मुस्ताङ, २१, साउन ।
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ क्षेत्रमा मंगलबारदेखि ग्राण्ड ‘यार्तुङ’ महोत्सव २०८२ सुरु भएको छ । यहाँको जनप्रिय युवाक्लव पुराङ रानीपौवाको आयोजनामा विगतका वर्षहरु यसवर्ष पनि यार्तुङ महोत्सव सञ्चालन गरिएको हो ।
यहाँको पवित्र धार्मिक स्थल एवं पावनभूमी मुक्तिनाथको काखैमा अवस्थित वारागुङ मुक्तिक्षेत्र—१ स्थित पुराङ रानीपौवा खेलमैदानमा परम्परागत यार्तुङ महोत्सव शुभारम्भ गरिएको हो । महोत्सवको जिसस प्रमुख माया गुरुङ र भारकोट छोदे गुम्बाका लामा घीर्मी रिङजिन ठकुरीले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन तथा राष्ट्रिय झन्डोक्तलन गरी उद्घाटन गर्नुभयो ।
महोत्सवमा बोल्दै जिसस प्रमुख माया गुरुङले यार्तुङ पर्व यहाँको मौलिक संस्कृति रहेकाले यसप्रकार पर्वहरु संरक्षण तथा पुुस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउँनुभयो । यहाँको क्लवले जिल्ला भित्र र बाहिर रहेका युवा खेलाडीहरुलाई संस्कृति जोगाउन, खेलकुद र मनोरञ्जनका माध्यमबाट आयोजना युवापंक्तिलाई एकतावद्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
वरागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिङ नामगेल गुरुङले यहाँको धर्मसंस्कृति जोगाउन स्थानीय सरकार प्रयत्नशील रहेको बताउँनुभयो । अध्यक्ष गुरुङले यार्तुङ महोत्सव सञ्चालनका लागि गाउँपालिका पाँच लाख बजेट विनियोजन गरेको समेत जानकारी दिनुभयो ।
मुस्ताङका प्रजिअ विष्णुप्रसाद भुसालले यहाँको यार्तुङ पर्व मुक्तिनाथ क्षेत्रकै पहिचान बनेको र यसले यहाँका युवाहरुलाई संस्कृतिसंग जोड्ने गरी खेलकुद र मनोरञ्जनका कार्यक्रम आयोजना हुनुनै युवापुस्तामा धर्मसंस्कृति र परम्परा जोगाउनतर्फ अग्रसर भएको उल्लेख गर्नुभयो । युवा पलायन हुने लहर चलेको अवस्थामा यसप्रकार महोत्वसवले युवा पुस्तालाई स्वदेशमै बस्ने वातावरण सृजना गर्न टेवा पुग्ने प्रजिअ भुसालको भनाई छ ।
मुक्तिनाथ स्थित समून्द्री सतहको तीन हजार ८ सय मिटरको उच्च उचाईमा यहाँको जनप्रिय युवाक्लवले हाईअल्टिच्युड सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना गरेको छ । महोत्सवमा तारा खेल प्रतियोगिता,घोडा दौड र कदम घोडा दौड प्रतियोगिताका साथै विविध मनोरञ्जनका कार्यक्रम आयोजना गरेको क्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिनुभयो ।
यार्तुङ महोत्सव अन्तर्गत हाईअल्टिच्युड सेभेन ए साईड फुटबल प्रतियोगितामा मुस्ताङसहित छिमेकी जिल्ला मनाङ र उपल्लो डोल्पाबाट खेलाडी तथा दर्शकहरु यार्तुङ महोत्सवमा सहभागि भएको क्लवले जनाएको छ ।
यार्तुङ महोत्सवमा मुस्ताङका तीन पालिकाका १४ टिम ,मनाङबाट दुई टिम र डोल्पाबाट एक टिम गरी १७ टिमको हाईअल्टिच्युड सेभेन ए साईड फुटबल प्रतियोगितामा सहभागीता रहेको छ ।
यार्तुङ महोत्सव सुरु भएसंगे मुक्तिनाथ क्षेत्रमा पर्यटक,विभिन्न जिल्लाका खेलाडी र दर्शकहरुको चहलपहल बढेको छ । यहाँ साउन २४ गतेसम्म यार्तुङ पर्व चल्नेछ । हिउँयाम सुरु भएको खुसीयालीमा बर्खायामलाई बिदाई गर्दै धार्मिक तथा सांस्कृतिक रुपमा यहाँ यार्तुङ पर्व मनाईन प्रचलन रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली