जोमसोम— मुस्ताङ—डोल्पाको सिमाना नजिकै पर्ने साङ्ता गाउँ नेपाल सरकारले २०२२ सालमा पत्ता लगाएको एक ओझेलमा परेको वस्ती हो । यो गाउँ जोमसोमदेखि करिव ४० किलोमिटर टाढा पर्छ । भौगोलिक रुपले अत्यन्तै विकट स्थानको भिरालो सतहमा अवस्थित साङ्ता गाउँमा १३ घरधुरी छन् । जहाँ अघिल्लो स्थानीय तह निर्वाचनमा ३४ जना मतदाता थिए ।
कृषि र पशुपालनमा आश्रित मुस्ताङको साङ्ता गाउँ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका —५ अन्तर्गत पर्छ । सधैजसो सरकारी निकायको उपस्थित निकै कम हुने मुस्ताङको साङ्ता गाउँमा पछिल्लो समय विकासले पाईला फड्को मार्न थालेको छ । अभाव,अशिक्षा र आर्थिक विपन्नताले त्यहाँका नागरिकहरुको दिनचर्या निकै कष्ठकर अवस्थामा छ ।
मुस्ताङ—डोल्पा सडक विस्तार, सौर्य उर्जाको उज्यालो र मोवाईल नेटवर्क सेवा सुरु हुन थालेपछि त्यहाँका नागरिकहरुमा निकै खुसी र उत्साहित हुन थालेका छन् । बर्सेनि ७ महिना गाउँमा र ५ महिना प्रतिकुल मौसमका कारण घुम्ती बासस्थान सार्ने गरेका त्यहाँका नागरिकहरुमा अहिले भने आधारभुत सेवा प्रवाह हुन थालेसंगै स्थानीयमा आशाको सञ्चार पलाउन थालेको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विशेष पहलमा नेपाल दुरसंञ्चार प्राधिकरण अन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङ र डोल्पाको सिमावर्ती गाउँ साङ्तामा संञ्चारको पहुँच स्थापित गरेको छ । नेपाल टेलिकमले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—२ को घीउला डाँडामा रहेको माईक्रो वेभ रेडियो लिंकको रिपिटर टावरबाट कनेक्सन जोडिने गरी साङ्ता गाउँमा मोवाईल फोन र थ्रीजी ईन्टरनेट चलाउनका लागि बेस्ट ट्रान्समिसन स्टेशन (बिटिएस) जडान गरी संञ्चारको पहुँच स्थापित गरेको नेपाल टेलिकम जोमसोमका कार्यालय प्रमुख हुमबहादुर भुजेलले जानकारी दिए ।
साङ्ता गाउँमा मोवाईल फोन र थ्री ईन्टरनेट सेवा सञ्चालन गर्न एक बिटिएस रिपिटर टावरसंगै अर्को मोवाईल सेवाको बिटिएस रिपिटर र ईकुमेन्टसहितको पूर्वाधार निर्माण सम्पन्न गरेको कार्यालय प्रमुख भुजेलले बताउँनुभयो । सरकारको लक्ष्य अनुसार जनताले गुणस्तरीय मोवाईल सेवा पाउँन् भन्ने मान्यता अनुसार साङ्ता गाउँमा मोवाईल नेटवर्क सेवा सञ्चालनमा ल्याइएको कार्यालय प्रमुुख भुजेलको भनाई छ ।
मुस्ताङ—डोल्पा सडकको सिमावर्ती गाउँ साङ्तामा मोवाईल (बिटिएस) सेवा सुरु गर्न सौर्य उर्जा प्यानल जोडेर ४८ भोल्ट विद्युत क्षमताको मोवाईल सेवासहितको नेटवर्क सेवा सञ्चालनमा ल्याउन सफल भएको कार्यालय प्रमुख भुजेलको भनाई छ ।
मुस्ताङको साङ्गा गाउँमा पहिलो पटक नेपाल टेलिकमको (बिटिएस) मोवाईल सेवा सञ्चालनमा आएसंगै त्यहाँका नागरिकहरुमा उत्साहको सञ्चार पलाएको जनाईएको छ । गाउँमा मोवाईल नेटवर्क सेवा सुरु भएसंगै त्यहाँका नागरिकहरुले आफना आफन्त र नातेदारहरुलाई शनिबार फोन सम्पर्क गर्न व्यस्त रहेका थिए । गाउँमा मोवाईल फोन र थ्रीजी ईन्टरनेट चल्न थालेको भन्दै उनीहरुले गाउँ बाहिर रहेका नजिकका मान्छेलाई खुसी साटेका छन् ।
साङ्ता गाउँका स्थानीय छिरिङ पाल्साङ गुरुङले हामो गाउँलाई फोन नचल्ने गाउँ भन्दा निकै लाज लाग्ने गरेको दुःखेसो सुनाउँनुभयो । ‘अब त मज्जाले फोन गर्न पाईने भयो,नेट पनि चलाउन पाईने भयो, यो भएपछि हामीलाई केनै चाहियो र ’, स्थानीय गुरुङले भने,‘ गाउँ बाहिर कसैलाई फोन गर्नु परेको एक घण्टा हिडेर लेकमा जानु पथ्र्यो, अहिले गाउँ भित्रै मज्जाले फोनको सुविधा मिल्यो ।’
नेपाल टेलिकमको मोवाईल सेवाले आपत बिपद् पर्दा, देश—विदेशका सूचनाहरु थाहापाउन र व्यवसायिक प्रयोजनमा समेत यो सेवाले हामीलाई निकै ठुलो राहत मिलेको स्थानीय गुरुङको भनाई छ । साङ्ता गाउँका अर्का स्थानीय झप्याङ गुरुङ पनि गाउँमा मोवाईल सेवा सुरु हुँदा दंग परेका छन् । ‘हामी त पुरै अन्धकारमा थियौं, केही पनि थाहा हुदैनथ्यो’ झप्याङले भने, अब त मोवाईल चलेपछि समाचार पढ्न, फोन गर्न र कुनै पनि सेवा प्राप्त गर्न निकै सजिलो हुने भयो ।’
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले मुस्ताङको विकटको गाउँ साङ्तामा मोवाईल सेवा सञ्चालनमा आउँदा स्थानीयबासीमा आशाको सञ्चार पलाएको उल्लेख गर्नुभयो । ‘भौगोलिक विकटता र कम जनसंख्या भएकै कारण यस गाउँमा मोवाईल सेवा पु¥याउन सकेका थिएनौ, हामीहरुको अथक प्रयासबाट सरकारले हाम्रो प्रयासलाई मूर्त रुपमा दिएको छ ’, अब यहाँको समस्या,चुनौती र विकास पूर्वाधार लगायतमा सञ्चारको पहुँच निकै सहज हुनेछ ,यसप्रति नेपाल दुरसञ्चार प्राधिकरणप्रति आभारी रहने छौं ।’ साङ्ता गाउँमा मोवाईल सेवा सुरुभएसंगै प्रसुती र दीर्घ रोगका बिरामी र यहाँ आउजाउ गर्ने सबैलाई संञ्चार सुविधाले निकै सुविधा दिने विश्वाश व्यक्त गर्नुभयो ।
वारागुङ—५का वडाध्यक्ष सुरेन्द्र गुरुङले साङ्ता गाउँमा जडान भएको मोवाईल (बिटिएस) टावर र सञ्चार गृहको संरक्षणका लागि तारबार लगायतका सरचना निर्माण गरिने बताउँनुभयो । उहँले मोवाईल सेवा साङ्ता गाउँको दुःखकष्ठलाई सामाधानको बाटोतर्फ उन्मुख गरेको जनाउँनुभयो ।
वारागुङ मुक्तिक्षेत्रकी उपाध्यक्ष डिकी गुरुङले गाउँपालिकाको पहलमा अघिल्लो वर्ष १० किलोवार्डको सौर्य उर्जा विद्युत र यो वर्ष मोवाईल सेवा सञ्चालनमा ल्याउन सफल भएको बताउँनुभयो ।
मुस्ताङको ९६ वटा गाउँ वस्ती मध्ये सबै गाउँहरुमा बिद्युत र सञ्चारको पहुँच स्थापित हुँदा मुस्ताङको पीछडिएको साङ्ता गाउँ भौगोलिक विकटताका कारण विद्युत र सञ्चारको सुविधा पुग्न सकेको थिएन । साङ्तामा जनताले प्राप्त गर्ने आधारभुत सेवा सुविधा नहुँदा गाउँनै विस्थापित हुने जोखिम थियो । ढिलै भएपनि दुई वर्षको फेरोमा मुस्ताङको साङ्ता गाउँमा सौर्य उर्जा विद्युत र नेपाल टेलिकमको बिटिएस मोवाईल सेवा सञ्चालन सुरु हुँदा स्थानीय निकायका जनप्रतिनिधिहरु समेत निकै उत्साहित भएका छन् । योसंगै नेपाल टेलिकमले मुस्ताङको सबै गाउँहरुमा सञ्चारको पहुँच स्थापित गर्न सफल भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली