सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

जोमसोम ।

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म विदेशी पर्यटक ६९ हजार ८१४ र स्वदेशी पर्यटक  २ लाख ५२ हजार ६६४ जना स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार राष्ट्रिय गौरवको (बेनी—जोमसोम()सडकमार्ग हुँदै चालु वर्षको साउनमा १९ हजार ७८१,भदौ महिनामा २३ हजार २०५,असोज महिनामा ७५५९९,कार्तिक महिनामा  ८३ हजार ७६६, मंसिर महिनामा  ४९ हजार ५०,पुस  ३९ हजार १५३ र माघ महिनामा ३२ हजार ४ जना विदेशी तथा स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

गतवर्षको साउनदेखि माघ महिनासम्म तीन लाख ४० हजार ७२९ जना विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । प्रहरीको पर्यटक तथ्यांक अनुसार गत वर्षको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा १८ हजार १७१ जना पर्यटक कम भित्रिएका हुन् । अघिल्लो वर्षको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षको ८ महिना अवधिमा (५.३३) प्रतिशत कम पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

 जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी चौकी घाँसाले म्याग्दी र मुस्ताङको सिमाना घाँसामा सडकमार्ग हुँदै मुस्ताङ भित्रिने विदेशी तथा स्वदेशी पर्यटकहरुको अभिलेख संकलन गर्ने गरेको प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । यसैगरी पोखरा—जोमसोम हवाई सेवा मार्फत मुस्ताङ भित्रिएका र मनाङ हुँदै थोरङलापास गरी मुस्ताङ भित्रिएका पर्यटकको मातहतका प्रहरी ईकाईहरुले गर्ने गरेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिनुभयो ।

मुस्ताङमा आ.व. २०८०÷०८१ मा ४ लाख ५४ हजार ३२६ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । यसैगरी आ.व. २०८१÷०८२ मा  ७ लाख ५ हजार ७७९ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक बर्सेनि सहज हुँदै जान थालेपछि मुस्ताङमा स्वदेशी तथा विदेशी पर्यटकको आगमनदर वृद्धि हुँदै जान थालेको हो । मुस्ताङमा भित्रिएका सार्क राष्ट्रका पर्यटक मध्ये अधिकाँश भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी फर्किने गरेका छन । अन्य राष्ट्रका विदेशी पर्यटकहरु भने बेनी—जोमसोम सडकमार्ग र मनाङ हुँदै थोरङ्लपास क्रस गरी मुस्ताङ भित्रिने गर्छन ।

 मुस्ताङको कागबेनीधाममा पितृ उद्दारका लागि श्राद्ध गर्न तथा मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने स्वदेशी पर्यटकको संख्या पनि बढ्दो रहेको छ । मुस्ताङ भित्रिएका पर्यटकहरु मध्ये तीन प्रतिशत विदेशीले माथिल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् । पछिल्लो समय जोमसोम—कोरला सडक सहज भएपछि उल्लेख्य संख्यमा स्वदेशी पर्यटकहरु कोरलानाकासम्म पुग्ने गरेको पाईएको छ ।


प्रतिक्रिया