्हेचुङ भन्सार कार्यालयमा रोकिएका थिए ।
घमीमा अस्थायी कच्ची पुलका साथसाथै कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजना मार्फत ४० मिटर लामो एक स्पानको पक्की पुल निर्माणधिन अवस्थामा छ । २०७५ सालमा ठेक्का सम्झौता भएको यहाँको घमी खोला पुल निर्माण ७ वर्ष बितिसक्दा समेत निर्माण कम्पनीको ढिलासुस्तीका कारण सम्पन्न हुन सकेको छैन । त्यहाँ निर्माणधिन पुलको भौतिक प्रगति ७५ प्रतिशत हुँदा निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाले निर्माण कम्पनीलाई २०० दिनसम्मका लागि दैनिक हर्जाना (०.०५) प्रतिशत हर्जाना जरिवाना तोकिसकेको अवस्था छ ।
कोरलानाका जोड्ने घमी खोलामा आयोजनाले ठेक्का लगाएको आरसीसी पक्की पुल सम्पन्न हुन विलम्व भएको र भदौ ३१ गतेबाट कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आईसकेकाले नाका स्थित भन्सारमा जाँचपास भईसकेका हेभी मालबाहक ट्रक तथा ट्रलीलाई जोमसोमतर्फ लैजान समस्या भएको थियो । घमीमा खोलामा तत्काल पक्की पुल बन्ने अवस्था नहुँदा विकल्पका रुपमा डोजर परिचालन गरी आईतबार निर्माणधिन पुल माथिमा डाईभर्सन सडक निर्माण गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । त्यहाँ निर्माणधिन पुल नजिकै माथिबाट एक सय मिटर डाईभर्सन निर्माण सम्पन्न भएको अध्यक्ष बिष्टको भनाई छ ।
जोमसोम—कोरला खण्डको घमी खोलामा डाईभर्सन निर्माणका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा आयोजना र चीनबाट मालवस्तु आयात गर्ने सिनो हाईड्रो पावर मनाङले मिलेर सडक डाईभर्सन निर्माण गरेका हुन् । आयोजनाले डोजर उपलब्ध गराएको थियो भने ब्यापारीहरुले डोजर अपरेटर र ईन्धनको व्यवस्थापन गरेर डाईभर्सन निर्माण गरिएको अध्यक्ष बिष्टको भनाई छ ।
योसंगै कोरलानाका स्थित न्हेचुङ भन्सार कार्यालयमा जाँचपास भई रोकिएका हेभी मालबाहक ट्रक तथा ट्रलीलाई गन्तब्यतर्फ लैजान सहज भएको छ । तर, सडक डाईभर्सन निर्माण तयार भईसकेको भएपनि सिनो हाईड्रो पावर मनाङको निर्माण सामग्री तथा उपकरण ढुवानी गरिएको हेभी मालबाहकको चालक दसै बिदामा घर गएकाले भन्सार कार्यालयमा रहेको जनाईएको छ । त्यहाँ थन्क्याएका हेभी ट्रक तथा ट्रलीको चालकहरु आएपनि घमी खोलामा निर्माण गरिएको डाईभर्सन सडकबाट गन्तब्यतर्फ लैजान सकिने अवस्था रहेको गाउँपालिका अध्यक्षले बिष्टले बताउँनुभयो ।
ठुल्ठुला हेभी मालबाहकलाई डाईभर्सन सडक प्रयोग गर्न मिल्नेछ । तर, मझौला खालका मालबाहक तथा कारजीप र मोटरसाईकलहरुलाई अस्थायी पुलबाट आउजाउ गर्न सक्ने अवस्था रहेको अध्यक्ष बिष्टको भनाई छ । कोरला स्थित मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा सिनो हाईड्रो पावर कम्पनीको १८ वटा मालबाहक ट्रक तथा ट्रली थन्किएका छन् ।
गाउँपालिका अध्यक्ष बिष्टले कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आईसकेकाले जोमसोम—कोरला सडकमार्गलाई थप स्तरोन्नति गर्न आवश्यक रहेको बताउँनुभयो । यहाँको सडक कच्ची र जीर्ण हुँदै गर्दा चीनबाट आयात गरिएका मालवस्तु ढुवानी र विद्युतीय कारहरु गन्तब्यमा पु¥याउन असहज भएको अध्यक्ष बिष्टको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली