जोमसोम ।।।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ करोड २६ लाखको बजेट ल्याएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका उपाध्यक्ष डिकी गुरुङले आज गाउँपालिको बाईसौं गाउँसभा अधिवेशनमा उक्त परिमाणको बजेट प्रस्तुत गर्नुभएको हो ।
आगामी आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये चालुतर्फ २० करोड ६९ लाख र पुँजिगत विकास खर्चतर्फ १४ करोड ५७ लाख रहेको छ । कुल बजेटको चालुतर्फ (५८.६८) प्रतिशत र पुँजिगततर्फ (४१.३२) प्रतिशत बजेट समावेश रहेको गाउँसभामा उपाध्यक्ष डिकी गुरुङले सार्वजनिक गर्नुभएको हो ।
गाउँपालिकाको स्रोत बजेटमा संघीय वित्तिय समानिकरण अनुदान ७ करोड २२ लाख र प्रदेश वित्तिय समानिकरण बजेट ६५ लाख रहेको छ । संघीय राजश्व बाँडफाँडतर्फ ९ करोड २५ लाख छ भने प्रदेश राजश्व बाँडफाँडमा ४६ लाख ६० हजार छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्षमा ६५ लाख ३३ हजार राजश्व संकलन गर्ने प्रक्षेपण गरेकोे छ । यसैगरी गाउँपालिकाको वित्तिय खातामा ४ करोड ६१ लाख बजेट मौज्याद रहेको उपाध्यक्ष गुरुङले गाउँसभामा जानकारी दिनुभयो ।
गाउँपालिकाको लागि संघीय सशर्त अनुदान ८ करोड ७६ लाख छ भने संघीय समपुरक अनुदान १ करोड ४० लाख रहेको छ । यस्तै संघीय सरकारको विशेष अनुदान १ करोड २० लाख रहेको गाउँपालिका उपाध्यक्ष डिकी गुरुङले गाउँसभालाई जानकारी दिनुभयो ।
प्रदेश सरकारतर्फको विशेष अनुदान ४० लाख र प्रदेश समपुरक अनुदान ६० लाख रहेको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकासतर्फ ४ करोड ८५ लाख,सामाजिक विकासतर्फ ११ करोड २८ लाख, पूर्वाधार विकासतर्फ ८ करोड ६६ लाख ,सुशासन तथा अन्तर सम्वन्धिततर्फ ५२ लाख,विपद् व्यवस्थापनतर्फ ५६ लाख र कार्यक्रम संञ्चालन तथा प्रशासनिक खर्चतर्फ ९ करोड ९५ लाख बजेट विनियोजन गरेको हो ।
वारागुङ मुक्तिक्षेत्रले आगामी आर्थिक वर्षको बजेटमा कृषि,पर्यटन,पूर्वाधार,शिक्षा,सामाजिक विकास,स्वास्थ्य लगायतका प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँसभामा उपाध्यक्ष डिकी गुरुङले उल्लेख गर्नुभयो । गाउँपालिकाले कृषितर्फ ३ करोड ७७ लाख,शिक्षातर्फ ५ करोड ८५ लाख,स्वास्थ्यतर्फ ३ करोड ९१ लाख,पूर्वाधारतर्फ ८करोड ६६ लाख र पर्यटनतर्फ ३५ लाख बजेट छुट्याएको छ ।
वारागुङ मुक्तिक्षेत्रले विगतमा सुरु भएका बहुवर्षीय योजनाहरुलाई आगामी आर्थिक वर्षमा सम्पन्न गरी बजेटलाई प्राथमिकता दिएको उपाध्यक्ष डिकी गुरुङले जनाउँनुभयो । गाउँपालिका अन्तर्गतका अधुरो योजनालाई पुरा गर्ने गरी खिङ्गा सिचाई ,रानीपौवा ढल व्यवस्थापन, वारागुङ मुक्तिक्षेत्र वडा १,२ र ४ को निर्माणधिन कार्यालय भवन पुरा गर्ने बताएको छ ।
वारागुङको वडा १ र ५ को स्वास्थ्य संस्था, छुसाङ खानेपानी,धार्काजुङ सिंचाई,फोहोर मैला व्यवस्थापन, मुक्तिनाथ स्थित रानीपौवा धर्मशाला जीर्णोद्वार, मुक्तिनाथकै भारतीय राजदुताबासले निर्माण गरेको जीर्ण धर्मशाला मर्मत सम्भार,कागबेनी श्राद्धस्थल संरचना निर्माण र जननर्मल र जनशान्ति माध्यमिक विद्यालयको पूर्वाधार निर्माण लगायतका योजना रहेको छ ।
गाउँपालिकाले विश्वकै चिन्ताको बिषय बनेको जलवायु परिवर्तनको असर र त्यसले पु¥याउने जोखिम न्यूनिकरणका लागि विभिन्न अनुकुलन कार्यक्रमलाई बजेटले समेटेको उपाध्यक्ष डिकी गुरुङले बताउँनुभयो ।
यसअघि वारागुङ गाउँसभामा अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा गाउँपालिकाले पूर्ण खोप पालिका घोषणा गरेको छ । यसैक्रममा पूर्ण खोप कार्यक्रममा खटिने गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गरिएको थियो । गाउँसभामा मुस्ताङ जिल्लाको समग्र विकासमा पत्रकारिता मार्फत योगदान पु¥याएका एक जना क्रियाशील पत्रकारलाई समेत पुरस्कृत गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली