उपल्लो डाल्पाबाट धमाधम मुस्ताङको जोमसोम लगायतका स्थानमा झारिएको छ ।यहाँ ल्याईएका याकहरु बिक्रीका लागि जोमसोम लगायत स्थानमा झारिएको हो ।
बर्सेनि कार्तिक र मंसिर महिनामा उपल्लो डोल्पाका विभिन्न स्थानमा पालिएका अग्लाअग्ला कद भएका याकहरु मुस्ताङमा बिक्री गर्न ल्याईने गरिएको छ । हिउँदयाममा तरकारीको अभाव हुने भएकाले मुस्ताङमा डोल्पाबाट ल्याएका याकहरुको किनबेच चल्छ । तर, हिउँदयाममा तरकारी हुने पहिलो अवस्था भने अहिलेको सडकको अवस्थाले फेरिएको छ ।
मुस्ताङमा हिउँदयामका लागि मानिसहरुले याक र भेडाच्यांग्राको सुकुटी बनाउने परम्परागत संस्कृतिनै हो । तर, भेडाच्यांग्रा महंगो पर्ने भएको र याकको मासु स्वास्थ्यवद्धक र थप स्वादिलो हुने भएकाले मुस्ताङी अधिकाँशले याककै सुकुटी पारेर झुन्ड्याउने प्रचलन रहेको छ । यसरी सुकुटी पारेर राखेको याकको सुकुटी हिउँदयाममा तरकारीको अभाव हुँदा विभिन्न तरकारीमा मिसाएर खाने गरिन्छ ।
उपल्लो डोल्पा प्रसिद्ध याकचौरी पालनको हबनै मानिन्छ । त्यसो मुस्ताङमा पनि याक पाल्नेको संख्या कम छैन । उच्च हिमाली क्षेत्र उपल्लो डोल्पामा प्रसस्त चरनक्षेत्र र याकचौरीका लागि सन्तुलित हावापानी भएकाले डोल्पाली याक जक्खड र अग्ला कदको हुन्छन् । उपल्लो डोल्पाको उच्चलेंक,खर्क र बुगिनहरुमा हिमाली भेंकमा पाईने यार्सा गुम्बा,निरमसी,जटामसी,पाचऔले लगायतका जटीबुटी प्रसस्तै हुने र त्यहाँका याकले त्यस्ता जटिबुटीहरु सेवन गर्ने भएकाले मुस्ताङको भन्दा डोल्पाली याक अब्बल मानिन्छन् । मुस्ताङका याक होचो कद हुने भएकाले यहाँका याक पारखीहरुले डोल्पालीलाई याकलाई मन पराउने गरेको पाईएको हो ।
विगतका वर्षहरु झै यसवर्ष पनि डोल्पाबाट बिक्रीका लागि मुस्ताङमा याक ल्याईएको हो । मुस्ताङमा मंगलबारसम्म पाँच हुल याक झरिसकेका छन् । थप दुई हुल थपिने क्रममा रहेको जनाईएको छ । वारागुङ मुक्तिक्षेत्र—५ धार्काजुङका याक ब्यापारी सितार गुरुङले १८ वटा याक उपल्लो डोल्पाबाट पैदल खेदाउँदै १२ दिन लगाएर जोमसोम ल्याई पु¥याएको जानकारी दिनुभयो । गुरुङले उपल्लो डोल्पाको पिसेर,छार्का, तिन्जु र धोतरप लगायतका गाउँहरुबाट याक खरिद गरी मुस्ताङ ल्याउन गरेको बताउँनुभयो ।
यसवर्ष कार्तिकको १० गते भारी हिमपात परेका कारण डोल्पाबाट मुस्ताङमा याक ल्याई पु¥याउन निकै समस्या भएको गुरुङको भनाई छ । ‘मुस्ताङ—डोल्पा सडकमा निकै बाँक्लो हिउँ जमेको छ, याक खेदाउँदै ल्याउन मुश्किल प¥यो, गुरुङले भन्नुभयो,‘ बाटोमै पकाउने र खाने गर्नुपर्छ, ल्याईएका याकहरु हराउँछन्की भन्ने डर हुन्छ ।’ गुरुङले डोल्पाबाट होलसेल मुल्यमा एकमुस्ट खरिद गरी जोमसोम ल्याएको बताउँनुभयो ।
उपल्लो डोल्पाबाट ल्याएर जोमसोममा प्रति याकलाई एक लाख ६५ हजार मुल्यमा बिक्री गर्ने गरेको बताउँनु भयो । विगत ६ वर्षदेखि निरन्तर याकको ब्यापार गर्दैआईरहेका गुरुङले कोहीले अर्डर गर्ने र कोहीले अर्डर नगरेपनि याक हेरेर किनेर लैजाने गरेको बताउँनुभयो । डोल्पाबाट ल्याईएको एउँटै जिउँदो याकको वजन २५० केजी भन्दा बढी हुने गुरुङको भनाई छ ।
मुस्ताङीहरुले हिउँदयाममा याकको सुकुटी बनाएर खाने प्रचलन रहेपनि पछिल्लो समय पर्यटकहरुले समेत याकको मासु खान रुचाउने गरेको पाईएको छ । डोल्पाबाट मुस्ताङ ल्याईएका धेरै जसो याकहरु जोमसोम,मार्फा, स्याङ, टुकुचे ,कोवाङ र लेते लगायतका स्थानमा सजिलै बिक्री हुने गरेको छ । याकको सुकुटी मुस्ताङीका लागि हिउँदयामको महत्वपूर्ण तरकारीको रुपमा लिने गरिन्छ । हिउँदयाममा याक सुकुटी पारेर झुन्ड्याउदा नगन्हाउने भएकाले याक सुकुटी हिउँदयाममा मात्रै तयार पारिने प्रचलन रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली