जोमसोम—ऐतिहाँसिक तथा धार्मिक कलासंस्कृति एवं उपल्लो मुस्ताङको जिवन्त मौलिक पहिचान बोकेको माटोको सहर लोमान्थाङ वरिपरी आरसीसी पक्की कंक्रिट सडक निर्माणकार्य सुरु गरिएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालय मुस्ताङले माटोको सहरका रुपमा परिचित पर्खालले घेरिएको ऐतिहाँसिक लोमान्थाङ बस्ती वरिपरी आरसीसी सडक निर्माणको काम अघि बढाईएको हो ।
गण्डकी प्रदेशका सांसद नम्डु गुरुङको विशेष पहलमा चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि उत्तरी चिनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ स्थित माटोको सहर लोमान्थाङ पर्खाल वरिपरी आरसीसी सडक विस्तार गर्ने योजना परेको पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख अजय श्रेष्ठले जानकारी दिए । १५ औं शताब्दीमा निर्मित मुस्ताङ राजाको दरबार समेत रहेको लोमान्थाङ बस्ती वरिपरी आरसीसी सडक निर्माण गर्नका लागि दीप शर्मा जेभी निर्माण कम्पनी पोखराले बिहिबारदेखि काम थालेको कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।
यसअघि लोमान्थाङ स्वागत गेटदेखि लोमान्थाङ पर्खाल वरिपरी आरसीसी सडक निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान भएको थियो । सडकका लागि भ्याटसहित ४ करोड १८ लाख लागत अनुमान गरिएकोमा ३ करोड २३ लाख लागतमा निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजना अनुसार लोमान्थाङ पर्खाल वरीपरी आरसीसी पक्की सडक विस्तार गर्न १८ महिनाको अवधि तोकिएको कार्यालय प्रमुख श्रेष्ठले जनाए ।
माटोका सहर लोमान्थाङ बजार उपल्लो मुस्ताङको सांस्कृतिक राजधानीका रुपमा समेत प्रख्यात छ । यही सहरलाई आरसीसी सडकले घेर्ने गरी ४७२ मिटर लामो सडक निर्माण गरिने योजना रहेको कार्यालयका सूचना अधिकारी ईन्जिनीयर घनश्याम रोक्कामगरले जानकारी दिए । सूचना अधिकारी ईन्जिनीयर रोक्कामगरका अनुसार पर्खालले घेरिएको लोमान्थाङमा आरसीसी सडक अन्र्तगत ४ दशमलव ५ मिटर चौडा सडक र ८० सेमी चौडा नाली निर्माण हुनेछ ।
पूर्वाधार विकास कार्यालय मुस्ताङले बहुर्षीय ठेक्का भएपनि लोमान्थाङ पर्खाल वरिपरी आरसीसी सडक निर्माणको कामलाई चालु आर्थिक वर्षभित्रै सक्ने लक्ष्य रहेको जनाएको छ । गण्डकी प्रदेशका सांसद नम्डु गुरुङले ऐतिहाँसिक तथा धार्मिक महत्व बोकेको लोमान्थाङ सहरलाई त्यहाँ पुग्ने पर्यटक तथा स्थानीयको सहजताका लागि आरसीसी सडक विस्तारको पहल आफुले गरेको बताए । ‘सांस्कृतिक महत्व पहिचान बोकेको लोमान्थाङ सहरलाई समृद्ध तुल्याउने उद्देश्य हो ,त्यहाँको हेरिटेज सौन्दर्यता मासिन हुँदैन भन्नेमा पनि हामी त्यतीनै सचेत छौ,सांसद गुरुङले भने,‘ हालको कच्ची सडकमा छपनी ढुंगा बिच्छ्याउँदा त्यो दीर्घकालिन हुँदैन भन्ने हाम्रो बुझाई रह्यो, आरसीसी सडक बनेपछि त्यो संरचना सवारी गुड्दा होस वा वर्षा र हावापानीले पनि क्षति हुँदैन ।’
माटोको सहर लोमान्थाङ भित्र १५ औं सताब्दीमा निर्मित मुस्ताङी राजाको दरबार अवस्थित छ । त्यसका अलावा पर्खाल वरिपरी भित्रको सहरमा लोमान्थाङ गाउँपालिका कार्यालय, वडाकार्यालय,सीमा प्रहरी चौकी, गुम्बा स्कुल र अन्य व्यापारिक प्रतिष्ठान छन् । लोमान्थाङ सहरमा बनेका सदिंयौ वर्ष अघि निर्माण भएका ढुंगा र माटोले बनेका ऐतिहाँसिक घरहरु त्यहाँको जिवन्त मौलिकता सम्पदा हो ।
पर्खालले घेरिएको लोमान्थाङ सहरमा सवारी साधन आउजाउ गर्न मिल्ने गरी निर्माण हुन लागेको आरसीसी सडक सम्पन्न भएमा त्यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकले छिटोछरितो रुपमा त्यहाँको वस्तुगत मौलिकताको अवलोकन गर्न सक्नेछन् । लोमान्थाङ सहरमा झन्डै २ सय भन्दा बढी एकआपसमा जोडिएका ऐतिहाँसिक पुराना घरहरु अवस्थित छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता