अन्नबाली जोगाउँन मध्यरातसम्म भालु धपाउँने डिउँटी

 अन्नबाली जोगाउँन मध्यरातसम्म भालु धपाउँने डिउँटी

यहाँको घरपझोङ गाउँपालिका—१ स्थित चिमाङ गाउँमा हिमाली कालो भालुको आतंकले बाली नाली सखाप पार्ने क्रम नरोकिएपछि त्यहाँका किसान दैनिक मध्यरातसम्म भालु धपाउँने गस्तीमा खटिएका छन् । त्यहाँका किसानले उत्पादन गरेको स्याउ लगायतका अन्नबाली हिमाली कालो भालु पसेर खाईदिने गरेपछि त्यहाँको चिमाङ गाउँमा (५—५)जनाको ७ वटा समुह बनाएर पालैपालो भालुको गस्ती गर्न थालेका छन् ।

 त्यहाँका स्थानीय किसानलाई भालुले अन्नबाली सखाप पारेर निकै ठुलो सास्ती पु¥याएको स्थानीय सुकबहादुर विश्वकर्माले जानकारी दिनुभयो । यहाँ एक्याप संरक्षित क्षेत्रमा  हिमाली वन्यजन्तु कालो भालु र मानवबिचको द्धन्द बढ्दै जान थालेको उहाँले बताउँनुभयो ।

समून्द्री सतहको तीन हजार मिटरको उचाईमा रहेको मुस्ताङको चिमाङ गाउँ बेनी—जोमसोम सडकमार्गको कालिगण्डकी पारी अग्लो भिरालो स्थानमा अवस्थित छ । घनाजंगलको फेंदमा अवस्थित त्यहाँका किसानलाई खेतबारीमा लगाएको अन्नबाली जोगाउँनै धौधौ परेको किसान विश्वकर्माको भनाई छ । त्यहाँ उवा र जौ बाहेक सबै अन्नबाली भालुले सखाप पारिदिने गरेको उहाँले बताउँनुभयो ।

 अन्नपूर्ण संरक्षण आयोजना ,ईलाका संरक्षण कार्यालय जोमसोमको मातहतमा रहेको यहाँको चिमाङ गाउँमा हिमाली कालो भालुको जत्थाले स्थानीय किसानले उत्पादन गरेको बालीनाली सराख पारिदिन थालेपछि त्यहाँका किसान चिन्तित बनेका छन् । यो समस्या त्यहाँका किसानले वर्षौवर्षदेखि झेल्दै आईरहेको बताएका छन् । त्यहाँका किसानले उत्पादन गरेको स्याउ ,फापर,मकै,सिमी र हरियो ताजा तरकारी लगायतका अन्नबाली हिमाली कालो भालु रातको समयमा खेतबारीमा पसेर सखाप पारिदिने गरेको स्थानीय किसानहरुको भनाई छ । 

यहाँको चिमाङ गाउँमा स्थानीय किसानले उत्पादन गरेको कृषि उत्पादन हिमाली कालो भालुले सखाप पारिदिन थालेपछि घरपझोङ गाउँपालिकाले किसानको खेतबारीमा ग्याविनसहित ताराजाली लगाएको थियो । तर, त्यहाँ लगाईएको घेराबार तालजाली माथि उक्लिएर भालुले खेतबारीमा लगाईएको अन्नबाली नोक्सान पारिदिएको घरपझोङकी कार्यपालिका सदस्य मनि विश्वकर्माले जानकारी दिनुभयो ।

यहाको चिमाङ गाउँ कृषि उत्पादनले निकै प्रचुर सम्भावना भएको गाउँ हो । यहाँका किसान कृषिमा आत्मनिर्भर छन् । तर, यहाँको मुख्य आम्दानीको रुपमा रहेको कृषि व्यवसायलाई हिमाली कालो भालुको आतंकले दुख दिने थालेपछि यहाँका किसान निकै ठुलो समस्यामा परेका हुन् । भालुको आतंक रोक्न गाउँको खेतबारीमा लगाएको तारजालीले काम नगरेपछि त्यसको विकल्पमा एक्याप जोमसोमले गतवर्ष भालु धपाउँने यन्त्र (साईरन) जडान गरेको कार्यपालिका सदस्य मनि विकले उल्लेख गर्नुभयो । तर, त्यस प्रकारको यन्त्रले पनि भालुको आतंक रोक्न असफल भएको उहाँले स्पष्ट पार्नुभयो ।

यहाँको चिमाङ गाउँको खेतबारीमा तारजाली र भालु धपाउने यन्त्र जडान गरेपनि त्यसले काम नगरेपछि त्यहाँका किसान घरधुरीले (६—७) जनाको समुह बनाएर दैनिक हेरालो बस्न सुरु गरेका थिए । एक्यापले भालु नियन्त्रण गर्न तीन जना कर्मचारीको पारिश्रमिक वापत एक लाख ३० हजार बजेट विनियोजन गरेको थियो । तर, भालु नियन्त्रण गर्न तीन जना कर्मचारी नभएपछि ६,७ जनाको समुह बनाएर पारिश्रमिक बाँडफाँड ग¥यो । चिमाङकी स्थानीय ए कार्यपालिका सदस्य मनि विश्वकर्माले गाउँमा दैनिक राति ८ बजेबाट १२ बजेसम्म भालु आउँछकी भनी खेतबारीमा गस्ती गर्ने गरेको बताउँनुभयो । गाउँमा आलोपालो समुह विभाजन गरी दैनिक राति गस्ती सुरु गरेपनि भालुको आतंक आशिंक रुपमा नियन्त्रणमा आएको उहाँको भनाई छ ।

यहाँको चिमाङ गाउँमा किसानहरुले उत्पादन गर्ने कृषि उपजको संरक्षण गर्न एक्याप जोमसोमले परीक्षणको रुपमा विद्युतीय तारजाली निर्माण गरेको कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । सौर्यउर्जा प्रणालीबाट बिघुुत प्रवाह हुने गरी भालु नियन्त्रण गर्न एक हजार २७० मिटर क्षेत्रफलमा विद्युतीय घेराबार निर्माण गरेको कार्यालय प्रमुख गुप्तले बताउँनुभयो । उहाँले यसकार्यका लागि चार लाख बजेट खर्च भएको जानकारी दिनुभयो ।

 तर, यहाँ एक्यापले परीक्षणको रुपमा लगाएको विद्युतीय तारजालीले भालु नियन्त्रणमा कुनै फाईदा नपुगेको कार्यपालिका सदस्य मनि विकले बताउँनुभयो । चिमाङमा भालुले भिरालो स्थानबाट चढेर खेतबारी पस्ने गरेको र बिद्युतीय तारजाली समेत नाघेर भालुले किसानको उत्पादन नष्ट गर्ने गरेको जनाउँनुभयो ।

यहाँ अहिले पनि दैनिक रुपमा राति गाउँले किसानहरुले भालु धपाउन हेरालो बस्ने गरेको कार्यपालिका सदस्य विश्वकर्माले उल्लेख गर्नुभयो ।

यहाँका चिमाङ गाउँमा मात्रै होईन ,भालुले थासाङ गाउँपालिकामा बर्सेनि हिमाली कालो भालुको आतंकले किसानको बालीनाली सखाप पारिदिने गरेको छ । यहाँको कुञ्जो,ताक्लुङ,छयो,झिप्रा देउराली, सौरु,सिर्खुम र नाउरिकोट लगायतका स्थानमा हिमाली कालो भालुको आतंकले कृषकहरुले निकै ठुलो सास्ती दिने गरेको छ ।

रासस


प्रतिक्रिया