जोमसोम—मुस्ताङ भन्सार कार्यालयले पहिलो पटक चौरीको पुच्छर लिलाम गर्ने प्रक्रिया अघि बढाएको छ । चीनको स्वशासितक्षेत्र तिब्बतबाट अवैंध रुपमा नेपाल भित्र्याएका ४४७ वटा चौरीको पुच्छर लिलाम गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
बैशाखको पहिलो हप्ता चीनबाट कोरलानाका हुदै नेपाल भित्र्याएको उक्त परिमाणको चौरीको पुच्छर सीमाक्षेत्रमा खटिएका संयुक्त सरक्षाकर्मीले बरामद गरेका थिए । उक्त समयमा नाकाबाट भित्र्याएको ३२ कार्टुन चाईनीज मदिरा समेत बरामद गरिएको थियो । नाका क्षेत्रमा खटिएका सुरक्षाकर्मी बरामद गरेका मदिरा र चौरीको पुच्छर आवश्यक कारवाहीका लागि मुस्ताङ भन्सार कार्यालयलाई जिम्मा लगाएको थियो ।
सुरक्षाकर्मीले बरामद गरेका मदिरा र चौरीको पुच्छर मध्ये चौरीको पुच्छर मुस्ताङ भन्सार कार्यालयले आवश्यक प्रक्रिया पु¥याएर लिलाम गर्न लागेको भन्सार कार्यालयका नायब सुब्ब होमबहादुर बिष्टले जानकारी दिए ।
नायब सुब्बा बिष्टका अनुसार चौरीको पुच्छर लिलाम गर्न भन्सार विभागको अनुमती अनुसार जेठ २० गते सार्वजिक सूचना दिएको हो । पुच्छर लिलामको प्रक्रियामा खरिद कर्ता व्यक्ति,फर्म र कम्पनीले डाक कबोलको १० प्रतिशत धरौटी बुझाउनु पर्ने भन्सारले उल्लेख गरेको छ । भन्सारले पुच्छरको डाक मुल्य २ लाख ३४ हजार ६७५ तोकेको छ ।
भन्सारले चौरीको पुच्छरको लिलाम गर्न असार ३ गतेको मिति तोकेको र लिलाम बिक्री भन्सारको जोमसोम कार्यालयबाट हुने नायब सुब्बा बिष्टले उल्लेख गरे ।
मुस्ताङको उत्तरी कोरलानाका गत कार्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका दुई पालिकाका लागि खुल्ला गरिएको थियो । नाकाबाट दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न,लत्ताकपडा,किराना सामान ,कस्मेटिक लगायत घरेलु प्रयोजनका सामान मात्र ल्याउन पाईन्छ ।

पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता