कोरला सडकमा ७२ करोड ७७ लाख खर्च हुँदा अझै बजेट अपुग

जोमसोम—उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसाम¬—कोरला) सडक आयोजना अन्तर्गत  आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित ७२ करोड ८२ लाख मध्ये ७२ करोड ७७ लाख ५३ हजार अर्थात ९९ प्रतिशत बजेट खर्च गरेको हो । 

 कोरला सडकका लागि आर्थिक वर्ष २०८०÷०८१ मा पुँजिगत विकास खर्च सडकतर्फ ७० करोड र सडक पुलपुलेसातर्फ २ करोड ८२ लाख बजेट विनियोजन भएको थियो ।जसमध्ये सडकतर्फ ६९ करोड ९५ लाख ५३ हजार खर्च भएको हो । यस्तै, पुलपुलेसातर्फ शतप्रतिशत खर्च भएको छ ।

यस्तै, आयोजनाका लागि चालुतर्फ १ करोड ५५ लाख विनियोजन भएकोमा १ करोड २३ लाख बजेट खर्च भएको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जानकारी दिए ।

 कोरला सडकका लागि विनियोजित  कुल बजेट सकिएको र भौतिक प्रगतीका आधारमा बिल प्रमाणित भईसकेका निर्माण कम्पनीलाई करिव ९ करोड बढी  भुक्तानी दिन बाँकी रहेको आयोजनाका सूचना अधिकारी चापागाईको भनाई छ । ‘गत आर्थिक वर्षमा आयोजनाको सडक तथा पुलमा अपेक्षाकृत भौतिक प्रगती भएको छ,हामीलाई विनियोजन भएको बजेट पर्याप्त हुन सकेन,’आयोजनाका सूचना अधिकारी चापागाईले भने,‘ अपुग हुने बजेट विभागमा माग गरेका थियौं,चिठी लेखेर विभागमा बजेट पठाईदिन अनुरोध गरेका छौं ।’

 भारतीय नाकाबन्दीपछि सुरु गरिएको चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको कोरलानाका जोड्ने गरी तत्कालिन सरकारले २०७३÷०७४ सालदेखि (बेनी—जोमसोम—कोरला) सडक आयोजना संञ्चालनमा आएको हो । कोरला सडक आयोजनाले हालसम्म करिव ७ अर्ब ४० करोड बढी बजेट खर्च गरिसकेको छ । कोरला सडक अन्तर्गत पर्वतको मालढुंगादेखि बेनी हुँदै जोमसोम—कोरला २०२ किमी सडक स्तरोन्नतिका लागि कुल ३७ वटा योजना कार्यान्वयनमा ल्याईएको थियो । पछिल्लो समयसम्म पुलपुलेसा २१,कालोपत्रे सडक ८ ,ग्राभेल सडक ७ र १ कन्ट्रक्सन अफ फेन्सिङ एट मार्फा योजना कार्यान्वयनमा आएको आयोजनाका सूचना अधिकारी चापागाईले जनाए । यसैगरी निर्माणधिन २१ पुलपुलेसा मध्ये मुस्ताङको स्याङ खोला पुल,लुप्रा पान्डा खोला पुल,छाक्ताङ खोला पुल ,सेतु खोला पुल,राहुघाट पुल,घट्टे खोला पुल र उपल्लो मुस्ताङको लोमान्थाङदेखि कोरला सम्मको ४ वटा निर्माणधिन पुल सम्पन्न भएको आयोजनाले जनाएको छ । यस्तै, आयोजनाले  म्याग्दीको रुप्से र म्याग्दीको बेनीमा बेलिब्रिज निर्माण गरिसकेको जनाएको छ ।

 कोरला सडक अन्तर्गत मुस्ताङको मार्फा खोला पुल,छुसाङको नरसिंह खोला पुल,घमी खोला पुल,चराङ खोला पुल निर्माणधिन अवस्थामा छन् । यस्तै, म्याग्दीको रुप्से,मुस्ताङको खहरे खोला र मुस्ताङको कागखोलामा पुल निर्माणका लागि डिजाईन रिँभ्यु लगायतको  आवश्यक प्रक्रिया अघि बढाईसकेको छ ।

कोरला सडकतर्फ ८ कालोपत्रे सडक मध्ये बेनी—जोमसोम सडकको तेस्रो खण्ड कैकुदेखि खन्तीसम्म, बेनीदेखि गलेश्वर ३ किमी कालोपत्रे सडक र जोमसोम कोरला ६ खण्डको ग्राभेल सडक सम्पन्न भएको हो । चराङ—छोसेर सडक निर्माण कम्पनीका कारण अलपत्र परेकोमा त्यसको समेत काम अघि बढाईएको छ ।

यसका अतिरिक्त जोमसोम—कागबेनी १३ किमी कालोपत्रे सडक योजनाका काम पनि अहिले धमाधम भईरहेको छ ।

आर्थिक वर्ष सकिदा कोरला सडकको विभिन्न खण्डमा गरी करिव ५० किमी सडक कालोपत्रे भईसकेको आयोजनाका सूचना अधिकारी चापागाईले उल्लेख गरे ।


प्रतिक्रिया