नेपाल—चीन उत्तरी कोरलानाका स्थित लोमान्थाङ गाउँपालिका—४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार र त्यहाँ रहेको प्लान क्वारेन्टाईन कार्यालयमा कर्मचारी थपिएका छन । मुस्ताङ भन्सार भन्सारका लागि ६ जना कर्मचारी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने प्लान क्वारेन्टाईन तथा बिषादी व्यवस्थापन केन्द्रले तीन जना कर्मचारीलाई मुस्ताङ पठाईसकिएको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रुपमा बन्द भएसंगै भन्सार विभागले मुस्ताङको कोरलानाका स्थित भन्सार कार्यालयका लागि ६ जना कर्मचारी काँजमा पठाउने तयारी गरेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो । प्रमुख चुडालका अनुसार भन्सार विभागले तीन जना अधिकृत र तीन जना नायव सुब्बा स्तरको कर्मचारी मुस्ताङ भन्सार कार्यालयमा पठाउने तयारी गरेको हो ।
तीन÷तीन जना अधिकृत र नायव सुब्बा खटाउने तयारी भईसकेको छ,लगातारको बिदाले उहाँहरु आउन ढिलाई भएको हो,’ भन्सार प्रमुख चुडालले भन्नुभयो,‘ कार्यालय खुल्ने दिनमै खटाईएका कर्मचारी रवाना लिएर कार्यस्थलमा आईपुग्नु हुन्छ ।’’
मुस्ताङ भन्सार कार्यालयमा १८ जनाको दरबन्दी छ । हाल मुस्ताङ भन्सारमा १२ जना मात्रै कर्मचारी छन् । रसुवागढी —केरुङ नाका पूर्ण रुपमा बन्द भएसंगै भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी पदपूर्ती गर्न लागेको हो ।
रसुवागढी र तातोपानी नाका पूर्ण रुपमा बन्द भएसंगै मुस्ताङको कोरलानाका वैकल्पिक मार्गको रुपमा स्थापित हुने देखिएको छ । रसुवागढी—केरुङ नाका बन्द भई रोकिएका मालवस्तुहरुलाई कोरलानाकातर्फ डाईभर्ट गरिन लागिएपछि मुस्ताङ भन्सार र क्वारेन्टाईन कार्यालयलाई सक्रिय बनाउँन थालिएको हो । भन्सार प्रमुख विदुर चुडालले थप कर्मचारी खटाईन लागिएको भएपनि भन्सारको आवास तथा भौतिक पूर्वाधारको समस्या हुँदा व्यवस्थापनमा समस्या पर्ने देखिएको बताउँनुभयो ।
कोरलानाका पूर्ण रुपमा सञ्चालन नभई उपल्लो मुस्ताङका नागरिकहरुलाई मात्रै अन्तदेशीय अल्पकालीन हाटबजार लाग्दा मात्रै बर्सेनि दुई पटक सीमित समय भन्सार कार्यालय सक्रिय हुन्थ्यो । त्यससमय एकाध कर्मचारी मात्रै भन्सारमा हुन्थे । विस २०८२ भदौ ३१ गते मुस्ताङको कोरलानाकालाई वैकल्पिक नाकाको रुपमा सञ्चालन गरिएसंगै कोरला स्थित मुस्ताङ भन्सारमा जनशक्ति थप गरिएको थियो ।
यसैगरी नेपाल—चीन उत्तरी कोरलानाका स्थित मुस्ताङ भन्सार कार्यालयमा रहेको क्वारेन्टाईन कार्यालय विस २०६२÷०६३ सालमा स्थापना गरिएको थियो । क्वारेन्टाईन कार्यालय स्थापना भएपनि कार्यालयका चाहिने दरबन्दी अनुसारको जनशक्ति र क्वारेन्टाईन परीक्षण गर्ने उपकरण नहुँदा क्वारेन्टाईन कार्यालय सञ्चालनमा आउन सकेको थिएन । न्हेचुङमा रहेको क्वारेन्टाईन कार्यालयमा पाँच जनाको दरबन्दी रहेपनि त्यहाँ एक जना प्राविधिक सहायक बाहेक सबै पद रिक्त थियो ।
कोरलानाका स्थित क्वारेन्टाईन कार्यालयमा वरिष्ठ बाली संरक्षण अधिकृत (एक),सहलेखा पाल (एक ), प्राविधिक सहायक (एक) र दुई जना कार्यालय सहयोगीको दरबन्दी कायम थियो । कोरलानाकामा क्वारेन्टाईन स्थापना गरिएपनि जनशक्ति ,उपकरण र पूर्वाधार नहुँदा सञ्चालनमा आउन सकेको थिएन । कोरलानाकाबाट प्लान सम्वन्धी मालवस्तु पैठारी नहुने भएपछि यहाँको क्वारेन्टाईन कार्यालय नाम मात्रैमा सीमित बनेको थियो ।
रसुवाको भोटेकोशी बाढीका कारण (रसुवागढी—केरुङ) नाका बन्द भएको र तातोपानी नाका पनि सञ्चालनमा आउन नसकेपछि मुस्ताङमा रहेको क्वारेन्टाईन कार्यालयलाई सक्रिय बनाउन थालिएको हो । रसुवागढी—केरुङ नाकाबाट कोरलानाकातर्फ डाईभर्ट हुँदै गरेका सयौ कन्टेनर फलफूलहरुको क्वारेन्टाईन परीक्षण गर्नु पर्ने भएकाले कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको प्लान्ट क्वारेन्टाईन तथा बिषादी व्यवस्थापन केन्द्रले केही कर्मचारीलाई मुस्ताङ पठाईसकेको छ । मुस्ताङको लोमान्थाङ—४ न्हेचुङ स्थित क्वारेन्टाईन कार्यालयकी निमित्त प्रमुख एवं प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार क्वारेन्टाईनका लागि तीन जना कर्मचारी जोमसोम आईपुगेको जानकारी दिनुभयो । केन्द्रले भन्सार विभागको समन्वयमा वरिष्ठ बाली सरक्षण अधिकृत (एक) र कम्प्युटर अपरेटर (एक) जना कर्मचारी काजमा मुस्ताङ पठाएको निमित्त प्रमुख घर्तीमगरले उल्लेख गर्नुभयो ।
मुस्ताङ भन्सार प्रमुख विदुर चुडालले क्वारेन्टाईनका लागि आउने कर्मचारीको आवश्यक समन्वय गर्नु भन्ने विभागबाट जानकारी प्राप्त भएको बताउँनुभयो । योसंगै मुस्ताङ भन्सार कार्यालय र त्यहाँ रहेको क्वारेन्टाईन कार्यालयको कार्यसम्पादन थप गतिशील हुने देखिएको छ ।
रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकातर्फ मालवस्तु पैठारीका लागि दैनिक पचास भन्दा बढी कन्टेनर कोरलानाकातर्फ गईरहेका छन् । रसुवागढी —केरुङ नाकाबाट डाईभर्ट गरिएका मालवस्तु ढुवानीका लागि कोरलानाकामा हाल सयौ कन्टेनरहरु रोकिएर बसेको सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटर जोमसोमले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली