मुस्ताङमा विदेशी पर्यटकको आगमन (८१.८०) प्रतिशतले वृद्धि

गत आव २०८१/०८२ को एघार महिना र चालु आवको एघार महिनाको अवधिलाई तुलना गरिंदा (८१.८०) प्रतिशत बढी विदेशी पर्यटकले हिमाली जिल्ला मुस्ताङको भ्रमण गरेका छन्  । जिल्ला प्रहरी कार्यालय मुस्ताङले प्रविष्ट गरेको पर्यटकीय तथ्यांक अनुसार गत आवको भन्दा चालु आवको एघार महिना अवधिमा  एक लाख १० हजार १६६ जना बढी विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको पाईएको छ।

 गत आव २०८१/०८२ को बाह्र महिनामा कुल एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेकामा सोही वर्षको असार महिनालाई छोडेर  एक लाख ३४ हजार ६६४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

 यसैगरी चालु आव २०८२/०८३ को एघार महिनामा दुई लाख ४४ हजार ८८० जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।  विगतका वर्षहरुको तुलनामा चालु वर्ष मुस्ताङमा विदेशी पर्यटकको आगमनमा संख्या अकल्पनीय रुपमा ह्वात्तै बढेको हो । 

हिउँदयाम सकिएर गर्मीयाम चल्दै गर्दा छिमेकी देश भारतमा प्रचण्ड उखरमाउलो गर्मी बढेकाले मुक्तिनाथ मन्दिर दर्शन गर्ने भारतीय पर्यटकको संख्यामा उल्लेख्य  वृद्धि भएको हो । चालु आव सकिंदा गतवर्षको तुलनामा विदेशी पर्यटकको संख्या शतप्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको छ । अध्याधिक गर्मीका कारण छिमेकी देश भारतका शैक्षिक संस्थाहरु बन्द हुँदा मुस्ताङमा मुक्तिनाथ दर्शन गर्ने भारतीय पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको हो ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार चालु आवको जेठ महिनामा मात्रै नब्बे हजार ९३९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । जसमध्ये ९० प्रतिशत बढी भारतीय पर्यटकनै रहेको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो ।

 गतवर्षको जेठ महिनामा  चौबिस हजार ३७२ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेकामा  चालु वर्षको जेठ महिनामा थप छैसठ्ठी हजार ५७६ बढी विदेशी पर्यटक वृद्धि भएको र योसंख्या अहिलेसम्मकै उच्च रहेको प्रहरी निरीक्षक महतको भनाई छ । 

प्रहरी तथ्यांक अनुसार  गत आवमा सबै भन्दा धेरै चैत्रमा एक्काईस हजार २०७, बैशाखमा  चौबिस हजार ३७२ र जेठ महिनामा चौबिस हजार ३७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । यस आवमा सबैभन्दा धेरै चैत महिनामा चौतिस हजार २६१,बैशाखमा  छत्तिस हजार २६१ र जेठ महिनामा नब्बे हजार ९३९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

 गत वर्षको तुलनामा चालु वर्षको चैत्र महिनामा थप  तेह्र हजार ५३ जना, बैशाख महिनामा एघार हजार ८८९ जना र जेठ महिनामा छैसठ्ठी हजार ५७६ जना विदेशी पर्यटकको संख्या वृद्धि भएको हो । 

 यस्तै गत वर्षको बाह्र महिना अवधिमा सबैभन्दा कम साउन महिनामा तीन हजार ५४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा चालु वर्षको साउनमा सात हजार ९५० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । गतवर्ष र चालुवर्षको साउन महिनालाई तुलना गर्दा  चार हजार ८९६ जना विदेशी पर्यटक बढेको हो । 

 यसैगरी गतवर्षको मंसिर महिनामा सबैभन्दा कम सात हजार ४६४ जना विदेशी पर्यटक भित्रिएकामा चालु वर्षको मंसिर महिनामा त्योसंख्या घटेर छ हजार ६७९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । 

 जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार आव २०८०/०८१ मा उनान्सय हजार ३९९ जना र आव २०८१/०८२ मा एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।


प्रतिक्रिया