एकवर्षमा १० भारतीयसहित १६ जनाको लेंक लागेर मृत्यु

धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा चालु आव २०८२÷०८३ को एकवर्ष अवधिमा हाईअल्टिच्युडका कारण लेंक लागेर दश भारतीय नागरिकसहित १६ जनाले ज्यान गुमाएका छन् । प्रदेश अस्पताल जोमसोमका अनुसार चालुवर्षको साउनदेखि असार अन्तिमसम्म मुस्ताङ भित्रिएका पर्यटक मध्ये दश भारतीय, पाँच नेपाली र एक जना मेक्सिकोका नागरिकको पर्वतीय हाईअल्टिच्युडका कारण लेंक लागेर मृत्यु भएको जनाएको छ ।

प्रदेश अस्पताल मुस्ताङका अनुसार चालु आवको भदौमा एक ,असोजमा एक,कार्तिकमा तीन,मंसिरमा दुई, चैत्रमा दुई, बैशाखमा चार र जेठ महिनामा तीन जना आन्तरिक तथा बाह्य पर्यटकको हाईअल्टिच्युडका कारण मृत्यु भएको हो । प्रदेश अस्पताल जोमसोमका मेडिकल सुपरिटेन्डेन्ट डा. समिक्षा कडेलका अनुसार मुस्ताङमा चालुवर्ष हाईअल्टिच्युडका कारण लेंक लागेर मृत्यु हुनेमा पचास वर्षदेखि चौरासी वर्ष उमेर समुहको रहेको जानकारी दिनुभयो ।

 मुस्ताङमा पर्यटक आगमन सख्यालाई मध्यनजर गर्ने हो भने चालु वर्ष हाईअल्टिच्युडका कारण लागेर मृत्यु हुने अनुपात स्वाभाविक जस्तो देखिएपनि गतवर्षको तुलनामा चालुवर्ष ७७ दशमलव ७७ प्रतिशतले हाईअल्टिच्युडका कारण मृत्यु हुनेको संख्या वृद्धि भएको देखिएको छ ।

 अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समिक्षा कडेंलका अनुसार मुस्ताङमा गत आव २०८१÷०८२ मा हाईअल्टिच्युडका कारण लेंक लागेर नौ जनाको मृत्यु भएको थियो । मत्यु हुनेमा पाँच भारतीय नागरिकसहित तीन जना नेपाली र एक जना अमेरिक नागरिकले लेंक लागेर ज्यान गुमाएका हुन् । मुस्ताङमा गतवर्ष भन्दा चालु वर्ष सात जना बढीले पर्वतीय हाईअल्टिच्युडका कारण लेंक लागेर ज्यान गुमाएको  प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कडेंलले उल्लेख गर्नुभयो ।

पछिल्लो मुस्ताङमा पर्यटकको आगमनसंख्या बर्सेनि वृद्धि हुँदै गर्दा हाईअल्टिच्युडका कारण लेंक लागेर मृत्यु हुनेको संख्या समेत वृद्धि हुँदै जान थालेको हो । मुस्ताङ भित्रिएका पर्यटकहरुले आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदा नसक्दा हाईअल्टिच्युडको समस्या जटिल बन्दै जान थालेको हो ।

 बेसीको समथरिलो स्थानबाट हिमाली जिल्ला मुस्ताङको उच्च स्थानमा यात्रा गर्ने पर्यटक तथा दर्शनार्थीहरुलाई हाईअल्टिच्युडका कारण अक्सिजनको लेवल कम भई लेंक लाग्ने समस्या देखिन गरेको छ ।

मुस्ताङको उच्च उचाईको स्थानमा आउने पर्यटक मध्ये शारिरीक रुपले अशक्त ,ज्येष्ठ नागरिक र दीर्घ रोगका नियमित औषधि सेवन गर्ने पर्यटकहरुलाई हाईअल्टिच्युडको जोखिम उच्च रहने गरेको छ ।

 हाईअल्टिच्युडको जोखिम न्यूनिकरणका लागि मुस्ताङमा एक्याप,प्रदेश स्वास्थ्य कार्यालय, अस्पताल, स्थानीय निकाय,मुक्तिनाथ विकास समिति र सुरक्षा निकायहरुले पर्यटक सचेतनामूलक होर्डिङ बोर्ड,पर्चा पम्प्लेट वितरण लगायतका कार्यहरु गर्दैआईरहेका छन् । म्याग्दी र मुस्ताङको सीमानाका घाँसादेखि लेते,खन्ती,मार्फा,जोमसोम,कागबेनी र मुक्तिनाथ लगायतका स्थानमा हाईअल्टिच्युड सम्वन्धी सचेतनामूलक बार्डहरु टाँस गरिएको भएपनि लेंक लाग्ने समस्या चुनौतिका रुपमा देखिएको छ ।

 मुस्ताङ भित्रिएका पर्यटकहरु मध्ये सबै भन्दा धेरै लेंक लागेर मृत्यु हुनेमा भारतीय पर्यटकनै रहेको प्रदेश अस्पतालको तथ्यांकले देखाउँछ । मुस्ताङ भित्रिने पर्यटकहरुका लागि यातायात व्यवसायी,पर्यटन व्यवसायी र ट्राभल एजेन्सीहरुले हाईअल्टिच्युड सम्वन्धी पर्याप्त जानकारी दिन नसक्दा यसप्रकारको लेंक लाग्ने समस्या देखिने गरेको छ । यहाँ भित्रिने पर्यटकलाई होल्डिङ गर्दै मुस्ताङ यात्रा गर्नुपर्नेमा सिधै होल्डिङ नगरी मुक्तिनाथ पु¥याईने गर्दा लेंक लाग्ने समस्याको जोखिम बढेको हो ।    

मुस्ताङ भित्रिने पर्यटकको स्वास्थ्य रक्षाका लागि प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुक्तिनाथ मन्दिर परिसरमा हाईअल्टिच्युड उपचार केन्द्र स्थापना गरिएको छ । मुक्तिनाथ विकास समितिका व्यवस्थापक  दिनेष भुसालका अनुसार मुक्तिनाथ मन्दिरमा अक्सिजनसहितको व्यवस्था गरी दुईजना दुई जना हेल्थ असिस्टेन परिचालित भईरहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया