एक वर्षमा चार हजार १३६ जना विदेशी पयटक पुगे उपल्लो मुस्ताङ
जोमसोम
विसं २०८१ को एक वर्ष अवधिमा चार हजार १३६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । उपल्लो मुस्ताङमा एक वर्ष अवधिमा सार्क राष्ट्रका दुई सय ३० जना र अन्य मुलुकका तीन हजार ९०६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना ,ईलाका सरक्षण कार्यालय लोमान्थाङले जनाएको छ ।
एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार विस. २०८१ को एक वर्ष अवधिमा ७२ राष्ट्रका विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन् । उपल्लो मुस्ताङमा एक वर्षमा सबै भन्दा बढी असोज महिनामा सात सय ३४ जना र सबैभन्दा कम माघ महिनामा जम्मा ३० जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलको भनाई छ ।
यसैगरी अघिल्लो वर्ष विस २०८० को एक वर्ष अवधिमा तीन हजार ६१३ जना विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङको तथ्यांकमा उल्लेख छ । विस. २०८० सालमा सार्क राष्ट्रका ५२ जना र अन्य मुलुकका तीन हजार ५६१ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यससमय सबै भन्दा बढी कार्तिक महिनामा आठ सय ३० जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।
उपल्लो मुस्ताङमा विस २०८० सालको अनुपातमा विस. २०८१ सालमा पाँच सय १३ जना अर्थात (१२.६४) प्रतिशतले पर्यटक संख्या वृद्धि भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले उल्लेख गर्नुभयो । उहाँल सडक यातायात सहज भएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन वृद्धि हुन थालेको बताउँनुभयो । मुस्ताङ जिल्लामा भित्रिने कुल विदेशी पर्यटक सख्याको करिव चार प्रतिशत मात्रै विदेशी पर्यटक उपल्लो मुस्ताङ पुग्ने गरेको एक्याप लोमान्थाङका प्रमुख पौडेलले जनाउँनुभयो ।
उपल्लो मुस्ताङबाट २७ करोड २९ लाख राजश्व संकलन
उपल्लो मुस्ताङबाट सरकारले एक वर्ष अवधिमा पर्यटक रोयल्टी शुल्क वापत २७ करोड २९ लाख राजश्व संकलन गरेको छ । चालु वर्षको विदेशी मुद्राको औसत नेपाली मुद्रा अनुमानमा सरकारले उक्त राजश्व सकलन गरेको हो । चीनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको रुपमा सुचिकृत गरेको छ । सीमाक्षेत्रमा अवान्छित गतिविधि हुनसक्ने भन्दै सरकारले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रको रुपमा राखेको हो । यसैका कारण मुस्ताङ भित्रिएका सीमित पर्यटक मात्रै उपल्लो मुस्ताङ पुग्ने गरेका हुन् ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनी माथिको क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रका सुचिमा राखेको हो । तल्लो मुस्ताङका दुई गाउँपालिका र वारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ र कागबेनीसम्म पुग्नका लागि एक्यापले लिने परमिट शुल्कबाहेक अन्य शुल्क पर्यटकले बुझाउँनु पर्दैन । तर, कागबेनीदेखि माथि उपल्लो मुस्ताङ जाने पर्यटकलाई नेपाल सरकार अध्यागमन विभागले १० दिनेको प्रवशआज्ञा अनुमति स्वरुप ५ सय डलर शुल्क लिने गरेको छ । सरकारलाई शुल्क बुझाएर अनुमति लिएका विदेशी पर्यटकले १० दिन कटेपछि दैनिक ५० डलरका हिसाबले अतिरिक्त शुल्क नेपाल सरकारलाई बुझाउनु पर्ने प्रावधान छ । उपल्लो मुस्ताङको प्रवेश शूल्क महङ्गो भएकै कारण उपल्लो मुस्ताङमा विदेशी पर्यटकको उपस्थित ज्यादै न्यून भएको स्थानीय पर्यटन व्यवसायीहरुको गुनासो छ ।
सरकारले उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रको सुचिमा राख्दा फाईदा÷बेफाईदा दुबै भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गर्नुभयो । सरकारले विदेशी पर्यटकलाई उपल्लो मुस्ताङ भ्रमण गरेवापत उठाउन राजश्वको कम्तिमा पनि ६० प्रतिशत सोही क्षेत्रको विकासमा खर्चिनु पर्ने बताउँनुभयो । अध्यक्ष बिष्टले उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रमा राख्दा त्यस क्षेत्रका पर्यटन व्यवसायीहरुलाई समस्या परेको जनाउँनुभयो ।‘सीमा क्षेत्र हो, सुरक्षाको हिसाबले निषेधित क्षेत्रमा राखिनु गलत होईन’ अध्यक्ष बिष्टले भन्नुभयो,‘ तर, निषेधित क्षेत्रले यहाँको पर्यटन चलायमान बन्न सकिरहेको छैन, यसैका कारण यहाँका युवा जति विदेशी पलायन हुन थालेका हुन ।’ उपल्लो मुस्ताङको पृथक भूगोल, ऐतिहाँसिक तथा धर्मसस्कृति, सहनसहन र मौलिकता अवलोकन गर्न विदेशी पर्यटक उपल्लो मुस्ताङ आउने गरेको अध्यक्ष बिष्टको भनाई छ ।
उपल्लो मुस्ताङको तिब्बती संस्कृतिसंग मिल्दोजुल्दो पृथक धर्मसस्कृति र परम्परा बिद्यमान छ । लोमान्थाङमा ७ औै शताब्दीमा बनेको ऐतिहाँसिक लोमान्थाङ दरबार छ । त्यहाँका गुम्बा,माने, छोर्तेन पर्यटक आर्कषणका अभूतपूर्ण जिवन्त सम्पदा हुन् । लोघेकर दामोदरकुण्ड—को मराङमा ७ औ शताब्दीमा निर्मित लोघेकर (घर) गुम्बा छ । उक्त गुम्बा गुरु पद्यसम्भवसंग सम्वन्धित छ ।
उपल्लो मुस्ताङको लुरी गुम्बा, चराङ गुम्बा, ढाक्मरमा रातो पहाड ,छोसेर गुफा,चिउसी गुफा ,मुस्ताङ गेट,विश्वकै अग्लो उचाईमा रहेको गल्फ खेल मैदान लगायत दर्जनौ धार्मिक,सांस्कृतिक र प्राकृतिक सम्पदाहरु उपल्लो मुस्ताङ पुगेपछि अवलोकन गर्र्न पाईन्छ । विभिन्न खोजअनुन्धानको केन्द्र समेत रहेको उपल्लो मुस्ताङाम विदेशी पर्यटकले त्यहाँका प्राचिन सभ्यता र संस्कृति पछ्याउने गरेको पाईन्छ । उपल्लो मुस्ताङमा बर्सेनि तिजी पर्व र यार्तुङ पर्वमा विदेशी पर्यटकको उपस्थित बढी हुने गरेको पाईएको छ ।