मुस्ताङका ढुंगाहरुमा कला कोर्दै मूर्तिकार

यहाँको घरपझोङ गाउँपालिकाले पन्ध्रदिने घरपझोङ मूर्तिकला कार्यशाला सुभारम्भ गरेको छ । घरपझोङ गाउँपालिकाको आयोजना तथा ललितकला प्रज्ञा प्रतिष्ठान काठमान्डौंको सहकार्यमा मूर्तिकला कार्यशाला आयोजना गरिएको हो ।

 मुस्ताङ जिल्लाको समग्र धार्मिक तथा सांस्कृतिक सम्पदा एवं यहाँको मौलिकता,रहनसहन ,जैविक विविधतालाई झल्काउने गरी मूर्तिकला मार्फतबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मूर्तिकला कार्यशाला गरिएको हो । कालिगण्डकी नदीमा पाईने विशाल ढुंगाहरुलाई बाहिर निकालेर मूर्तिकारहरुले यहाँको मौलिकता झल्किने सृजनाहरुलाई मूर्तिकलाको स्वरुपमा बदल्ने भएका छन् ।

कालगण्डकी नदीमा पाईने ढुंगालाई छनौट गरी मूर्तिकला कुद्न दर्जनौं ढुंगामा जोमसोममा एकक्रित गरी संकलन गरिएको छ । तर,सीमित स्रोत मात्रै उपलब्ध भएकाले अपेक्षा गरेअनुरुपका ढुंगाहरु संकलन गर्न सकिएको छैन । घरपझोङ गाउँपालिकाले संकलन गरी राखेका कालिगण्डकी विशाल ढुंगामा विभिन्न प्रकारका मूर्तिहरुको आकृति कोरिने योजना रहेको छ ।

 घरपझोङ मूर्तिकला कार्यशालाका लागि ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा २१ जना मूर्तिकार र एक दर्जन बढी सहयोगी मूर्तिकार मुस्ताङ आईपुगेर काम सुरु गरिसकेको  ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले जानकारी दिनुभयो । कालिगण्डकी नदीका ढुंगाहरुमा यहाँको जिवन्त मौलिक कलासंस्कृतिलाई मूर्तिकला मार्फत उजागर गरिने प्रमुख महतोले बताउँनुभयो । यहाँको मौलिक पहिचान र कलाकारहरुको सृजनालाई मूर्तिकलाको माध्यमबाट मूर्त रुप दिईने छ । धार्मिक तथा पर्यटकीय जिल्लाको रुपमा रहेको मुस्ताङलाई यहाँको पर्यटन विकासमा योगदान पुग्ने गरी पन्ध्रदिने कार्यशालाले निकैै ठुलो टेवा पु¥याउनसक्ने प्रमुख महतोको भनाई छ ।

घरपझोङ मूर्तिकला कार्यशाला २१ बैशाखसम्म चल्ने छ । ढुंगामा कुदिने मूर्तिकलाबाट यहाँको भगवान बिष्णुको स्वरुप शालिग्राम,भगवान नारायण,बुद्ध र गुरु पद्मसम्भव अर्थात गुरु रिन्पोर्छे, घरपझोङको पहिचान घरपझोङ किल्लाको आकृति कोरिने बताईएको छ ।

यसैगरी कालिगण्डकी नदीका ढुंगाहरुमा यहाँको धर्मसस्कृति,रहनसहन,हिउँ चितुवा, याकचौरी लगायतका यहाँको पर्यावरणको सम्पूर्ण प्रतिनिधित्व झल्काउने गरी मूर्तिकारहरुले आफ्नो सृजना पस्किने प्रमुख महतोले उल्लेख गर्नुभयो ।

 यहाँको मूर्तिकला कार्यशालामा कार्यअवधिभर २१ वटा ठुला आकारका ढुंगाहरुमा मूर्तिकला सृजना प्रस्तुत हुनेछन् । यसका अलावा तोकिएको अवधि भन्दा अघि नै ढुंगामा मूर्तिकलाको काम सकिएमा थप अरु ढुंगाहरुमा पनि क्रमशः मूर्तिकला कुद्ने लक्ष्य राखिएको छ । घरपझोङ मूर्तिकला कार्यशालाले मुस्ताङको पर्यटन प्रवद्र्धनमा ठुलो योगदान पु¥याउने गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउँनुभयो । मुस्ताङको कालिगण्डकी नदीमा पाईने सबै ढुंगाहरु स्वतः शालिग्राम रहेको उल्लेख गर्दै अध्यक्ष लालचनले पर्यटकहरुको घुमफिर गर्ने बसाई लम्याउने उद्देश्यले मूर्तिकला कार्यशाला चलाईएको बताउँनुभयो ।

 मुस्ताङमा अधिकाँश धार्मिक पर्यटक हिन्दुधर्मालम्बीहरुको रहेकाले यहाँको पवित्र ढुंगा (शीला)मा हिन्दु तथा बौद्ध धर्मको समान अस्तित्व रहेने गरी मूर्तिकारले आफ्ना सृजना कोर्ने कार्यक्रम रहेको छ । कोरलानाका,उपल्लो मुस्ताङ र मुक्तिनाथ दर्शन गरी फर्किने पर्यटकहरु सिधै गन्तब्यतर्फ प्रस्थान गर्ने भएकाले मूर्तिकलाको प्रस्तुतीले पर्यटकहरुको बसाई लम्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

घरभफोङ गाउँपालिका कार्यालय नजिकैको खुला प्राङ्गणमा मूर्तिकला सुरु गरिएको छ । यसका लागि घरपझोङ गाउँपालिकाले ढुंगा र बिद्युत व्यवस्थापन मिलाएको छ । काठमान्डौकी मूर्तिकार अनमारी तामाङले मुस्ताङको उच्चउचाईको स्थानमा पहिलो पटक मूर्तिकला प्रस्तुत गर्न आईपुगेको जानकारी दिनुभयो ।  तराई र पहाडका क्षेत्रमा मूर्तिकला कोर्ने अनुभव भन्दा यहाँको मूर्तिकला अनुभव केही फरक रहेको बताउँनुभयो । यहाँको हावाहुरी र चिसोका कारण मूर्तिकला कुद्न केही असहज हुने मूर्तिकार तामाङले उल्लेख गर्नुभयो ।

 घरपझोङ मूर्तिकला कार्यशालामा कोरिएका ढुंगाहरुलाई जोमसोम बजारको कालिगण्डकी नदीको दाँयाबाँया किनारामा पार्क निर्माण गरी प्रतिस्थापन गर्ने  जनाईएको छ । सोमबारदेखि सुरु गरिएको मूर्तिकला कार्यशालामा अहिले मूर्तिकारहरुले यहाँको ढुंगाहरुको अध्ययन गर्ने र मूर्तिकलाका लागि सेफ तयार गर्ने लगायतका काम गरेको बताईएको छ । ढुंगामा कोरिएका मूर्तिकलाबाट समग्र मुस्ताङ जिल्लाको पहिचानलाई झल्काउने कार्यशालाको मूल उद्देश्य रहेको छ ।


प्रतिक्रिया