मुस्ताङको आकाशमा निरन्तर वायु प्रदुषण

जोमसोम— केही हप्तादेखि मुस्ताङको आकाश बादल लागे जस्तो ढुम्म छ । बादलले ढाकिएको जस्तो मुस्ताङको आकाशमा वायु प्रदुषण फैलिएको छ । 

यो समय मौसम खुल्ने र वातावरण गुल्जार हुने समय हो । तर, केही हप्तादेखि वायु प्रदुषणले मुस्ताङको आकाश धुमिल देखिने गरेको छ । तराई र पहाडी क्षेत्रमा आगलागीको घटनाले मुस्ताङमा त्यसको प्रभाव परेको कतिपयको बुझाई छ । कतिपयले मौसम खुल्ने महिनामा समेत वायु प्रदुषण निरन्तर रहनु जलवायु परिवर्तनको असरको रुपमा विश्लेषण गर्ने गरेका छन् । मुस्ताङको आकाशमा मडारिएको वायु प्रदुुषणले वातावरणीय तथा पर्यावरणमा समेत असर पू¥याउन थालेको छ ।

विगतको वर्षहरुमा यो समय मुस्ताङबाट देखिने सेताम्मे हिमाल निकै सुन्दर र आर्कषक देखिन्थे ।तर,केही दिन यताको निरन्तरको वायु प्रदुषणले मुस्ताङबाट देखिने सेताम्मे हिमाल सहजै देख्न सकिंदैन ।घरपझोङ—४  जोमसोमका स्थानीय अदित थकालीले छिमेकी जिल्ला म्याग्दी र बाग्लुङ लगायत अन्य जिल्लाहरुमा लगाईएको अनियन्त्रित बन डेढेलोको प्रभावले मुस्ताङमा वायु प्रदुषण फैलिएको बताए । उनले बन डढेलोको प्रभाव निरन्तर रहनु र वर्षा नहुनुको कारण मुस्ताङमा पनि वायु प्रदुषण हट्न नसकेको जनाए ।

यता, घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङमा वायु प्रदुषण भईरहेको दृष्यसहितको तस्विर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका छन् । उनले  वायु प्रदुषणको तस्विर फेसबुकमा सियर गर्दै भने,‘ हामीले नगरेको गल्ती हामीले भोग्न परेको छ, जता हेरे पनि हिमाल र पहाड दैखिदैन ।’ अध्यक्ष लालचनले मुस्ताङमा फैलिएको वायु प्रदुषणको प्रभावले यहाँको कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने उल्लेख गरे ।

 

फोटो क्याप्सन ः मुस्ताङको आकाशमा निरन्तर वायु प्रदुषण । तस्विर ःमोहनसिंह लालचन ।


प्रतिक्रिया