मार्फा पुल अन्तिममा, एक सातामा गाडी गुड्ने



जोमसोम—उत्तर÷दक्षिण जोड्ने कालिगण्डकी गण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजना अन्तर्गत निर्माणधिन मुस्ताङको घरपझोङ—२ मार्फा राज खोला पक्की पुल अन्तिम चरणमा पुगेको छ । २०७५ साल भदौमा आयोजनासंग सम्झौता भएको मार्फा खोला पुल ६ वर्षपछि सम्पन्न हुन लागेको हो ।

 ३ स्पानको १२० मिटर लामो मार्फा राज खोला पुलको पछिल्लो भौतिक प्रगति ९९ प्रतिशत पुगिसकेको आयोजना प्रमुख धुव्र झाले जानकारी दिए । सम्झौता अवधि सकिएर ३ पटक भन्दा बढी म्याद थप भईसकेको (बेनी—जोमसोम) सडकमार्गको मार्फा राज खोला पुलको ३ स्पानको सटिङ सहित ढलानकार्य सम्पन्न भईसकेको  जनाईएको छ । पुलको लागि एप्रोज र फिलिङ  गर्ने काम बाँकी रहेको आयोजना प्रमुख झाको भनाई छ । ‘दशै तिहार पर्व नभनी मजदुरहरु पुलका लागि फिल्डमा खटिएका छन्, केही आशिंक फिनिसिङका काम थाँती छन्, आयोजना प्रमुख झाले भने,‘ बढीमा एकसाता भित्र एप्रोज र फिलिङको काम सकिन्छ, त्यसपछि सवारी आउजाउ गर्न मिल्छ ।’

 करिडोर सडक अन्तर्गत उत्तरी कोरलानाका जोड्ने मार्फा राज खोला पुल र जोमसोम—कोरला राजमार्ग अन्तर्गत छुसाङको नरसिंह खोलामा पुल  निर्माण गर्न हिमढुङ ईमोटल जेभी कन्ट्रक्सनले २१ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । दुबै पुलको सम्झौता अवधि ३ वर्ष तोकिएपनि निर्माण कन्ट्रक्सनको चरम ढिलासुस्तीका कारण पुल निर्माणकार्यमा निकै विलम्व भएको थियो । सम्झौता अवधि सकिएको ३ वर्ष बितिसक्दा पनि छुसाङ पुल बन्ने लक्षण नदेखिएपछि आयोजनाको समन्वयमा अर्को निर्माण कम्पनीलाई जिम्मा दिईएको थियो । उक्त पुल गत भदौमा निर्माण सम्पन्न भई सञ्चालनमा आईसकेको छ ।

सोही पुल मध्येकै एउँटै ठेक्का सम्झौता भएको मार्फा राज खोला पुलको काम भने सम्वन्धित निर्माण कम्पनीले पुरा गर्न  लागेको हो । आयोजनाको पटक पटकको ताकेता र कालोसुचिमा राख्ने चेतावनीपछि हिमढुङ ठोक्कर ईमोटल जेभी कन्ट्रक्सनले पुल निर्माणको काममा चाँसो दिएको आयोजना प्रमुख धुव्र झाले उल्लेख गरे ।

यस्तै, हिमढुङ ठोक्कर एण्ड ईमोटल जेभी कन्ट्रक्सनले ठेक्का लिएको उपल्लो मुस्ताङको लोघेकर—२ घमी खोलामा निर्माणधिन ४० मिटर लामो पक्की पुल लामो समयदेखि अलपत्र परेको छ । त्यहाँ ५० प्रतिशत भौतिक प्रगति हुदा पुल निर्माणको काम अलपत्र परेको हो । २०७५ पुस १६ गते ६ करोड ८० लाख लागतमा  घमी खोला पुलको काम ठेक्का सम्झौता भएको थियो । उक्त बनाउन पछिल्लोसम्म निर्माण कम्पनी काम फर्किएको छैन ।

 मुस्ताङको मार्फा राज खोलामा पुल नबन्दा बर्सेनि बर्खायाममा म्याग्दी हुँदै मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई निकै सास्ती हुने गथ्र्यो । पछिल्लो समय जलवायु परिवर्तनका कारण जमिनको तापक्रम वृद्धि हुदा मार्फा राजखोलामा बेमौसमै बाढी आउने गर्दा मुक्तिनाथ दर्शन गर्न आउने सवारी साधन तथा पर्यटकलाई समस्या पर्ने गथ्र्यो । मार्फामा पक्की पुल बनेपछि मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई बाह्रै महिना आउजाउमा समस्या नपर्ने जनाईएको छ ।



प्रतिक्रिया