मुस्ताङको धार्काजुङमा हिउँ चितुवाको आक्रमणबाट ८ च्याग्रा मरे

  मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट दुई गोठका ८ वटा च्यांग्रा मरेका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ धार्काजुङ गाउँमा गएको मध्यरातमा हिउँ चितुवा स्थानीय च्यांग्रा पालक किसानको खोर भित्र पसेर ८ वटा च्यांग्रा मारेको वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

 मुस्ताङको वारागुङ—५ धार्काजुङका च्यांग्रा पालक किसान ङातर गुरुङको ५० वटा च्यांग्रा मध्ये ४ वटा खसी र एक माउ गरी ५ वटा च्यांग्रा हिउँ चितुवाको आक्रमणबाट मरेको च्यांग्रा पालक ङातर गुरुङले जानकारी दिनुभयो । हिउँ चितुवा मध्यरातमा गाउँ भित्रको ढुंगा र माटोले बनेको गोठको कम्पाण्ड फड्किएर भित्र पसेर च्यांग्रा मारेर क्षति तुल्याएको च्यांग्रा पालक गुरुङको भनाई छ । हिउँ चितुवाको आक्रमणबाट च्यांग्रा क्षति हुँदा २ लाख २० हजार बराबरको नोक्सान परेको च्यांग्रा पालक किसान गुरुङले उल्लेख गर्नुभयो ।

 यसैगरी सोही स्थानकै अर्को च्यांग्रा पालक पेम्मा गुरुङ पनि च्यांग्राको माउ र पाठासहित गरी ३ वटा च्यांग्रा हिउँ चितुवाको आक्रमण परी मरेको छ । मध्यरातमा गोठको छतमाथि उक्लिएर गोठमा पसी ५२ वटा च्यांग्रा मध्ये ३ वटा च्यांग्रा हिउँ चितुवाले मारेको पशुपालक पेम्बाले बताउँनुभयो । उनका अनुसार अर्को एक पाठा समेत हिउँ चितुवाको आक्रमणबाट घाईते भएको बताउँनुभयो । हिउँ चितुवाको आक्रमणबाट च्यांग्रा क्षति हुँदा ६५ हजार बढीको घाटा भएको पशुपालक पेम्बाले सुनाए ।

हिउँ चितुवाले धार्काजुङका पशुपालक पेम्बा गुरुङको गोठ भित्र पसेर पहिलो आक्रमण गरेको थियो । गोठमा च्यांग्रा कराउन थालेपछि पेम्बाले हिउँ चितुवा धपाउन कराएका थिए । त्यसपछि पेम्माको गोठ छोडेर त्यस लगत्तै ङातर गुरुङको गोठमा पर्खाल नाघेर हिउँ चितुवाले च्यांग्रा मारेको स्थानीय बताउँछन् ।

हिउँ चितुवाले मुस्ताङको धार्काजुङमा च्यांग्रा मारेको सूचनापछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, वडाध्यक्ष सुरेन्द्र गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रतिनिधि र प्रहरी चौकी कागबेनीबाट प्रहरी टोली घटनास्थलमा पुगेका थियो । स्थानीय जनप्रतिनिधि,च्यांग्रा पालक, स्थानीयबासी ,एक्याप र सुरक्षा निकायको रोहबरमा हिउँ चितुवाले मारेको क्षति मूल्याङकन तथा घटनास्थलको विवरणसहितको मुचुल्का उठाउने कार्य भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यक्रम व्यवस्थापक एवं हिउँ चितुवा विज्ञ डा. मधु क्षेत्री समेतले घटनास्थलको अवलोकन गर्नुभएको थियो । हिउँ चितुवा विज्ञ डा. क्षेत्रीले हिउँ चितुवा र मानवबिचको द्धन्द न्यूनिकरणका लागि आवश्यक अनुकुलनका उपाय अवलम्वन गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने सुझाउँनुभयो । उहाँले हिउँ चितुवाको आहाराको कमीले गर्दा पनि हिउँ चितुवा बस्ती नजिकको गोठमा पसेर च्यांग्रा क्षति गर्ने गरेकाले च्यांग्रा गोठ सुधार पहिलो आवश्यकता रहेको औल्याउँनुभयो । उहाँले वन्यजन्तुको तथा हिउँ चितुवाको जोखिम न्यूनिकरण गराउन उच्चलेंक र जंगलमा आहाार बढाउने गरी अनुसन्धान गर्नुपर्ने उल्लेख गर्नुभयो ।‘पुराना डेटाहरुले हिउँदको जाडो याममा हिउँ चितुवाको गतिविधि बढेको पाईएको छ’, हिउँ चितुवा विज्ञ क्षेत्रले भने, हिउँको रिसर्चको खाँचो छ, वन्यजन्तुको संरक्षण तथा मानव सम्पतीको रक्षा गर्ने दिर्घकालिन योजना अबको आवश्यकता हो ।’

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले मुस्ताङमा मानव र हिउँ चितुवाबिचको द्धन्द बढ्दै जान थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।पालिका  अध्यक्ष गुरुङले जलवायु परिवर्तनका कारण हिउँ चितुवाको आहारा नावर उच्चलेंकबाट बेसी झर्न थालेको र त्यसलाई पछ्याउँदै गर्दा हिउँ चितुवाले पशु गोठमा क्षति पु¥याउने गरेको दावी गरे ।

उच्चलेंकमा खानेपानीको स्रोत घट्ने र चरनक्षेत्रमा घाँस पलाउने कम हुँदा हिउँ चितुवाको आहारा नाउर बस्ती नजिक आउने गरेको अध्यक्ष गुरुङले जनाउँनुभयो । स्थानीय किसानको पशुधनको रक्षा गर्न सरोकारवाला कार्यालयहरुले भरपर्दो पूर्वाधार निर्माणमा अनुदानका कार्यक्रम ल्याउन आवश्यक रहेको अध्यक्ष गुरुङले सुझाए । 


प्रतिक्रिया