फोहोर नियन्त्रणका लागि नागरिकलाई बुझाउने प्रयास भएको छ



अध्यक्ष : मोहनसिंह लालचन (घरपझोङ गाउँपालिका, मुस्ताङ)

मुस्ताङ भ्रमण गर्ने पर्यटकको केन्द्र हाम्रै गाउँपालिका भएकाले पर्यटकलाई कसरी आर्कर्षित गर्नेतर्फ लागिरहेका छौं ।  वातावरणको रक्षा गर्दै पालिकालाई कसरी स्वच्छ ,सफा र सुन्दर राख्न निरन्तर लागि परेका छौं ।

वातावरण सफा भएमात्र यहाँको धार्मिक,सांस्कृतिक र जैविक विविधताको सरक्षण हुन्छ भन्ने हाम्रो बुझाई हो ।

हामीले फोहोर मैला व्यवस्थापन सम्वन्धि कार्यविधि र ऐन निर्माण गरेका थियौ । जथाभावी फोहोर मैला मिल्काउनेलाई आवश्यक दण्ड सजाय हुने गरी कानुन बनायौं । सर्वप्रथम त फोहोर मैला व्यवस्थापन गर्न नागरिकनै सुसुक्षित हुनुपर्छ ।  हामीले गरेको फोहोरले हामीलाईनै क्षति तुल्याउछ भन्ने नागरिकमा चेतनाको विकास  नभएसम्म हामीले बनाएको कार्यविधि र ऐनले मात्र काम गर्दैन  ।

कार्यविधि निर्माण गरेपछि हामीले सिसाको बियर ल्याउन प्रतिबन्ध लगायौं ।यसले बियरको  बोतल आयातमा निकै कमी ल्यायो । यद्यपी पूर्ण रुपमा नियन्त्रण  भईसकेको छैन ।  अन्य सिसाजन्य पदार्थहरु पालिकामा भित्र्याउन नदिने अभियानमा लागेका छौं । 

  सिसाजन्य पदार्थले नागरिकमा मानवीय जोखिम निम्त्याउछ । यसले वातावरणलाई प्रदुषित बनाउने र यसले मानव स्वास्थ्य समेतलाई प्रतिकुल असर पू¥याउछ । यो कुरा जनता माँझ बुझाउन आवश्यक छ । हामी निरन्तर यही अभियानमा छौं ।

 फोहोर मुक्त पालिका बनाउन हामीले जैविक तथा अजैविक फोहोरलाई कसरी सदुपयोग र व्यवस्थापन गर्ने भन्ने पक्षमा लागेका छौ । कुहिन सक्ने जैविक फोहोरलाई  प्राविधिक ढंगले कुहाएर कम्पोष्ट मल बनाउन ५ वटै वडामा तालिम चलायौ । अजैविक फोहोरलाई जिल्ला बाहिर निकासा गर्नेतर्फ पहल भईरहेको छ । पालिकाले फोहोर संकलन केन्द्र पनि स्थापना गरिसकेको छ । 

गाउँपालिकाले यसबारे विभिन्न तालिमका साथै  नागरिक सचेतना समेत गर्नेछ । एक्यापले फोहोर व्यवस्थापनमा हामीसंग सहकार्य गर्ने भएको छ । 

गाउँपालिकाले फोहोर व्यवस्थापन सम्वन्धि कार्यविधि निर्माण गरेकाले जनतालाई राम्ररी बुझाएपछि मात्रै कानुन कार्यान्वयन गर्नेतर्फ अघि बढ्नेछौं ।

वडा र पालिका सफा  भयो भने मात्र मुस्ताङ जिल्ला सफा हुन्छ । मुस्ताङ सुन्दर भयो भने मात्र पर्यटकीय आर्कषण बढ्छ । मुस्ताङको सबै हिसावले महत्वपूर्ण जिल्ला हो । सडक सहजसंगै पर्यटकहरु बर्सेनि वृद्धि भईरहेको छ । पर्यटकहरुबाट हुने फोहोर र प्रदुषणलाई व्यवस्थापन गर्ने तर्फ हामी निरन्तर लागेका छौं ।




प्रतिक्रिया