जोमसोम—गत कार्तिक २७ गतेदेखि औपचारिक रुपमा उपल्लो मुस्ताङको दुई गाउँपालिकाका लागि खुल्ला गरिएको (नेचुङ—लिजी) कोरलानाकामा चीन पक्षले टाईमकार्ड लगाएको छ ।चीन पक्षले यसको कुनै कारण नखुलाएपनि उपल्लो मुस्ताङका सीमित नागरिकहरु मात्रै कोरलाको सीमापारि किनमेल गर्न जाने भएका कारण चीन पक्षले चिन प्रवेशमा टाईमकार्ड लगाएको हुनसक्ने अनुमान गरिएको छ ।
सुरुवाती समयमा बेलुकी साँझ ५ बजेसम्म किनमेलका खुल्ला गरिएको (नेचुङ—लिजी)कोरलानाकामा हिउँदयामको जाडो मौसम सकिएर फागुन महिनादेखि टाईमकार्ड लगाउन सुरु गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले कोरलानाकाको चीनियाँ भूमी लिजीमा मालसामान किनमेल गर्न जाँदा मुस्ताङी नागरिकलाई समय निर्धारण भएको जानकारी दिए । उनका अनुसार कोरलानाकाबाट चीन प्रवेश गर्न नेपाली समय अनुसार ८ बजेबाट १० बजेसम्म समय तोकिएको हो। चीन पक्षले तोकेको समय बिहानको १० बजेपछि कोरलानाकाको ढोका बन्द हुन्छ । बिहान (८—१०) बजेको समय भित्र चीन प्रवेश गरेका उपल्लो मुस्ताङी नागरिकले दिउँसो २ बजेसम्म सीमापारि किनमेल गर्न समय दिने गरेको अध्यक्ष गुरुङको भनाई छ ।
चीन पक्षको कार्यतालिका अनुसार उपल्लो मुस्ताङले नाकाबाट सीमापारि छिरेपछि करिव (४—६) घण्टा मालसामान किनमेल गर्न पाउँछन् । दिउँसो २ बजे कटेपछि नेपाली पक्षले मालसामान किनमेल गरी चीनको भूमीबाट बाहिरिनु पर्ने हुन्छ ।
(नेपाल—चीन) उत्तरी कोरलानाका उपल्लो मुस्ताङका लागि खुल्ला गरिएसंगै त्यसक्षेत्रका स्थानीय नागरिकहरुलाई वैकल्पिक रोजगारीको अवसर प्राप्त भएको छ । कोरलानाकाको दशगजा यता नेपालतर्फको खुल्ला पठार भूमीमा उपल्लो मुस्ताङका करिव एक दर्जन नागरिकहरुले त्रिपाल टाँगेर व्यापार व्यवसाय संञ्चालन गरेका छन् । उनीहरु दैनिक जसो चीनियाँ भूमी लिजीबाट मालसामान किनेर कोरलानाकामा बिक्री गर्ने गर्छन । कोरलानाका अवलोकनका लागि जाने आन्तरिक पर्यटकहरुका लागि चिया÷खाजा र चीनिया सामान बिक्री गर्न त्यहाँ लस्करै त्रिपाल मुनि बसेर व्यवसाय संञ्चालन गरिएको हो ।
लोमान्थाङ—५ का युवा छिरिङ गुरुङ पनि कोरलानाकामा चीनियाँ सामान बिक्री गर्ने र नाका हेर्न आउनेलाई खाजानास्ताको सुविधा प्रदान गर्न फागुनदेखि व्यवसाय संञ्चालन गरेको बताउँछन् । अनुकुल समयमा नेपाली पर्यटकहरुको उल्लेख्य संख्यामा नाका हेर्न आउने गरेकाले व्यापार पनि राम्रै हुने गरेको गुरुङको भनाई छ । गाउँमा सामान्य खेतीकिसान गर्छु ,घरको काम सकिएपछि नाकामै त्रिपालमुनी बसेर व्यापार गर्ने गरेको छु,’गुरुङले भने,‘सिजनको बेला त १०÷१० हजार दैनिक कमाई हुन्छ, अहिले त अफसिजन भएर व्यापार ठप्पै छ ।’ उनले बर्खायामको मौसमका कारण बेनी—जोमसोम—कोरला सडक असहज भएकाले पर्यटक आउन नसकेको सुनाए ।
कोरलानाकामा खानेपानी र शौचालयको सुविधा छैन । यद्यपी गण्डकी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयबाट विनियोजित ५० लाख बजेटले ६ कोठे प्रिफाईप सुरक्षाकर्मी बस्ने तथा उद्दार केन्द्र भवन निर्माण गरिएको छ । नेपाल—चीन कोरलानाका खुल्ला भएको ८ महिना बितिसक्दा समेत नेपालतर्फ भन्सार,ईमिग्रेसन तथा सुरक्षा पोष्ट लगायतका भौतिक संरचनाहरु निर्माण हुन सकेका छैनन् । ४ वर्षअघिनै चीनले कोरलानाकामा भन्सार ,सुख्खाबन्दरगाह र ईमिग्रेसन लगायतका भव्य भौतिक संरचना निर्माण गर्दा नेपालतर्फको दशगजा क्षेत्र रित्तो पठार छ । चीन पक्षबाट दर्जनौं सुरक्षाकर्मीहरु नाकामा सुरक्षाका लागि खटिदा नेपाल पक्षको सुरक्षाकर्मी कोरलानाका १६ किमी यता दक्षिण छोसेरको नेचुङमा बस्ने गरेका छन् । नेपाली सेनाको एक टुकडी लोमान्थाङको थुर्लुङफाँटमा छ । नेचुङमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिओपी र नेपाल प्रहरी भन्सार कार्यालयको जीर्ण भवनमा बसेका छन् ।
हालै कोरलानाकाको सुरक्षा तथा भन्सार राजश्व संकलनका लागि एक जना सशस्त्र प्रहरी र एक जना नेपाल प्रहरी गरी २ जना सुरक्षाकर्मी कोरलानाकाको दशगजा क्षेत्रमा खटिएका छन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि कोरलानाका खुल्ला गरिएपनि भन्सार कार्यालयका कर्मचारीहरु राजश्व संकलन गर्न बस्ने गरेका छैनन् । नेचुुङमा रहेको भन्सार कार्यालयका एक जना कार्यालय सहयोगीले कोरलानाकामा बसेर भन्सार राजश्व उठाउने गरेको पाईएको छ । नाका खुलेपनि भन्सार आर्थिक गतिविधि चलायमान हुन नसक्दा त्यहाँ कर्मचारीहरु मन लागेर बस्ने नगरेको स्थानीयको भनाई छ । कोरलानाकाबाट चीनले आफ्नो उत्पादन आयात गर्न दिने गरेपनि नेपाल पक्षको उत्पादनमा नियमन गर्ने गरेको नाकामा बसेका एक व्यवसायीले जानकारी दिए । नेपाल पक्षका व्यापारीहरुलाई एउँटै प्रकृतिका सामान एक भन्दा बढी लान नदिने गरेको ति व्यापारीले खुलाए ।
नाकामा उपल्लो मुस्ताङीले किनारा सामान,खाद्यान्न,कस्मेटिक,कृषि उपकरण,लत्ताकपडा आदी आयात गर्ने गरेका छन् । नेपालीले स्थानीय कृषि उत्पादन लगायतका सामान निर्यात गर्ने गर्छन् ।
फोटो क्याप्सन ः
कोरलानाकामा त्रिपाल टाँगेर अस्थायी व्यापार व्यवसाय चलाउँदै उपल्लो मुस्ताङी । तस्विर ः सुन्दरकुमार थकाली ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता