मुस्ताङको समर मतदान केन्द्रमा सबैभन्दा कम ३६ मतदाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कुल ३९ वटा मतदान केन्द्र तथा मतदान स्थल कायम छन् । यहाँको पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदान स्थल मध्ये सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र—३ समर स्थित समर आधारभूत विद्यालय मतदान केन्द्र रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँको मतदान स्थलमा जम्मा ३६ जना मात्रै मतदाता रहेको जनाईएको छ ।

एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा समर स्थित समर आधारभूत मतदान स्थलपछि वारागुङ मुक्तिक्षेत्र—५ साङ्ता स्थित हिमाली आधारभूत मतदान केन्द्रमा ३९ जना मात्रै मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । यसैगरी जिल्लामा सबैभन्दा बढी मतदाता घरपझोङ गाउँपालिका—४ जोमसोमको जनहित मतदान केन्द्र रहेको छ । जहाँ  ६८९ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताउँनुभयो ।

वि.स. २०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिक हुँदा मुस्ताङमा कुल एघार हजार ३२८ जना मतदाता कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत यहाँको घरपझोङ गाउँपालिकामा ६ वटा, थासाङ गाउँपालिकामा ८ वटा, लोघेकर दामोदरकुण्डमा १० वटा ,वारागुङ मुक्तिक्षेत्रमा ९ वटा र लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदान केन्द्र तथा मतदान स्थल कायम भएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताउँनुभयो ।

 मुस्ताङको घरपझोङमा कुल दुई हजार ४९२ मतदाता संख्या रहँदा सबै भन्दा बढी जनहित मतदान केन्द्रमा ६८९ जना र सबैभन्दा कम मतदाता छैरो आधारभूत विद्यालयमा ८१ जना मतदाता छन् । थासाङ गाउँपालिकामा दुई हजार ९०७ जना मतदाता संख्या रहँदा सबैभन्दा बढी जनआदर्श अमरसिंह माध्यमिक विद्यालय कोवाङमा ६५३ जना र सौरु आधारभूत विद्यालय सौरुमा सबैभन्दा कम ६५ जना मात्रै मतदाता कायम रहेको जनाईएको छ ।

यसैगरी यहाँ स्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एक हजार ५४२ जना मतदाता कायम हुँदा  सबैभन्दा बढी मतदाता लोघेकर —१ चराङ स्थित चराङ आधारभूत विद्यालयमा सबैभन्दा बढी ३१९ जना मतदाता छन् । यहाँ सबैभन्दा कम  मतदाता ढि आधारभूत विद्यालयमा ७० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।

यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा  दुई हजार ३७६ जना मतदाता कायम हुँदा सबैभन्दा बढी जनशान्ति माध्यमिक विद्यालय कागबेनीमा ५२० जना र सबैभन्दा कम समर आधारभूतमा ३६ जना मतदाता रहेको छ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ जना मतदाता संख्या छ । जसमध्ये सबैभन्दा बढी राष्ट्रिय आधारभूत विद्यालयमा ६२० जना र सबैभन्दा कम दिव्यज्ञान आधारभूत चुमजुङमा १३६ जना मतदाता रहेको छ ।

निर्वाचन आयोगले सकेसम्म बदर मतसंख्या घटाउन मतदाता शिक्षा कार्यक्रम अघि बढाएको छ । जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार यहाँका पाँच पालिकाले सिफारिस गरेका मतदाता शिक्षा प्रदान गर्ने व्यक्तिलाई प्रशिक्षक तालिम बुधबारदेखि सुरु हुने जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहले सिफारिस गरेको व्यक्तिलाई मतदाता शिक्षा प्रशिक्षण गराईएपछि यहाँका २५ वटै वडाहरुमा मतदाता शिक्षा कार्यक्रमलाई अघि बढाईने योजना रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया